सीमाना विक

प्रहरी राज्यको सुरक्षाप्रदायक हो । संविधानत: राज्य स्वतन्त्रता, अखण्डता र सार्वभौमिकताको अर्को नाम हो । जसको केन्द्रमा त्यस देशका जनता हुने गर्छन्। प्रकारान्तरले भन्दा जनता नै राज्य हुन्। जसको सत्यसेवा सुरक्षणलाई प्रहरीले आफ्नो मूलमन्त्र बनाएको छ। 

उक्त मन्त्रको सेरोफेरोमा प्रहरीले सामुदायिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम एवं जनधनको रक्षालाई राखेको छ। 

समुदाय राष्ट्रको स्थानीकरण हो । अर्को शब्दमा भन्दा समुदाय नै राष्ट्रको प्रतिबिम्ब हो। देश कस्तो हुने समुदायमा निर्भर रहन्छ भने समुदायको सुरक्षा, पैरवी तथा विश्वासले नै अनन्तकालमा राष्ट्रिय सुरक्षा प्रबर्द्धन हुने गर्छ। राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा नेपाल प्रहरी सदा अग्रपंक्तिमा रहन्छ। सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलापको प्रत्यक्ष वा परोक्षरूपमा असर रहन्छ। यसर्थ प्रहरी नै राज्यको प्रवक्ता हो। जसले राज्यको अनुहार प्रस्तुत गर्दछ। यस सन्दर्भमा नेपाल प्रहरीले सामुदायिक प्रहरीको अवधारणा अघि सारी सोही बमोजिम स्थानीयस्तरमा आम जनतासँग सहकार्य गर्दै सुरक्षा निकाय र आम सर्वसाधारणमा सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सफल भएको छ। लण्डनमा सामुदायिक प्रहरी स्थापना गर्ने सर रोबर्ट पिलले भनेजस्तै प्रहरी नै जनता हुन् र जनता नै प्रहरी हुन् भन्ने भावना नै सामुदायिक प्रहरीको आदर्श हो। जसले आजको गतिशील समयमा समाज सुधार र शान्ति सु-व्यवस्था प्रहरीको कर्तव्य मात्रै नभई आम मान्छेको जिम्मेवारी समेत हो भन्ने कुराको वकालत गर्दछ।

प्रहरीबाट कानुनी शासनको सम्मान, मानवअधिकारको सम्मान, जवाफदेहिता, पारदर्शिता, स्पष्ट कानुनी भूमिका र पेसागत व्यवस्थापन, सार्वजनिक सेवाको व्यवस्था तथा अहिंसात्मक विधि र बलको न्यूनतम उपयुक्त प्रयोग गरी जनताद्वारा निर्वाचित संसद्ले बनाएका कानुनको परिधिभित्र रही समाजमा शान्ति-सुरक्षाको अपेक्षा गरिन्छ। यस सन्दर्भमा नेपाल प्रहरी आफ्नो स्थापनाको लामो इतिहासमा जिम्मेवारीपूर्वक उल्लिखित कार्यभार कुशलताका साथ पूरा गर्न दृढनिश्चयका साथ प्रतिबद्ध देखिन्छ। त्यसो त प्रहरीको प्रभावकारिता प्रहरीको वैयक्तिक निर्णयले नभई संगठनात्मक सन्दर्भ र प्रहरीले अंगीकार गरेको कानुनी ढाँचा तथा समुदायको सहयोग एवं समन्वयमा समेत भर पर्छ। त्यसैले नेपाल प्रहरीले विभिन्न समयमा जनताको प्रहरीका रूपमा आम सर्वसाधारण एवं समुदायसँग सहकार्य गरी आफ्नो अभिभारा पूरा गरेको देखिन्छ। 

जसमा प्रहरीले अपराध अनुसन्धान तथा सूचना संकलन र सुरक्षा व्यवस्थापनमा आम सर्वसाधारणलाई विश्वासमा लिएर काम गरेको छ। त्यस्तै समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू ट्राफिक व्यवस्थापन, दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, सीमा तथा राजमार्ग सुरक्षा, सामुदायिक प्रहरी, पर्यटक प्रहरी र प्रशासन तथा व्यवस्थापनका विविध क्षेत्रमा समेत यी दुईको सहकार्य अद्वितीय छ।

विपद् व्यवस्थापनमा नेपाल प्रहरीद्वारा सम्पादित कार्य अनुकरणीय रहेको देखिन्छ। समुदायको दु:खसुखको सारथिका रूपमा प्रहरीले विपद् व्यवस्थापन महाशाखा नै स्थापना गरी निरन्तर रूपमा विपद् प्रतिकार्य गरिरहेको छ। जसमा विपद् अघि र पछिका विविध कार्ययोजना राखी मर्दापर्दाको समयमा देश र जनताको सेवामा तत्पर रहेको विश्वास दिइएको छ।

देशमा आउने विभिन्न संकट, जस्तैः भूकम्प, महामारी, बाढी पहिरो तथा अन्य विभिन्न प्राकृतिक प्रकोपका समयमा प्रहरीले आफ्नो जिउधनको प्रवाह नगरी अनवरत रूपमा सेवा गरिरहेको हुन्छ। युवराज मैनालीको कवितामा भनिएजस्तै, 

"कर्तव्यलाई साक्षी राखेर
अनुशासनका लिगमा
स्वाभिमानका पाइतालासँगै
सान र अभिमानको
अग्लो शिर
सडकमा उभिरहेको
म त्यो प्रहरी हुँ 
जसका मनमुटुमा देश छ
हातमा जनताको सुरक्षा छ
र काँधमा 
विश्वभरका नेपाल र नेपालीको 
गौरव उभिएको छ I"

त्यस्तै, समुदायमा प्रमुख समस्याका रूपमा रहेको लागूपदार्थ ओसारपसार तथा दुर्व्यसन नियन्त्रणमा पनि प्रहरीले सशक्त कामहरू गरेको छ। विभिन्न कारणले दुर्व्यसनमा फसेका व्यक्तिहरूका लागि प्रहरीले आफ्नै प्रयासमा आसरा सुधार केन्द्र स्थापना गरेको छ। २०५४ सालबाट सञ्चालनमा आएको उक्त सुधार केन्द्रले हालसम्म हजारौँ दुर्व्यसनीहरूलाई पुनर्जीवन दिएको छ। यो सामुदायिक र सेवाभावी प्रहरीको उत्कृष्ट नमुना हो। यसले समाजमा देखा परेका समस्याको निराकरण त गर्छ नै साथै दुर्व्यसनीको रेखदेख एवं उपचार गरी समाज र पारिवारिक विखण्डनलाई समेत रोक्छ। 

ट्राफिक प्रहरीले दैनिक लाखौँ सवारीसाधन तथा यात्रुको व्यवस्थापन गरिहेको छ। यसका अलावा दुर्घटना न्युनीकरण तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्दार एवं अनुसन्धानमा पनि ट्राफिक प्रहरीको महत्त्वपूर्ण भूमिका छ। पछिल्लो १० वर्षमा नेपालका सडकमा हुने दुर्घटनामा पर्नेको संख्या ५० अ‌ौँ हजार छ। यसमा हजारौँले ज्यान गुमाएका छन् भने ठूलो परिमाणमा सम्पत्तिको समेत नोक्सानी भएको देखिन्छ।

यसका मुख्य कारण तीव्र गति, मादक पदार्थ सेवन, सडकको अवस्था लगायत छन्। यस्तोमा प्रहरीले ती सबै कुरालाई ध्यानमा राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था छ। 

गम्भीर किसिमका अपराध अनुसन्धानमा प्रहरीको विशेष युनिट सीबीआईले अपराधको तहकीकात गर्ने तथा त्यसको अभियोजन दर्ता गर्ने गरेकै छ। यस्तोमा शान्ति, सु-व्यवस्था र अमनचयन एवं व्यवस्थापनमा प्रहरीको भूमिकालाई त्रिमुखी प्रक्रियाका रूपमा लिन सकिन्छ।

वर्तमान समयमा इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने साइबर अपराधका घटना पनि बढ्दै गएका छन्। यस खाले अपराधमा न हतियारको आवश्यकता पर्छ न त कुनै देशको सीमाले नै छेक्छ। यसको निशानामा आम सर्वसाधारण देखि देशको सूचना, प्रविधि संयन्त्र पनि छ। यस्तोमा प्रहरीले पनि युगसापेक्ष आफूलाई विज्ञानप्रविधि अनुकूल बनाउँदै कार्य अघि बढाएको छ। यसमा लागि प्रहरीले छुट्टै साइबर ब्यूरो गठन गरी कम्प्युटर र इन्टरनेटबाट भइरहेका अपराधको अनुसन्धान तथा अभियोजन र साइबर सुरक्षालगायतका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आएको छ। 

प्रहरीले प्रदान गर्ने उल्लिखित सेवाहरूको केन्द्रमा आम सर्वसाधारण हुन्छन्। यस्तोमा प्रहरीले आफ्नो सेवालाई विश्वसनीय, निष्पक्ष एवं प्रभावकारी बनाउन चुनौतीपूर्ण हुने देखिन्छ। यस सन्दर्भमा प्रहरीले समुदायसँगको सम्बन्ध स्थापनार्थ सामुदायिक प्रहरी, मुस्कानसहितको सेवा, प्रहरी मेरो साथीजस्ता कार्यक्रमहरू समेत अघि सारेको छ। 

नेपाल प्रहरीले २०५१ सालयता सामुदायिक प्रहरीको अवधारणा अघि सार्दै अपराध, अशान्ति, असुरक्षाजस्ता समस्या र सेवा तथा परिचालन लगायतका क्षेत्रमा प्रहरीले आम सर्वसाधारणसँग सहकार्य गर्दै आएको छ। यसधाट समुदायका हरेक सदस्यको जीवनशैली सुध्रिनुका साथै प्रहरीको सत्य सेवा सुरक्षणम्को आप्तवचन समेत पूरा हुने गरेको छ। यस्तोमा सर्वसाधारण र प्रहरी सेवामा साझेदार बनेर समस्या र उपलब्धिको यश-अपयश समेत बहन गर्दछन्। जसले प्रहरी र समुदाय दुवैलाई जिम्मेवार बनाउँदै ल्याएको छ। समुदायमा आधारित प्रहरी सेवा खास अपराध वा घटनाका लागि मात्र नभई सम्पूर्ण समुदायकै हितमा केन्द्रित रहन्छ । समुदायका समस्याहरू प्रहरी र जनताको साझेदारीमा समाधान गर्ने रणनीति यसले बहन गरेको हुन्छ। जसले लागू पदार्थ, हातहतियार, मानव तस्करी र अन्य संगठित अपराध, सामाजिक सुधार एवं जनचेतनामूलक काममा समेत प्रभावकारी रूपमा काम गर्दछ।

मुस्कानसहितको सेवा अभियानबाट प्रहरीले सर्वसाधारणप्रति राज्यको सहज एवं सकारात्मक व्यवहार दर्साउन खोजेको देखिन्छ। यसले दु:खसुखमा प्रहरी जनताको साथमा छ भन्ने भावसमेत व्यक्त गरेको छ। 

'प्रहरी मेरो साथी' कार्यक्रमले समुदाय र प्रहरीलाई जोड्ने पुलको काम गर्दछ। नेपाल प्रहरीले नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापमा प्रहरी मेरो साथीको कार्यक्रम लागू गरी देशैभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्न उक्त कार्यक्रम अघि सारेको देख्न सकिन्छ।

प्रहरी जनताको साथी हो, दु:खसुखमा साथी नै काम आउँछ भन्ने भावनाको विकास गराउन र समाजिक रूपमा प्रहरीसँग आम सर्वसाधारणको सम्बन्ध विकास गर्न पनि यो कार्यक्रम सहायक बनेको छ। 

उल्लिखित सेवा र कार्यहरूका साथमा गौरवमय इतिहास बोकेको नेपाल प्रहरी जनशक्ति अभाव, सेवासुविधाको कमी, उपयुक्त र सापेक्षिक यन्त्रउपकरणको अभाव, तालिम तथा पुनर्ताजगी आदिजस्ता समस्या झेल्न बाध्य छ। यी समस्या समाधान भएमा प्रहरीले प्रभावकारिताका साथमा काम गर्नसक्नेमा विश्वस्त हुन सकिन्छ। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।