विसं. २०२५ सालमा जन्मिएका उदय अधिकारी पुस्तकको लसपसमा रमाउने व्यक्ति हुन् । मकवानपुर बहुमुखी क्याम्पसमा अंग्रेजी प्राध्यापन गराउँदै आएका अधिकारी कविडाँडा साहित्य समाजका उपाध्यक्ष समेत हुन् । प्रस्तुत छ, अधिकारीसँगद मार्जिनको साप्तहिक स्तम्भ ‘किनाराका साक्षी’ का लागि राजु झल्लु प्रसादले गरेकाे कुराकानी:

‘तपाईंलाई पढ्ने मुड, लेख्ने मुड कति बेला आउँछ ? कस्तो आसनमा पढ्नुहुन्छ ? दिनको कति घन्टा पढ्नुहुन्छ ?’ यी रुटिङ प्रश्नहरू भए, आवश्यक भएनन् तर यी कुराहरू चाहिँ सोध्छु- तपाईंको लागि पुस्तक के हो ? पुस्तकसँग तपाईंको साक्षत्कार कसरी हुन् पुग्यो ? 

प्रायःजसो किताबहरूले नै मेरो मूड तयार गरिदिन्छन् । म सुत्ने ओछ्यानमा बसेर अडेस लगाएर पढ्ने गर्दछु । पढ्दै जाँदा कहिलेकाहीँ दशौँ घण्टा पनि पढिन्छ । मेरा लागि पुस्तक संवादको माध्यम हो । मेरो हजुरबा पण्डित हुनुहुन्थ्यो । मैले हुर्किँदै गर्दा देखेको किताब नै थियो । आमा लय हालेर पढ्नुहुन्थ्यो । मेरो लागि पढाईको पहिलो जम्काभेट स्वास्थनी, मुनामदन र दन्त्यकथा थियो । 

तपाईंले खोजेका किताबहरू कत्तिको भेटिएका छन् ? तपाईं कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? 

प्रविधिले गर्दा खोजिएका प्रायः सबैजसो किताबहरू भेटिन्छन् । अहिलेको समाज जटिल छ र यसै जटिलतालाई सरल तरिकाले बुझाउन सक्ने किताबहरुको खोजीमा हुन्छु । मेरो पुस्तक छान्ने आधार आफ्नो अध्ययन र अनुभव नै हो । त्यसभन्दा अगाडि गएर राष्ट्रिय, अन्तर्राष्ट्रिय पत्रिकाहरूमा आएको समीक्षा, युट्युब लगायत मिडियामा आएका लेखकहरूका अन्तर्वार्ताहरू हुन् ।

पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू ?

गुगलले धेरै सहज पारिदिएको छ यस कामलाई । आन्ना कारेनिमा, द इडियट, द म्याजिक माउण्टेन, वन हन्ड्रेड एअर्स अफ सोलिच्यूड, द गड् अफ स्मल थिङ्गस, माधवी, शिरिषको फूल लगायत मलाई धेरै किताबहरू मन पर्नेछन् ।

‘पुस्तक पढ्नेहरू ज्यादा सहानुभूति पाल्छन्’ अरे ! हो ? सँगै, ‘हाम्रो पठन रिङरोड ‘पैदलयात्रुमैत्री’ भएनन्’ भनिन्छ, हो र ?

पुस्तक पढ्नेहरू बढी संवेदनशील हुनु झन् राम्रो हो । हाम्रो पठनका यात्रा धेरै लामो छैन । जब पुस्तकहरू दूरदराजमा पुग्दछन्, यिनीहरुले इतिहास निर्माण गर्दछन् । पुस्तक सोकेशमा देखाउने वस्तु मात्र होइन । खुशीको कुरा पुस्तकहरू नेपालभरि नै यात्रामा छन् ।

जीवनी, आख्यान, गैरआख्यान, कविता ? तपाईंको रुचि बेसी कुन विधामा छ ?  सभ्यता, साहित्य, इतिहास, दर्शन, भूगोल, संस्कृतिका के-कस्ता किताबहरू छन् तपाईंसँग ?

मलाई आख्यान र कविता अध्यधिक मनपर्दछन् । म गैरआख्यान मसँग भएको ज्ञानको दायरा बढाउन पढ्छु । मलाई अध्ययनको धेरै मनपर्ने क्षेत्र इतिहास, दर्शन र संस्कृति हो । अहिलेको प्रविधिको सहज पहुँचताले धेरै पुस्तक सुलभ भएका छन् ।

तपाईंसँग भएका दुर्लभ किताबहरू ?

मसँग कुनै बेला दुर्लभ मानिएका बोरिस पास्तरनाकको डक्टर जिवाको र सोल्जीनेत्सेयनको द क्यान्सर वार्ड भन्ने किताब छन् ।

परीक्षामुखी शिक्षा प्रणालीले गर्दा पाठ्यपुस्तकमा सीमित भएका विद्यार्थीहरूलाई कस्ता पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?

विद्यार्थीहरूलाई ज्ञान फैलावटमा विश्वास गर्न सिकाउनुपर्दछ । यदि उनीहरू अंग्रेजीमा पढ्न चाहन्छन् भने पश्चिमी दर्शनमा आधारित सोफिज वल्र्ड पढ्दा राम्रो हुन्छ । यसपछि जे.डी. स्यालिङरको क्याचर इन द राइ पढ्दा हुन्छ । सरल भाषामा एउटा गहन किताब पढ्न चाहन्छन् भने विक्रम सेठको अ सुइटेबन ब्वाय सिफारिस गर्दा हुन्छ । यी ढोकाहरूबाट पसेपछि उनीहरू अंग्रेजीको साम्राज्यमा पुग्नेछन् । नेपालीमा भूपी शेरचनको घुम्न मेचमाथि अन्धो मान्छेबाट सरल यात्रा शुरू गर्न सकिन्छ । धच गोतामेको घामका पाइलाहरु भन्ने उपन्यास र रमेश विकलको नयाँ सडकको गीत भन्ने कथा संग्रहले अगाडीको यात्रा गर्न प्रोत्साहन गर्नेछन् ।

सत्तामुखी नेता/कार्यकर्ता/प्राध्यापकहरूलाई चाहिँ ? क-कसलाई कुन-कुन किताब सजेस्ट गर्नुहुन्छ ? 

पढ्ने सुझाव सधैँ उपलब्धिमूलक हुन्छ भन्ने छैन । यदि राजनीतिमा आउनको लागि कसैले कम्मर कसेको छ भने विपीको आत्मवृतान्त, मण्डेलाको अ लङ वाक टू फ्रिडम, नेहरुको एन अटोबायोग्राफी पढ्दा अगाडिको बाटो सहन हुने पक्का छ । 

प्राध्यापकहरूको बारेमा आफ्ने रुचिमा भर पर्दछ । म साहित्यको विद्यार्थी भए पनि भर्खरै अर्मात्य सेनको मेमोइर अ होम इन द वल्र्ड पढेर बडा आनन्द लिएँ । साहित्यका प्राध्यापकहरूलाई सलमान रुस्दीको जोसेफ आन्टोनले आनन्द देला भन्ने लाग्छ ।

हाम्रो शैक्षिक संस्कारको मोडेलबारे तपाईंलाई बोल्ने मुड छ ? नेपाली छापाहरू, नेपाली लेखकहरू, नेपाली पाठकहरू के छाप्दै, लेख्दै र पढ्दै छन् आजभोलि ?  साथै,  उनीहरूको अन्तरसम्बन्ध कस्तो पाउनुपर्छ ? कस्तो हुनु पर्ने थियो ? 

हामीकहाँ कोर्स बाहिरका किताबहरू पढ्ने बानी विकास गर्न आवश्यक छ । आजभोलि लेखिने र छापिने क्रम बढेको छ । त्यसै कारणले केही भए पनि राम्रा चीजहरू बाहिर आइरहेका छन् । 

पढ्ने मामलामा हामी कता छौं ?

पढ्ने मामलामा हामी लगभग कुण्ठित अवस्थामा छौँ । आफ्नो समूहबाहेक अरूको नपढ्ने, पढे पनि चर्चा गर्न मन नपराउने र समूहको घेरा नाघ्न मन नपराउने लेखकहरूबाट उत्तराधिकारमा पाएको रोग पाठकहरूमा पनि सल्की सकेको छ । प्रविधि र भेटघाटको सहज सुविधाले पाठकले पनि आफूलाई लेखक मान्ने रोग तीव्र गतिमा फैलँदो छ । 

सर्जकले आफ्नो सृजनशक्तिले नयाँ पाठक उत्पादन गर्ने हो । यो प्राकृतिक नियम हो । तर यहाँ कहिलेकाही यस्तो पनि देखिन्छ कि पाठकहरु आफ्नो रुची अनुसारको लेखक उत्पादन गरिरहेका छन् । रुचि परिष्कृत हुँदै जाने हो, स्खलित हुने होइन । यसो हुनको लागि लेखक लेखक मात्र भएर पुग्दैन, एउटा विशिष्ट पाठक पनि बन्नु पर्छ । अहिले “कथाले माग्यो” भन्ने डाइलग खुब लागू भएको छ । तर यसलाई ‘समयले कथा माग्यो’ भन्ने डायलगमा बदल्न जरुरी छ ।

पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकांगी अनुभूतिमा सिमित भएको’ आरोप लागिरहेको छ ! तपाईंको मत ? 

हो, सबैलाई हतार छ । भुइँको टिप्छु भन्दा पोल्टाको खस्ने खतरा छ । पारम्परिक ज्ञानको सीमालाई भत्काउन आवश्यक छ । तर लेखक हतारमा छ । जे आफ्ना आँखा अगाडि छ, त्यही टिपिरहेको छ । यो त भयो बहुमतको कुरा, तर केही लेखकहरू यस्ता पनि छन् जो जसँग धैर्यता छ, आफ्नो ज्ञानको सीमितता बुझ्दछन् । आफ्नो सीमित ज्ञानलाई बृहत ज्ञानको परम्परासँग जोड्न चाहन्छन् । मैले अलि अगाडि परेको योगेश राजको रणहार र भुवन ढुंगानाको परित्यक्ता उपन्यासले मेरो अड्कललाई बल दिएको छ ।

‘लेख्नका लागि पढ्नुपर्छ’ या ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ  अझ, ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य छ  तपाईंको मत ? 

लेख्नको लागि पढ्नुपर्छ भन्ने चर्को स्वरमा कराउने व्यापारिक तर्क हो ।  पढ्नु र लेख्नु विशेषगरी साहित्य व्यक्तिगत रुचिको विषय हो । थुप्रै व्यक्तिगत रुचिहरू मिसिएर सामूहिक रुचि बन्दछ । रुस्दीको द मिडनाइट चिल्ड्रेनले थुप्रै भारतीय पाठकहरू किन पाइरहेको छ भने त्यहाँ उनीहरुको कथा छ । हामी यो किन किताब पढिरहेको छौँ भने यो दक्षिण एसियाको कथा पनि हो । राइन्टन मिस्त्रीको अ फाइन ब्यालेन्स हामीकहाँ कपडा सिलाउनेको कथा पनि हो र कथा हो- सिलाएको कपडा लगाउनेहरूको ।

तपाईं किन लेख्नुहुन्छ ? तपाईं किन पढ्नुहुन्छ ? 

म पढ्छु, किनकि मैले देखेको संसार पुस्तकहरू मार्फत प्रमाणित गर्न चाहन्छु । सायद लेखकहरू आफ्ना रचना मार्फत हामीलाई उनीहरुले देखेको संसार देखाउन चाहन्छन् । झल्लुजी, सायद तपाईंले जित थायलीको एकदम क्रेजी लाग्ने नार्कोपोलिस पढ्नु भएको होला । सायद उनलाई उनले भोगेका कुरा भन्न मन लाग्यो होला । नाभाकोभले लोलिता किन लेखे ? सायद उनको मनले नलेखी सुख दिएन होला ।

तपाईं पढिरहने मान्छे ! कहिलेकाहीँ ‘कागजको नोक्सान गरे यार’ भन्ने पनि लाग्दो हो ! कुनै किताब ‘चिनी नपुगेको सर्बत’ जस्तो किन बन्दो रहेछ ? लेखकहरूले मन दुखाए दुखाउन्, केही यस्ता किताबका नाम लिनुहोस् न ! 

तास उत्पादन गर्नुभन्दा किताब उत्पादन गर्नु राम्रो हो । अहिले समाज बजारमा परिणत भएको छ र लेखक पनि बजारलाई आवश्यक पर्ने चीज उत्पादन गर्न लागेका छन् । मलाई जान्न मन लाग्ने कुरा के हो भने के त्यस्तो अप्ठ्यारो थियो र जसले अमर र कुमारलाई बजारको मुटुमा गुलाफी उमेर र कल्पग्रन्थ पछार्न बाध्य बनायो ।

तपाईंले पढिरहने/सुनिरहने/हेरिरहने नेपाली/विदेशी स्तम्भ/पोडकास्ट/डकुड्रामाहरू ? यसमा फिल्म, संगीत र चित्रकला पनि जोडौँ है !

म पेरिस रिभ्यूको लामो अन्तर्वार्ता र रचनाहरु पढिरहन्छु । ग्रान्टामा छापिएका रचनाहरूले मलाई अझ बढी पढ्न प्रोत्साहन दिइरहन्छ । आधुनिक लेखकहरूका रचनाको लागि म न्यूयोर्करका पेजहरू चारिरहन्छु । म हिन्दी अलि बढी हेर्दछु । मलाई मन परेमा मध्ये द रेनकोट र इजाजत पनि हुन् । स्टेफन हकिङस माथि बने द थ्योरी अफ एभरीथिङ र टम ह्याम्क्सको द टर्मिनल मन परेका फिल्महरू हुन् । पेण्टिङमा मलाई पिकासोको टच अत्यधिक प्रिय लाग्छ । 

समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू ? लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम् नारी/अपाङ्ग/प्रौढ/सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ?

अहिले नेपाली साहित्य बहुल विचारहरूको सुन्दर घोडा चढेर अगाडी बढिरहेको छ । सायद यतिको हार्दिकता इतिहासमा कतै पनि पाइएको थिएन । फरकफरक विचारहरू, फरकफरक भँगालाहरू एउटै मूलधारमा समाहित भएर अगाडि बढ्न खोजिरहेको छन् । अहिलेसम्म एउटाको कथा अर्काले भनिरहेको थियो, अब सबै आ–आफ्ना कथा लिएर बाचनको तयारीमा छन् । श्रवण, राजन, हाङयुङ, मोक्तान, थेवा, बिना थिङ्गले जनजातिका कथा; अर्चना, सरिता, सुमिनाहरूले नारी दलनको कथा; आहुती, कृष्ण विश्वकर्माहरूले दलितका कथा; राजेन्द्र विमल, श्याम साहहरूले तराईका कथाहरु राम्रोसँग भनीदिएनन् भने हामीले धेरै कुराहरु गुमाउनेवाला छौँ । जनयुद्धमाथि एकदम कम लेखिएको छ । यसको लागि जनयुद्ध भोगेर आएको लेखकलाई समयले खोजीरहेको छ । यसै सन्दर्भमा जनयुद्धलाई नजिकबाट देखेका सृजन अविरलले भर्खरै आएको उनको उपन्यास मोक्षमा राम्रेसँग अभिव्यक्त गरेका छन् । पहाड र हिमालको कथाको अभाव छ । कञ्चनजंघादेखि कालापत्थरसम्मको कथा आउन बाँकी छ । 

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ? 

बजार बिक्री हुने ठाँउ हो । यसले प्रत्येक चीजको मूल्य तोक्दछ । किताबहरू बिक्री हुन थाले राम्रो कुरा हो । लेखकले के बेच्ने, के राख्ने भन्ने कुरा स्वयम्मा भर पर्ने कुरा हो । राम्रो लेखकले बजार बढाउदछ पनि । बजारमा एकाधिकार जसले पनि खोज्दछ । लेखकले लेखनमार्फत एकाधिकारको दावी गर्नुपर्दछ ।

तपाईंको ‘काव्यिक अभ्यास’बारे पनि जान्न मन भयो। आजभोलि के लेख्दै हुनुहुन्छ?

म एउटा अभ्यासरत पाठक हो । कहिलेकाहीँ केही झिल्काहरू आउँदा अंग्रेजीमा लेख्ने गर्दछु । र, अहिलको सबैभन्दा लोकप्रिय इ-पत्रिका फेसबुक वालमा पोष्ट गर्दछु ।

मैले त सक्काएँ, तपाईंको केही प्रश्नहरू छन् कि ?

तपाईका प्रश्नहरु गज्जब छन् । यदि तपाईंले पढिरहनुभयो भने कुनै दिन तपाईंलाई यस्तै प्रश्नहरू सोधेर अत्याउन मन छ । 

यो पनि पढ्नुहोस्;
म 'अन्तरमुखी' उपन्यासकी पात्र जस्तै छु, जो हल्लाखल्लाहरूमा चासो राख्दिन

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...