यतिबेला दिन प्रतिदिन बढिरहेको महामारीले देश,जनता, पर्यटन,व्यावसाय,अर्थ व्यवस्थामा ठूलो क्षति पुगेको छ । दोस्रो चरणको लकडाउनले देश शून्य छ । यतिबेला अत्यावश्यक कामहरू बाहेक सबै ठप्प छन् । तथापि उनको काम भने चलि नै रहेको छ । आफ्नै चीज फ्याक्ट्री छ उनको । दिनभर आफ्नै काममा व्यस्त देखिन्छन् सुर्योदय ३, तिनखुट्टे, लक्कि डेरीका प्रोपाइटर तुलु तामाङ  ।



 ४० लिटर दुधबाट शुरू गरेको चीज कारखाना अहिले २३ सय लिटर दूध पेल्दै आएका छन् । उनलाई ३५० देखि ४०० जना किसानले दूध दिएर सहयोग गरेका छन् भने उनले पनि राम्रै रेटमा दूध लिने गरेका छन् । कारखानामा आफ्नो सहयोगी स्वरूप ८ जना युवाहरुलाई रोजगार दिएर राखेका छन् । उनीहरूलाई १७ देखि १८ हजार सम्म मासिक ज्याला दिने गरेका छन् । १ देखि डेढ लाख उनको मासिक आम्दानी हो । उनले यहाँसम्म आइपुग्न जीवनका धेरै उकाली ओराली गरेका छन् ।



 
पहिलो पटक इलाम छिर्दा उनी १५ वर्षका थिए । इलाम नआएको भए सायद उनी डाँडाकाँडा, हिमाल पहाड, पर्वत, मधेश, खोला खोल्सी, जंगल जस्ता विभिन्न ठाँउहरूमा टुरिस्ट गाइडका रूपमा डुलिरहेका हुने थिए । घुमिरहेका हुने थिए । र सायद यो महामारीमा उनको जागिर ठप्प भएर गाँउघर तिर कुनै क्षेत्रमा समय व्यतित गर्दै हुने थिए । रसुवा जिल्लाका तामाङ २०५२ सालमा चीज फ्याक्ट्रीमै काम गर्न भनेर एक जना साथी तोप्के शेर्पाको सहयोगमा इलाम आइपुगेका हुन् । यहाँ यती डेरी नामक फ्याक्ट्रीमा दूध भर्ने, सरसफाइ गर्ने काम गर्दथे । उबेला उनको मासिक तलब ३ हजार थियो । चीज बनाउन उनले हेरेरै सिकेका हुन् । पछि यती डेरीको स्थिति खुस्किएपछि उनले अब जागिरको विकल्प खोज्न पर्यो । 



जसले गर्दा उनले घर फर्कने र दुबई जाने सोँच बनाए । तर विदेशमा कमाउने पारिश्रमिक नेपालमै सम्भव देखेपछि विदेश जाने विकल्प त्यागी दिए । अन्तत इलाममै बसेर बङ्गुर पालन,बाख्रा पालन गर्न थाले । नेपाल, दार्जिलिङ लगायत ठाउँतिर उनले बङ्गुर बाख्राहरु निर्यात गर्दथे । यसबाट पनि उनलाई राम्रै उपलब्धि भइनै रहेको थियो । तर उनको चाहाना र सपनाले चिज फ्याक्ट्रीनै सोँचिरहने हुँदा अन्तत: उनले सबै छाडेर २०६६ सालमा डेनमार्क सरकारको उन्नति प्रोजेक्टको सहयोगमा 'लक्की डेरी' नाममा चीज कारखाना खोली छाडे । यति भनिरहँदा उनको मुहारभरि खुसी र सन्तुष्टिको रङ्ग छर्लङ्गै देखिन्थ्यो । 



पहिलो लकडाउनमा १ महिना कारखाना बन्द गरे पनि गाउँलेहरूको सल्लाह र सहमतिमा फेरि सुचारु गरे फलस्वरुप अहिलेको लकडाउनले पनि प्रभाव नपरेको बताउँछन् । भन्छन्, :"हामीलाई के लाग्थ्यो भने चीज चाहिँ  विदेशीले मात्र खान्छन् । लकडाउन भएपछि सरकारले पर्यटकहरु आउजाउमा रोक लगायो । तैपनि चीजको माग रोकिएन । यसले गर्दा विदेशीले मात्र चीज खान्छ भन्ने मानसिकता चाहिँ हट्यो ।"




उनको "लक्की डेरी" नामक चिज काठमाण्डौँ लगायत देशको विभिन्न ठाउँहरुमा पुग्ने गरेको छ । उनले व्यावसायीको माग अनुसार क्युमिन, स्मोक, चिल्ली लगायतका फ्लेभरमा चीज उत्पादन गर्ने गरेका छन् । चीज खानकै लागि गाउँले देखि लिएर विदेशी, नगर प्रमुख जस्ता व्यक्तिहरू उनको कारखाना सम्म धाउने गरेका छन् । अब उनको एउटै चाहना आफ्नै नामको ब्राण्ड बनाएर देशव्यापी बनाउने र काठमाडाैँमा आफ्नै शाखा कार्यलय  खोल्ने । यसरी अभाव र चुनौतीका बावजुद युवाहरूले देशमै सम्भावना देख्न थाले तुलु तामाङ जस्ता हजारौँ युवाहरु देशमै स्वरोजगार हुने थिए ।








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...