प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

प्रकाश आङदेम्बे कला, साहित्य साधकका साथै भुटानी शरणार्थी शिविर र त्यहाँकाे जनजीवनलाई नजिकबाट जानेबुझेका र संगत गरेका व्यक्ति हुन् । उनले उनीहरूकै वास्तविक कथामा रहेकाे चलचित्र 'देश खोज्दै जाँदा' लेखन/निर्माण र निर्देशन गरेका छन् ।

–तीन दशकभन्दा लामो समयदेखि पूर्वी नेपालको झापामा ६ वटा शिविरहरू (टिमाई, गोल्धाप, खुदुनाबारी, बेल्डाँगी १, २, ३) र मोरङ शनिश्चरे गरी जम्मा सातवटा थियो । १ लाख ३५ हजारभन्दा बढी नेपाली मूलका भूटानीहरू शरणार्थीको रूपमा बसेका थिए । अझै बेल्डाँगी २,३ र शनिश्चरे मोरङमा केही हजार बसिरहेका छन् ।(नोटः ड्रुक्पाहरूको एक देश, एक भाषा, सँस्कृतिको आक्रमणमा नेपाली सँस्कृति, भाषाका रक्षाका लागि आवाज उठाउँदा उनीहरू शरणार्थी भएका हुन् । )

–उनीहरू ती हुन् (अपवाद बाहेक) जो बारबार आफ्नो जन्मभूमि भुटान फर्किन चाहान्थे । संसारका विकसित देशहरूले पुनर्वासका लागि ढोका खुल्ला गरेपछि त झन् समग्र माहोल नै यस्तो बन्यो कि उनीहरू जसरी पनि शान्तिपूर्व तवरले भुटान फर्कन मार्चपासमा सहभागी भए । दुःखको कुरा भारत (वेस्ट बंगाल) ले मेचीपुलमा रोकेर हिंसात्मक तबरले उनीहरूमाथि निर्मम प्रहार गरे । केही व्यक्ति सहिद भए । सयौँ हताहत भए । 

–भुटान सरकारको नियत, भारत/पश्चिम बंगाल सरकारको पूर्ण समर्थन र नेपाल सरकारको निरिहताका कारण उनीहरूले स्वदेश फिर्तीको विकल्प नभेटेपछि, वर्षाैंसम्म आफ्नो पितापुर्खाको देशमा शरणार्थी नै बाँच्नु परेपछि अन्ततः उनीहरूले तेस्रो देश विकल्प चुने । स्मरण गराउन चाहन्छु (अपवाद बाहेक) तेस्रो देश पुनर्वासको लागि विकल्प खुल्ला भएको दुई वर्षसम्म पनि ९० प्रतिशतभन्दा बढीले फर्म भरेनन् । उनीहरूको  प्रथम इच्छा भुटान, दोस्रो नेपाल मै सेटलमेन्ट र तेस्रोमा मात्र तेस्रो देश जाने थियो । 

गाँठीकुरा त्यही समयमा तस्करहरूले, टाठाबाँठा भनाउँदा नेपालीहरूबाट लाखौँ पैसा लिएर पहिलापहिला उनीहरूलाई पठाए । अझै पनि धेरै देशमा भुटानी शरणार्थीको रूपमा ती देशमा गएर बसेका कथित नेपालीहरू छन्।

–उनीहरू ती हुन्, जो पानी चुहिने, तारामण्डल देखिने छाप्रामा बस्थे तर हाम्रो घरहरूमा श्रम रोप्थे ।

–उनीहरू ती हुन्, जो शिविरका साँघुरा गल्लीहरूमा हिँड्थे तर हाम्रो देशको दूरदराजमा रहेका गाउँघरमा बाटाभरि ढुंगाहरू बिछ्याउँथे । 

–उनीहरू ती हुन्, जो नेपालको कुनाकन्दरामा रहेका स्कुलहरूमा, आफ्नो पढाइलाई थाँती राखेर अत्यन्तै कम पारिश्रमिकमा दार्जिलिंगे टिचर भएर पढाउँथे ।

–उनीहरू ती हुन्, जो शिविरभित्र नेपाली कला, साहित्य, सँस्कृति आदिका ठूला–ठूला कार्यक्रम गर्थे । 

–उनीहरू ती हुन्, जो आफुहरू निधारमा शरणार्थीको अपमान सहेर पनि बाहिरवाट आएका हामी जस्ता सयौँ स्रष्टाहरूलाई प्रेम, सम्मान सहित खादा पहिरिन्थे । अबिर लगाइदिन्थे ।  

–उनीहरू ती हुन्, जो अभावमा रहे तर त्यति ठूलो शिविरमा आपसी सदभाव र मेलमिलाप सहित बस्न सफल रहे । 

–उनीहरू ती हुन्, जसलाई हामीले सधै (अपवाद वाहेक) शरणार्थी भनेर उपक्षा गरिरह्यौँ । तर उनीहरूले आफूलाई नेपाली भनिरहे, नेपालका ठूला, साना हरेक प्राकृतिक प्रकोपहरूमा मल्हमपट्टी लगाइरहेका छन् । 

–उनीहरू ती हुन्, जसले नेपाली चलचित्रहरूलाई दमक, विर्तामोड आदि क्षेत्रमा सयौँ दिनभन्दा बढी चल्न सफल बनाए । (नोटः उनीहरू तेस्रो स्थानान्तरण भएपछि दमक, विर्तामोडका केही फिल्म हल भत्किए । रहेकोमा पनि चलचित्रका दर्शक ८० प्रतिशतले घटे ।)

–उनीहरू ती हुन्, कुनै समय नेपालका, कलाकारहरू शिविरमा कार्यक्रम गर्न आउँदा लाखौँलाख सहभागी हुन्थे । नाच्थे, गाउँथे, रमाउँथे ।

–उनीहरू ती हुन्, जो आज नेपाली कलाकारहरूलाई सम्मानपूर्वक बाहिरका कार्यक्रमा निम्त्याउँछन् । घुमाउँछन् र धेरैभन्दा धेरै आर्थिक संकलन गरिदिन्छन् । आज नेपालमा पनि धेरैभन्दा धेरै कलाकार उनीहरूको स्रोतले चलेका छन्।

–उनीहरू ती हुन्, जो विदामा (अपवादलाई छोडेर) अन्य देश होइन नेपाल नै आउने योजना बनाउँछन् । जो आफन्तको चिहान हेर्न र नेपाल टेक्न बारबार आइरहन्छन् । 

को हुन् किरण गजमेर ? 

हामी दमक झापाका बासिन्दा हौँ । कला, साहित्य आदिका सम्बन्धले हामी शरणार्थी शिविरसँग नजिक हुँदै गयौँ । प्रायः हरेक शनिबार साहित्यिक, सांगीतिक, आदिका कार्यक्रमहरू हुन्थे । उनीहरूको सृजनशीलता सँगै हाम्रो सृजनशीलता पनि आपसमा अगाडि बढ्दै गयो । उनीहरूसँगैको सहकार्यमा हामीले शिविरभित्र, कला, साहित्य, संगीत आदिका बारेका कार्यशालाहरू आयोजना गर्दै अगाडि बढ्यौँ । त्यही शिलशिलामा खुदुनाबारी शिविरमा हप्तादिने नाट्य कार्यशाला आयोजना भयो । पहिलोचोटि किरणलाई मैले त्यहीँ देखेको भेटेको हुँ । उ लगभग ११, १२ वर्षको थियो । त्यसपछिका नियमित कार्यक्रमहरू उसँग भेट भयो । उनीहरू कहिले साहित्यिक साँझ गर्थे । कहिले नाटक, कहिले नृत्य, कहिले गाउँथे । त्यो बेलाको माहोल नै हो शिविरमा धेरैभन्दा धेरै युवा स्रष्टाहरूको सृजनशील यात्रा प्रारम्भ भएको ।


किरण गजमेर । तस्वीरः गजमेरकाे फेसबुक


प्रायः सबै युवाहरूमा सृजनशीलता यति प्रचुर थियो कि आजसम्म पनि उनीहरूले नेपाली, कला, साहित्य, सँस्कृतिलाई आफू बाँचेको देशमा फैलाई रहेका छन् । किरण सानैदेखि राम्रो गाउँथ्यो, नाच्थ्यो, अभिनय गर्थ्याे । उसको फोटोग्राफी कला पनि एकदम सृजनशील छ । उसलाई प्रकृतिले केही क्षमता दिएको थियो तर त्यसलाई उसले माझ्ने काम निरन्तर गरिह्यो । आज हामी अमेरिकाको सपना देख्छौँ तर ऊ ठिक विपरीत नेपालको सपना देख्छ । याे उसकाे देशप्रतिकाे सम्मान हो । ऊ जन्मिँदै शरणार्थी शिविरमा जन्मियो यो उसको दोष होइन । उसले शरणार्थी शिविर र नेपालप्रति सधै सम्मानको भावले हेरिरह्यो । उसलाई आफू नेपाली हुँ भन्नुमा गर्व छ । नेपालप्रति प्रेम छ, सदभाव छ, आत्मियता छ, उसको सालनाल यहीको माटोमा गाडिएको छ, त्यही भएर यो प्रतियोगितको बहानमा ऊ यहाँ छ । सोसल साइटमा ऊ अमेरिकाको भएकोले गर्दा मात्र यहाँ ल्याइएको हो भन्ने आरोप कुण्ठा सिवाय केही होइन । उनीहरूलाई शिविरले दुःखमात्र होइन मिलेर कसरी बाँच्नु पर्छ भन्ने पनि सिकाएको छ । त्यही संस्कारले भुटानी कम्युनिटीहरूले उनलाई सहयोग गुर्न सामान्य कुरा हो । भुटानी अलावा अरूले पनि उनलाई माया प्रेम गरेकै छन् । पैसाको अर्थ छ तर पैसाको लागि आएको कुरा पनि सत्य होइन ।

एउटा गोप्य कुरा भनौँ, यो प्रतियोगिताका लागि उसले आफ्नो पढाइलाई समेत एकवर्षको लागि त्याग गरेर नेपाल बसिरहेछ । चर्चित र व्यावसायिक त उनी भइसकेका थिए नै । अहिलेको कार्यक्रममा ऊ आउनुको पछाडि उसको मनभित्र बाँचेको नेपालीपनले संसारभरि रहेका नेपालीहरूलाई चिनोस, बुझोस् र त्यहाँसम्म पुग्न सकियोस् भन्ने मोह मुख्य कुरा हो । नागरिकताले नेपाली नभए पनि मनैवाट नेपाली बाँच्नेहरूले नेपाललाई गरेको प्रेमप्रति हामी आभारी हुनुपर्छ । दार्जिलिङ, सिक्किम, भुटान, आसाम, बर्मा वा संसारको जनसुकै भूगोलमा बसे पनि नेपाली, कला–सँस्कृतिलाई कसैले आत्मैबाट प्रेम गर्छन् भने उनीहरू सच्चा नेपाली हुन् । जसले उठेदेखि नसुतेसम्म नेपालकै बारे सोच्छन । नेपालको हरेक गाह्राेसाह्राेमा सहयोग गर्छन् । उनीहरूको नेपालीपन र प्रेममाथि शंका नगर्न अनुरोध गर्छु ।  

कुरा रह्यो प्रतियोगिता र भोटको,
यो नेपाली गायनको एउटा चर्चित प्लेटफर्म हो । यहाँबाट धेरै प्रतिभाहरू बाहिर आएका छन् । यस अर्थमा ठिक छ । यसको आफ्नै स्वार्थ, प्राविधिक पक्ष पनि होलान् तर मलाई सृजनामा, साधनाप्रति विश्वास छ । भोटिङप्रति पटक्कै विश्वास छैन । मलाई मन पर्दैन । मैले कसैलाई दिन्न पनि । मलाई मन नपर्नु मेरो व्यक्तिगत कुरा हो । अर्को कुरा प्रतियोगितामा एक से एक प्रतिभाहरू छन् । सबैले सम्बन्धका कारणले, गायकीको कारणले या आफ्नो रुचिका कारणले अलग-अलग प्रतिभालाई मन पराउनु र भोटिङ गर्नु सामान्य हो । किरण मात्र होइन सबै प्रतिभाशाली छन् । अझ सबैले मन पराएका केही प्रतियोगीहरू मञ्चबाट बाहिरिएका पनि छन् । यही प्रतियोगिता उनीहरू अन्तिम अवसर पनि होइन । रियालीटी सोको सन्दर्भमा अपवाद बाहेक विजेताले होइन अन्यले धेरै प्रगति गरेका छन् । म सबैमा प्रगतीको कामना गर्दछु । मलाई एउटा कुरा चाहिँ खड्किएकै हो । प्रेसर, वातावरण, या बढी अपेक्षा केले हो किरणले जुन स्तरमा गाउनु पर्ने हो र सक्ने हो, त्यो चाहिँ सकेका छैनन् । सम्पूर्ण प्रतिभाहरूमा हार्दिक शुभकामना । मञ्च छाडेपछि शुरू हुन्छ वास्तविक जीवनको दौड । त्यसको लागि तयार रहनुहोला ।

ऊ मिहेनतले यहाँसम्म आएका केही सृजनशील अभ्यासका तस्वीरहरूः





नाट्य कार्यशालाकाे समापनमा कवि, चलचित्र लेखक/निर्देशक उपेन्द्र सुब्बा, लेखक याम थुलुङ तथा प्रकाश आङदेम्बेसँग किरण।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...