निन्छ नि, ‘भाग्य छ भन्दैमा डोकोमा दूध अडिँदैन ।’ जतिबेला रोजगार नपाएर देशका अधिकांश युवाहरू त्यसबेला एक युवा भने आफूले गरिरहेको जागिर छाडेर व्यवसायमा व्यस्त छन् । सायद उनले भाग्यप्रति विश्वास गरेको भए पक्कै पनि मेहेनति बन्ने चेष्टा गर्दैनथे । धेरैको लागि उनको जीवनशैली प्रेरणादायी बन्न सक्छ ।

फिक्कल बजार । कुनै बेला लेप्चाहरूको राज्य रहेको यो स्थानको लेप्चा भाषामा आफ्नै अर्थ छ । एक कथन अनुसार भाषामा फिकमयोङ (बादलले ढाकिएको) अपभ्रंसित हुँदै फिक्कल भएको बताइन्छ । सँगै अर्को कथा अनुसार फिक्कल कुनैबेलाको समयमा लेप्चा जातिमा हुने समस्याहरू यही स्थानमा कचहरी राखी समाधान गरिने हुँदा फिक्.माझ्नेंअल.पखाल्ने अर्थात मन माझामाझ गरिने जनश्रुति पनि सुन्ने गरिएको छ । कथन जे होस्, सधैँ जसो हुस्सुले छोपिरहने ठाँउ भएता पनि आज भने मौसम अलि सफा देखिन्थ्यो । तर कता कता न्यानो लाग्ने चिसो भने छँदै थियो ।



इलामको एक औद्ययोगिक बजार हुनुको नाताले यो सधैँ सक्रिय देखिन्छ । सुर्योदय नगरपालिकामा पर्न आउने यो बजारका मानिसहरूको मुख्य पेशा भनेकै कृषि हो । चियाको राजधानी उपनाम पाएको यो नगरपालिकाका अधिकांश मानिसको आयस्रोतको माध्ययम कृषि र व्यापार नै हो । कृषिमा चिया प्रमुख नगदेबाली भएपनि त्यसबाहेक यहाँ उत्पादन हुने सब्जीखेती भारत, झापा, लगायतका जिल्लाहरूमा बिक्री हुने गरेको छ ।

सफा मौसममा चिया बगानका हरिया बुट्टाहरू डाँडालाई नै रंग्याएको जस्तो लाग्छ । तर आज भने वरिपरि देखिने, अन्तु, साखेजुङ, मिरिक, दार्जिलिङ्गका डाँडाहरू हुस्सुले छोपिदिएका थिए । सायद त्यसैले पनि होला उनको गोठ छेउको थुम्को निकै सुन्दर देखिन्थ्यो । र त्यही थुम्को छेउ छ उनको बाख्रा पाल्नका लागि बनाएको घर, गोठ, खोर जे भनौँ । वरिपरि चियाबगान बीचमा एकदम एकान्तमा बनेको कुनै कहानीको घरजस्तो ।

धुपीको काठले बनेको गोठ, बाख्रालाई न्यानो होस भनी उनले बाहिरबाट प्लाष्टिकले बेरेका छन् । जसभित्र २५ वटा बाख्राहरू आँटेका छन् । बिहान उनको गोठमा पुग्दा उनी गोठ नजिकै इस्कुस बारीमा घाँस काट्दै थिए । फिक्कलको त्यस्तो चिसो वातावरणमा आफैँलाई न्यानो कपडाभित्र म आफैँले लुकाइरहेको बेला उनी भने निलो रंगको हाफ टि–सर्टमा घाँस काटिरहेका थिए । 



‘बब (दाजु) घाँस काट्नुभाको ?’

‘अँ नि, नआऊ नआऊ यता जुका लाग्छ ।’ उनका हात रोकिएका थिएनन् । सिक्कल (घासँ काट्न प्रयोग हुने हँसिया) घाँस काटिरहेका उनका हात देख्दा लाग्थे ती गतिमा घाँसका मुठासँग ताल मिलाएर नाचिरहेका छन् ।

२०६३ सालतिरको कुरा थियो । शसस्त्र प्रहरी बलमा भर्ती भइरहँदा परिवारको उज्जवल भविष्यको सपना देखेको थिएँ । बहिनीहरूको उच्च शिक्षाको सपना ।’ उनी भारी सँगै कुरा पनि कस्दै जान्छन् । असन्तुष्टिका मुजाहरू उनको मुहारभरि छरपष्ट हुन्छ ।

घरको जेठो छोरा भएकाले, काँधमा परिवारको ठूलो जिम्मेवारीको भारी थियो । २ जना बहिनी आमा, बाबा र उनी गरी पाँच जना परिवारको खुसी सम्हाल्दै पूर्व इटहरी पकलीबाट २०६३ सालमा शसस्त्र प्रहरी बलमा भर्ती भए । भर्ती हुँदा उनी २२ वर्षका थिए ।

लगभग १५ वर्षको सेवामा उनले तनमन दिएरै जिम्मेवारी निभाए । कहिले झापा काँकारभिट्टा सिमानाकामा तस्करी रोक्न होस । कहिले सिराहा–सप्तरीका ढुङ्गो मुडो खान होस् । कहिले ताप्लेजुङ् र इलामतिर बाढिपहिरो, आगलागीमा परेकाको उद्दारमा खट्न होस् कहीँ पनि पछि हटेनन् । भन्छन्, ‘उद्दार गर्दा चैँ अली दुःख पनि लाग्थ्यो यस्तो विपत् कसैलाई नपरोस् जस्तो लाग्थ्यो । अनि उनीहरूको दुःखमा थोरै भएपनि सहयोग गर्न पाउँदा चैँ चित्त बुझथ्यो ।’ 



शुरूमा जागिर खाँदा उनको तलब ८ हजार रुपैयाँ थियो, जागिर छोड्दासम्म भने २४ हजार पुग्यो । तलब बढेर आए पनि जागिरे जीवन देखि भने मोह घटेर आयो । त्यसो हुनुको प्रमुख कारण आफूले कमाएको मेहनतको कमाई सिँगो परिवारको जिम्मेवारीकाे बोझको अगाडि पर्याप्त नहुनु थियो । ‘जागिर हुनमा रहर भन्दा धेरै कहर भएर पनि हुनसक्छ’, उनी ठट्टा गर्छन् ।

भोकप्यास नभनी, दिनरात नभनी परिवारसँग टाढा रहँदा मन कहिलेकाहीँ गहिरो चिन्तामा डुब्थ्यो । १५ साल खर्चेर पनि घरको स्थिति ज्यूँ का त्यूँ देखिरहनुले पनि उनलाई जागिर खाइरहने मन भएन । ‘जागिर नराम्रो हैन तर आर्थिक जीवन पनि त केही हो नि, हैन ?’ बाख्राको ढाँडमाथि उनका हात सल्बलाइरहेका थिए ।

उनका बाख्राहरू फिक्कलमै बिक्री हुन्छन् । नजिकै रहेको इलामको प्रमुख व्यापारिक केन्द्र भएकोले उनलाई बेच्न धेरै टाढा जान पर्दैन । थोरै मेहनतमा छिटो आम्दानी हुने भएकोले बाख्रापालन थालेको उनी बताउँछन् । ६ लाखको लगानीमा थालेको व्यवसाय मा उनले उन्नत जातका बाख्राहरू ‘बयर’, ‘सनन्न’, ‘खरि? पालेका छन् ।

आफ्नो सरकारी सेवाबाट राजीनामा लेखेपछि आएको पैसाबाटै बाख्रा पालन थालेका हुन् उनले । उनी भन्छन्, ‘सुखै भए पनि अरूको अडरमा जिउनु भन्दा दुःखमै आफू खुसी जिउनु बेस लागेर व्यवसाय थालेको, अबको बाँकी जीवन यसैमा लाग्ने सोच छ ।’ उनले सरकारी सेवा छाडेको लगभग १ वर्ष भयो । यो अवधिमा बिहानबेलुका बाख्रा स्याहार्नु, घाँस काट्नु, दिनमा चिया बगान हेरचाह गर्नु उनको दैनिकी नै बनेको छ । एकजना सहयोगीलाई रोजगारी पनि दिएका छन् ।



दुःख त जहाँ पनि गर्नैपर्ने । तर परिवारको वरिपरि रहेर, तल्लो घर माथिल्लो घर गरे गरिने दुःख त्यति दुखी नहुने बताउँछन् उनी । अब भविष्यमा बाख्रा पालनलाई अझ विस्तार गर्ने योजना छ उनको । सशस्त्र प्रहरी बलका सुरज राई आफ्ना बाख्राहरूसँग अझ आशावादी हुन्छन् । र, गोठका बाख्राहरूका आवाज सुन्दा लाग्छ, उनीहरू पनि राईलाई समर्थन गरिरहेछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...