प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

सुडानी प्रोफेसर साथी अब्दुरहमानको आग्रह अनुसार हामी सियनबाट ड्राइभ गरेर आधा घण्टाको दक्षिण–पश्चिम दुरीमा अवस्थित कटोया समुन्द्री तट गयौँ । सबैले मन पराउने यो समुन्द्री तट नर्वेको दक्षिण सहर फोस्ग्रुनमा (यो सहर संसारभरिबाट पढ्न आउने एक युनिभर्सिटीको लागि पनि प्रख्यात छ ।) अवस्थित छ ।

बाह्रैमास मानिसहरूको रोजाइको यो तट समरमा भने बल्छीबाट माछा मार्नेहरूको लागि प्रख्यात स्थान पनि हो । नर्वेको समुन्द्री तटमा सबैभन्दा बढी पाइने माछा भनेको मकरेल हो । फ्रेस नदीको केही स्थानमा भने लाइसेन्स लिएर सालुमन माछा पनि मार्न पाइन्छ सिजनमा । हामी पनि माछा मार्न गएका थियौँ । जहाँ अगाडिदेखि नै जिम्म्आ (२५ वर्षअघि आएका सुडानी वृद्ध । अब्दुरहमानको साथी) माछा मारिरहेका थिए । उनीसँग हात मिलायौँ । उनले एउटा बल्छी मलाई दिए ।

हामीले बल्छी खेल्न सुरु गर्‍यौँ । 

कटोयाको त्यो सानु पुल जसले बीचको एउटा टापुसँग जोडने काम गर्छ । त्यही पुलमा लगभग सबै उमेर समूहका २० जना जति माछा मारिरहेका थिए । अफ्रिका, एसिया, मिडलइस्ट, दक्षिण अमेरिका लगायत सबै महादेशका । ९, १० वर्षका तीनचार जना बच्चाहरू पनि थिए । केही महिलाहरू पनि थिए । उनीहरू बच्चाका आमाहरू रहेछन् ।

सामान्यतया नर्वेमा सार्वजनिक स्थान, बाटो, यात्रामा कतै भेटिँदा प्राय हेलोहाई चल्छ । सबै एकआपसमा हेलोहाई गर्दै माछा मारिरहेका थिए । ती बच्चा र उनीहरूका आमाहरू अङ्ग्रेजी र नर्वेजियन दुवै भाषा नबुझ्ने रहेछन् । थाहा भयो उनीहरू युक्रेनबाट आएका रहेछन् ।

समय दिउँसोको साढे चार बजेको थियो । सबै आफ्नै धुनमा माछा मार्न तल्लीन थिए । त्यही बेला एउटा सानो कालो न्याउरी मुसा बिना डर निर्धक्कसँग मानिसहरू माझ खेल्दै खेल्दै आइपुग्यो । यसको मुख्य कारण नर्वेमा जनावर, वनस्पति आदिलाई मानिसहरूले गर्ने प्रेमिल व्यवहार नै हो । बल्छीलाई एकछिन् अड्काएर ती बच्चाहरू न्याउरीलाई पछ्याउँदै खेल्न थाले । केटाकेटी यसरी रमाउँदै खेलेको दृश्य संसारकै सबैभन्दा सुन्दर दृश्य हो सायद । उनीहरूलाई देखेर जिम्म्आ पनि मुस्कुराई रहेको थियो ।

त्यही बेला अचानक कम उचाइबाट एउटा फाइटर जहाज उडेर गयो । सायद नियमित अभ्यास थियो ।  फाइटरभन्दा छिटो ती युक्रेनी बच्चाहरू यताउता आत्तिएर भागदौड गरे । आमाहरूले भित्ताको छेउमा भेला भएर बच्चाहरूलाई अँगाले । उनीहरूको अनुहारमा गहिरो सन्त्रास मडारियो अचानक । जिम्म्आ र मैले “केही होइन” भन्यौ । अन्य बल्छी खेल्नेहरूले पनि वास्ता नै गरेनन् । अरूको अवस्था सामान्य देखेपछि फेरि आमाहरूले केटाकेटीहरूलाई माछा मार्न छाडे । मलाई भने उनीहरूको मनोवैज्ञानिक पिडा सम्झेर नमिठो लाग्यो । 

शक्ति र सत्ताको उन्मादमा आफ्नो–आफ्नो राजनैतिक बिचारको स्वार्थले ध्रुवीकृत राष्ट्रहरूको मैमत्त युद्धमा निर्दोषहरू कसरी सिकार हुन्छन् भन्ने पछिल्लो परिणाम युक्रेन र रसियाको युद्ध हो । स्वार्थ र विचार अनुकूल कसैले युक्रेन ठिक भन्लान्, कसैले रसिया ठिक भन्लान् तर यथार्थमा जीवन र जगतका लागि युद्ध सबैभन्दा घातक कुरा हो । शक्ति र सत्ताको लिप्सामा लागेका ठेकेदारहरू बाहेक लाखौँ निर्दोषहरू मुछिन्छन् यस्ता युद्धमा । यसैको दुःखद परिणाम थियो फाइटर उडेको देख्दा यी बालकहरू र आमाहरू खेल्दा खेल्दै डराउनु ।

युक्रेनबाट बल्लैले बाँचेर आएका केही मानिस नर्वेमा पनि शरणगत भएका छन् । स्थानीय जानकारहरू भन्छन् युद्ध साम्य भएपछि उनीहरू आफ्नो देश फर्कन्छन् तर मलाई त्यस्तो लाग्दैन । आफ्नै घर, आँगन मसान भएको प्रत्यक्ष अनुभव भोगेकाहरू । आफन्तको लास धुलोभन्दा मसिनो टुक्रामा उछिट्टिएको देखेकाहरू । आफू पनि यहीँ मर्छु होला भनेर मानसिक अवस्थामा तयार भएर विक्षिप्त बाँचेका तर बल्लैले कसो कसो त्यहाँबाट भागेर जीवन पुनर्जन्म पाएकाहरू । लाग्छ, सायद फर्किँदैनन् उनीहरू । ती बच्चा र आमाहरू । जसले संसारको सबैभन्दा शान्ति, सुरक्षित र सुन्दर भनिने देश नर्वेको आकाशमा फाइटर उडेको देख्दा क्षणभरमा डरले बेरङ बने ।

जिन्दगीभर मरिन्छ कि भन्ने सन्त्रास बोकेर हिँडेकाहरूको जमात बढ्दै जाने हो भने यो संसारको भविष्य कस्तो होला ? सम्झँदा कहाली लाग्छ । हरेक युद्धमा प्रायः मानिस पक्ष र विपक्ष लागेर दोषारोपण गरागर गर्छन् । तर म सधैँ ती निर्दोषहरूको पक्षमा उभिन्छु जसलाई यस्तो युद्धसँग कुनै लेनादेना हुँदैन । अझ भन्दा मलाई युद्ध फिटिक्कै मन पर्दैन चाहे पक्ष होस्, चाहे विपक्ष ।

यो घटनापछि पनि सबैले निरन्तर माछा मारिरहे । कतिले निक्कै धेर पारे । कतिले सामान्य मात्र । कतिले पारेनन् । ती बच्चाहरूले निक्कै प्रयास गरे तर पार्न सकेनन् । बरू उल्टै एउटाले बल्छी अड्कायो । कसैले उसलाई सहयोग गरेनन् । अन्तमा जिम्म्आले सहयोग गर्‍यो । सुरुमा कालो बूढो देखेर उसको छेउ नपरेको बच्चा बल्छी निकाल्न सघाएपछि थोरै सहज देखियो । साँझ छ बजेतिर बल्छी खेल्नेहरू क्रमशः घर फर्किन थाले ।

अब्दुरहमान, जिम्म्आ, म र ती बच्चाहरू अन्तिममा रह्यौँ । बिचरा बच्चाहरू एउटा पनि माछा नपरेकोले खिन्न थिए । जिम्म्आले दिउँसोभरमा पचासभन्दा बढी मारेका रहेछन् । जानुभन्दा अघि मलाई र अब्द्रुरहमानलाई पनि केही माछा उपहार दिए । मैले पर्दैन भने तर उसले भन्यो “घरमा मिठो मानेर खाँदै गर्दा मलाई पक्कै सम्झिन्छस् । त्यो मेरो लागि ठूलो कुरा हो ।” हिँड्ने बेलामा उसले ती बच्चाहरूलाई पनि तीन–तीन वटा माछा बाँडे । बच्चा र उनका आमाहरूको अनुहारमा खुसी छायो । बच्चाहरू यत्ति धेर रमाए कि दस पटक भन्दा बढी ‘धन्यवाद’ दिए । 

आकाशमा उडेको फाइटरले छताछुल्ल पारेको उनीहरूको मुहारको खुसी जिम्म्आले फेरि बटुलिदिए । लाग्यो प्रेमको गति फाइटरकोभन्दा विशाल हुँदो रहेछ । छालाको रङभन्दा हृदयको रङ उज्यालो हुँदो रहेछ । हृदयको उज्यालो रङ र प्रेमको गति आफूमा सजाएर हिँडेको संसारको सुन्दर मान्छेहरू मध्ये एक श्रद्धेय जिम्म्आको साथी हुन पाएकोमा म भने आफूलाई भाग्यमानी सम्झन्छु ।

(नोटः कटोया समुन्द्री तट आसपासका केही फोटोहरू पनि यहाँ राखेको छु ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...