केदार सिटौला

अफ्रिका महादेशमा एउटा देश छ लाइबेरिया भन्ने । यो देशको इतिहास एकदमै रोचक छ । लाइबेरियाको झन्डा हेर्दा ठ्याक्कै अमेरिकाको झन्डाको सम्झना दिलाउँछ । अमेरिकाको झन्डामा ५० वटा तारा छन् भने लाइबेरियाको झन्डामा एउटा मात्र । त्यसैले यो झन्डा लाई एक्लो तारा (Lone Star) भनिन्छ । जबकि अमेरिकाको झन्डालाई The Stars and Stripes भनिन्छ । दुई देश बिच झन्डाको समानता कुनै संयोगले मात्र जुरेको होइन । यसको पछाडि प्रस्ट कारणहरू छन् ।

१९ औ शताब्दीको सुरुवात तिर अमेरिकामा अश्वेत दासहरू लाई के गर्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । कोही दास प्रथा कायम राख्ने पक्षमा भने कोही उन्मुलन गर्ने पक्षमा थिए । त्यस्तै एउटा अर्को पक्ष भने अश्वेतहरूलाई फेरी अफ्रिकामै पुनर्वास गराउने पक्षमा थियो । यो तेस्रो मतको पक्षधर अमेरिकी औपनिवेशीकरण समाज भन्ने संस्था थियो । यो संस्थाको तर्क थियो काला जातिका मानिसहरूमा रङका कारण पैदा हुने नियन्त्रण नै गर्न नसकिने पूर्वाग्रहका कारण गोरा अमेरिकी समाज सँग घुलमिल हुन सक्दैनन् । तसर्थ काला जातिका मानिसहरूलाई उनीहरूको मातृभूमि अफ्रिकामै पुनर्वास गर्नु उचित हुनेछ । ती अश्वेत अमेरिकीहरू लाई पुनर्वास गराउन १८२१ मा अमेरिकी औपनिवेशीकरण समाजका एजेन्ट लाइबेरिया पुगे । उनीहरूले समुन्द्र तट सँग जोडिएको क्षेत्र किन्न खोजे तर त्यहाँका कविलाई प्रमुखले बेच्न अस्वीकार गरे । त्यसपछि ती एजेन्टले कबिलाई प्रमुखको टाउकोमा बन्दुक तेर्साए पछि ६ वटा बन्दुक र एक बाकस सिसाको माला लिएर त्यो ठाउँ बेच्न बाध्य भए । त्यसपछि अमेरिकी गृह युद्ध(१८६०-१८६५) सम्म करिब २० हजार अश्वेत अमेरिकीहरू लाई लाइबेरियामा पुनर्स्थापित गरियो ।


May be an image of 3 people, people standing and outdoors


लाइबेरियामा उत्रिनासाथ ती अश्वेत अमेरिकीहरूले आफ्नो पुर्खाको भूमि लाई घुँडा टेकेर ढोगेनन् न त्यहाँ पहिले देखि रहेका स्वजातिय बन्धुहरूलाई अँगालो मारे । अमेरिकी अश्वेतहरूले आफूले जे देखेका थिए र जे भोगेका थिए त्यसैलाई लाइबेरियामा व्यवहारमा उतारे । उनीहरूले देखेको सामाजिक संरचना मालिक र दासको थियो । त्यसैलाई उनीहरूले लाइबेरियाका मूलवासीहरू माथि लागु गरे । जो हिजो अमेरिकामा दास थिए आज लाइबेरियामा मालिक बने र लाइबेरियाका मूलवासीहरू लाई दास बनाएर शासन गर्न थाले । उनीहरूको नजरमा अफ्रिकीहरू जङ्गली, असभ्य र बर्बर थिए । उनीहरूसँग अमेरिकी अश्वेतहरूले कुनै घुलमिल नै गरेनन् । समुन्द्री किनाराको छेउमा अलगै बस्ती बनाएर उनीहरू बस्थे । उनीहरूको बिहाबारी पनि एक आपसमै हुन्थियो । र उनीहरूले लाइबेरियन मूलवासीलाई अछुतको जस्तो व्यवहार गर्थे । अमेरिकी अश्वेतहरूले १८४७ मा लाइबेरियालाई स्वतन्त्र देशको रूपमा घोषणा गरे । राजधानीको नाम पाँचौँ अमेरिकी राष्ट्रपति जेम्स मुनरोको सम्मानमा मनरोविया राखे । तर त्यो स्वतन्त्र गणतन्त्रमा लाइबेरियाई मूलवासीहरूको लागि कुनै स्थान थिएन । उनीहरूलाई नागरिक समेत मानिन्नथ्यो । मूलवासीहरूले १९०४ मा मात्र आएर नागरिकताको प्रमाणपत्र पाउन थाले । अमेरिकी आप्रवासीहरूले लाइबेरियाका मूलवासीहरूलाई देशको भूभाग बाट पशु जस्तै पक्रेर दास बनाउँथे र अरू देशमा पनि बिक्री गर्थे । १९३० मा लिग अफ नेसनले लाइबेरियाले दास प्रथा कायम गरेको कडा आरोप लगाए पछि तत्कालीन राष्ट्रपति र उपराष्ट्रपतिले राजीनामा दिनु परेको थियो ।

यसरी नै १३० वर्ष सम्म अमेरिकी मूलका अश्वेतहरूले लाइबेरियामा शासन गरे । १९८० मा त्यहाँका आदिवासी मूलका तल्लो तहका सैनिक अफिसर स्यामुल डो ले निर्वाचित राष्ट्रपति विलियम टोल्बर्ट जुनियर लाई सैनिक विद्रोह मार्फत अपदस्त गरे । स्यामुल डोले राष्ट्रपति विलियम टोल्बर्ट र उनका प्राय सबै क्याबिनेट सदस्य सहित हत्या गरिदिए । स्मरणीय छ विलियम टोल्बर्ट र उनका प्राय सबै क्याबिनेट सदस्यहरू सबै अमेरिकी मूलका आप्रवासी अश्वेत थिए । त्यसपछि स्यामुल डो राष्ट्रपति बने । स्यामुल डो सँग न त देश चलाउने क्षमता थियो न योग्यता नै । उनकै साथीहरूले बिस्तारै उनलाई छोड्दै गए । चार्ल्स टेलरले स्यामुल डो विरुद्ध १९८९ मा विद्रोह सुरु गरे । राजधानी मनरोवियामा विद्रोहीहरू पुगे पछि विद्रोही बीचमै कसले कति लुटको हिस्सा पाउने भनेर फुट भयो । चार्ल्स टेलरका सैन्य कमान्डर प्रिन्स जोन्सनले अलग समूह बनाए । १९९० मा स्यामुल डो लाई उनकै पूर्व साथी जोन्सनले पक्रेर अत्यन्त बर्बर तरिकाले यातना दिएर हत्या गरे । तर उनको हत्याले सो गृह युद्ध रोकिएन । लाइबेरियाली गृह युद्ध अरू ७ वर्ष चल्यो । जसमा करिब अढाई लाख मानिसहरू मरे । १९९७ मा विदेशी राष्ट्रहरू संलग्नता भएको शान्ति प्रक्रिया पछि गृह युद्ध समाप्त भयो । युद्ध सरदार चार्ल्स टेलर राष्ट्रपति बने । तर लगत्तै दुई वर्ष पछि अर्को विद्रोही समूहले युद्ध सुरु गर्‍यो । जुन अरू चार वर्ष चल्यो । जस क्रममा करिब ३ लाख मानिसहरूको मृत्यु भयो । २००३ मा दोस्रो गृहयुद्ध सकिए यता लाइबेरिया शान्त छ । अचेल चार्ल्स टेलर नेदरल्याण्डको हेगमा युद्ध अपराधको सजाय भोगिरहेका छन् ।

समाज परिवर्तन गर्ने खेमामा अक्सर गरेर सुन्ने गरिन्छ उत्पीडक विरुद्ध समस्त उत्पीडितहरूको स्वाभाविक गठबन्धन बन्छ । किनकि उत्पीडितहरू लाई समजातीय बर्ण वा वर्गको रूपमा रोमान्टिक रूपमा वर्णन गर्ने गरिन्छ । प्रख्यात भारतीय साहित्यकार हजारी प्रसाद द्विवेदीले भनेका थिए- समाजमा तल्लो भन्दा पनि तल्लो मानिने जातिले पनि आफू भन्दा तल एउटा अर्को जाति खोजेर पत्ता लगाउँछ । पाकिस्तानी मार्क्सवादी विद्वान एजाज अहमदले यसलाई अझ प्रस्ट पार्दै भनेका छन्- जाति व्यवस्थामा सबै भन्दा माथि रहेकाहरूको झगडा सबै भन्दा तल रहेकाहरू सँग हुँदैन । यो सोपान क्रममा हुन्छ । सबै भन्दा तल रहेकाहरूको झगडा आफू भन्दा आफू भन्दा माथिल्लो सिँढीमा रहेकाहरू सँग र माथिको सिँढीवालाको आफू भन्दा माथिल्लो सिँढीमा रहेको सँग हुन्छ । त्यसकारण सबै उत्पीडित जातिहरू मिलेर उत्पीडक जाति विरुद्ध खडा हुन्छन् भन्ने कुरा सोच्नु गलत हुन्छ । लाइबेरियाको यो रक्तरन्जित इतिहासले यस कुरा लाई प्रमाणित नै गरिदिएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार