मोहनदास करमचन्द गान्धी (जन्म: २ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्।
बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन्, जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दिएका थिए। जसको संस्कृत भाषामा महात्मा अथवा 'महान आत्मा' एक सम्मान सूचक शब्द हो। उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ।
गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए। सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या गरिएको थियो ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म महात्मा गान्धी बोल्दैछु':
१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३. पुस्तक र मोतीमा यत्ति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
५. पहिला तिनीहरूले बेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हाँस्नेछन्, त्यसपछि लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।
६. तिमीले संसारलाई जस्तो प्रवर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।
७. यसरी बाँच कि तिमी भोलि नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैँभरि बाँच्दैछौ ।
८. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे ऊ सोच्दछ ।
९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।
१०. मेरो अनुमति विना कसैले पनि मलाई पीडा दिन सक्दैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...