प्लेटो विश्व चर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे । प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखि दिएका हुन् । प्लेटोलाई संसार भर प्लेटोको नामबाटै चिनिन्छ ।
प्लेटोले आदर्श राज्यको कल्पना गरेका थिए । उनको आदर्श राज्यमा व्यक्तित्वको तत्व र समाजको वर्गलाई तीन तहमा बाँडेका छन् । (१) विवेक वा ज्ञान जसलाई स्वर्ण तत्व भनेर भनिन्छ । यसले समाजमा ज्ञानीहरूको शासक वर्गको अर्थात् संरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (२) साहस या सौर्य तत्व (रजत तत्व) जसले समाजमा वीर सैनिक वर्गको अर्थात् सहसंरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (३) लोभी वा लालची वर्ग (तमगुण तत्व) को प्रतिनिधि गर्छ । दशौं विषयमा व्याख्या गरेका प्लेटोका विभिन्न विषय क्षेत्र अनुसार उनले बोलेका कुरा प्रेरक छन् कतिपय विषय आफ्नो दैनिकी जिवनसँग सम्बन्धित छन् ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- 'म प्लेटो बोल्दैछु'
१. आफैमाथि विजय पाउनु नै सही विजय हो । अन्यथा विजयको कुनै अर्थ छैन । संसारै विजय गरे पनि अधुरो र अपूरो नै भइन्छ ।
२. विद्वान् र मूर्खमा यही फरक छ । विद्वान्हरू कसैलाई केही दिनका लागि बोल्छन् । उनीहरूका प्रत्येक बोलीले केही न केही दिरहेका हुन्छन् तर मूर्खहरू केबल बोल्नका लागि मात्र बोल्छन् ।
३.बिना प्रेम कसैसँग पनि मित्रता हुँदैन, हुनै सक्दैन । कसैले गरेको छ भने वा गरेको छु भन्छ भने मात्र त्यहाँ अभिनय भइरहेको हुन्छ ।
४. मानिसको व्यवहार तीन कुराले निर्धारण गरेको हुन्छ, जसमा चाहना, भावना र जानकारी पर्छन् ।
५. सोच्नुको अर्थ आत्माले आफैँसित वार्तालाप गर्नु हो । जति बढी आत्माको आफैँसगको वार्ता घनीभूत हुन्छ त्यति नै महत्वपूर्ण कुरा निसृत हुन्छ ।
६. राम्रो व्यवहार नै जीवनको मूलभूत शर्त हो । यसले सर्वप्रथम आफैँलाई शक्तिवान् बनाउँछ । दोस्रो कुरा अरुलाई पनि त्यस्तै गर्न सिकाउँछ । अन्यथा जीवन रुखो, फोस्रो र बेकार हुन पुग्छ ।
७. कुनै पनि राम्रो निर्णय उसको जानकारीमा निर्भर गर्छ, आँकडा र सङ्ख्यामा होइन । जसले जति जानेको छ निर्णय त्यस्तै हुने हो । यहाँ आँकडा र सङ्ख्याको कुनै अर्थ छैन ।
८. भौतिक सम्पत्ति मात्र सम्पत्ति होइन । कम चीजका साथ जिउनु वा जिउन सक्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो ।
९. अघि बढ्ने मानिसमा पछि हट्ने कला पनि हुनुपर्छ । प्रकृतिले यी दुई शक्ति यसैका लागि दिएको हो, जो उसैको साथमा हुन्छ ।
१०. शरीरको चिन्ता गर्नु राम्रो हो, गर्नुपर्छ तर हरेक समय यसैको चिन्ता गर्नु भने राम्रो होइन । किनकि जीवनको सबैभन्दा बढी रोकावट भनेकै यही हो । यहीँबाट रोकावटको अध्याय सुरू हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...