मेरो नयाँ नाट्यकृति (अङ्ग्रेजी भाषामा) ‘लेप्मुहाङ’ विमोचनको सिलसिलामा म डेनमार्कमा थिएँ । त्यही बेला नर्बेबाट कलाकार/चलचित्रकर्मी मोना हिल्टनले म्यासेज गरिन् । “आउने मङ्गलवार इब्सेनघरमा/थिएटरमा ‘दिमान्चे’ नाटकको विशेष सो हुँदैछ । तिम्रो लागि पनि एउटा टिकट राखिदिऊँ ?” म्यासेजको भाषा थियो । कार्यक्रमको मञ्चमा भएकोले मैले तत्काल उनलाई उत्तर दिइनँ ।
कार्यक्रम सकिएर आफन्त, शुभेच्छुकहरूसँग तस्बिर खिच्दा, बिदा माग्दा, मार्केट घुम्दा समय घर्कियो । कार्यक्रम स्थल मध्य डेनमार्कको मिडलफर्टबाट हामी स्रष्टा थुक्तेन ड्रुक्पाको निवास हर्सनसिटी चालिस मिनेटको बाटो पश्चिम फर्कियौँ । साँझ म्यासेन्जर हेरेँ, मोनालाई हुन्छ भनेर उत्तर दिनुपर्ने थियो तर दिन पाइनँ । कारण (नर्बेकी सक्रिय सामाजिक अभियन्ता) करी भोग्सलन्डले मेरो लागि टिकट पहिले नै राखिदिएर टिकटको फोटो म्यासेन्जरमा पठाइसकेकी रहेछन् । मोनालाई यो कुरा जानकारी गराएँ । भोलिपल्ट बिहान नर्बे फर्कें ।
मङ्गलवार साँझ म निम्तो मान्न इब्सेनघर पुगेँ । अघि नै मानिसहरू जम्मा भैसकेका थिए । वैचारिक (लेखक, स्थानीय पत्रिकाका स्तम्भकार, फोटोग्राफर, सामाजिक अभियन्ता) रागनर, कवि भिग्दिस, सुडानी कवि इमिल, प्रोफेसर अब्द्रुर हमान, इरानी विचारक साथी महसुद, कलाकार/नाट्यकर्मी नासिम, गणितिज्ञ फतेमा, करी र अन्य दर्जनौँ साथीहरूले आत्मीय स्वागत गरे । कफीसँग केही समय गफियौँ । सात बजे सुरु हुने नाटकका लागि दश मिनट अगाडि प्रवेश गर्यौँ । यो थिएटर कवि/नाटककार हेन्रिक इब्सेनको जन्म घर हो । यो सहरलाई जताततै इब्सेनको नाम, कृतिका हरफहरू र थिएटरले सजाइएको छ । यसका लागि छुट्टै लेख लेखिरहेछु । आज मात्र नाटक हेर्ने क्रममा महसुस भएको केही कुरा यहाँहरू समक्ष बाँड्न चाहन्छु ।
–‘दिमान्चे’ : यसको अर्थ फ्रेन्च भाषामा आइतबार हो । यो नाटकलाई बेल्जियम थिएटर कम्पनी फोकस र चालिसेकलिटेका कलाकारहरूले संयुक्त रूपमा लेखेका रहेछन् । यसमा वस्तु, कठपुतली र माइमको प्रयोग गरिएको छ ।
–ग्लोबल वार्मिङले विश्वमा, मानवीय जीवनमा निम्त्याएको समस्या यसको मुख्य कथा हो ।
–पश्चिमा देशहरूमा हरेक उमेर समूहका लागि फरकफरक कार्यक्रम हुन्छन् तर यो नाटकमा सबै उमेर समूहका दर्शकहरू थिए ।
–नर्बेमा सिनेमा हलहरू राम्रा तर सामान्य आकारका हुन्छन् तर यो थिएटर पाँच सय भन्दा बढी दर्शक अटाउने रहेछ । फिल्म हलमा सीमित दर्शक तर थिएटरमा असीमित दर्शक पाएँ ।
–कोही एउटाले मोबाइल चलाएनन्, तस्बिर खिचेनन् । मैलेचाहिँ यो आलेखका लोभले स्क्रिन लाइट शून्यमा राखेर केही तस्बिरहरू खिचेँ (यो पनि गल्ती नै हो)।
–नाटक, प्रविधि, म्युजिक, लाइट, कलाकारिता, दृश्य संयोजन साह्रै गज्जब ।
–नाटकको अन्तिमता कलाकारहरूको कामलाई सबै दर्शकदीर्घामा उभिएर पाँच मिनेट निरन्तर थपडीले सम्मान जनाएको दृश्य गज्जब लाग्यो । उसो त यताका चलचित्र महोत्सवहरूमा, अन्य कार्यक्रमहरूमा पनि यस्तो दृश्य महसुस गरेको छु तर यो पटकचाहिँ अवर्णनीय नै लाग्यो । आहा !
म आफू पनि थिएटरसँग मनैबाट जोडिएको एक व्यक्ति भएकोले होला यस्ता दृश्य, काम, वातावरणहरूले निक्कै प्रेरित हुन्छु । नाट्य थिएटरको यात्राले मलाई ‘आफू को हुँ ?’ भन्ने कुराको नियमित अभ्यास गर्न सिकाएको छ । अन्तमा म अमेरिकी कलाकार, थिएटर डाइरेक्टर, गायक टेरेन्स मनको एउटा भनाई राखेर आलेखबाट बाहिरिन्छु ।
“फिल्मले तपाईंलाई प्रसिद्ध बनाउँछ, टेलिभिजनले तपाईंलाई धनी बनाउँछ तर थिएटरले तपाईंलाई असल बनाउँछ ।”
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...