टेक लावती

सरकारी सेवा तथा विभिन्न संघसंस्थामा कार्यानुभव रहेका लावती लेखन तथा सम्पादनमा समेत सक्रिय छन् ।

पत्यका विशेष कार्यसमितिको अध्यक्ष हुनुको नाताले वैशाख १३ गते लाओती सयङको महाधिवेशनमा पान्थरको लुम्फाबुङ पुग्नु थियो । योजना अनुसार नै आफ्नै व्यक्तिगत साधनमा ८८ वर्षको बृद्ध मेरो बुबा, जेठो दाइ दिलबहादुर लावती, म र सवारी चालक हामी सबै वैशाख १३ गते लुम्फाबुङमा ११ बजे पुग्याैँ । यात्रामा धरानबाट येहाङ लावती, र यासोकबाट याम लावती (काकाद्वय) हामीसँगै जोडिनु भएको थियो । 

दिनमा अत्यधिक गर्मीका कारण घाम ढल्केपछि लुम्फाबुङको खेलमैदानमा अधिवेशन (खुल्ला सत्र) शुरु भयो । कोरोना भेरिएन्टका कारण त्यही दिन अबेरसम्म बसेरै भएपनि काम सक्ने र भोलिपल्ट आजाद हुने निधो भयो । त्यसकारण रातको १ बजे सम्म बसियो । रातको १० बजेबाट नै निक्कै चिसो महसुस हुँदैथियो । पातलो टिसर्ट मात्र लाएर बसेको मलाई रातको चिसोले ३ घण्टा निचोर्नु सम्म निचोर्यो । सायद केहीदिन पहिलेदेखि नै संक्रमित थिए । पूर्ण संक्रमणको लागि कोभिड दोस्राे लहरको भेरिएन्टले त्यही उपयुक्त मौका पर्खिरहेको थियो । भोलिपल्टबाट जोर्नी, मांसपेशी दुख्न थाल्यो । घाँटीमा पनि सामान्य फरक महसुस हुन थाल्यो । तर मलाई लाग्यो, अब चिसोले भेटेछ ।

रातमा हल्का ज्वरो आएको महसुस भयो । वैशाख १५ गते बिहान उठेर तातो पानीमा नुवाइधुवाइ गरें तरपनि शरीरमा हल्कापन महसुस भएन ।

वैशाख १६ गते बिहानैदेखि लकडाउन शुरू हुँदैछ भन्ने जानकारी पाएपछि ३ः३० बजे नै हामीले लुम्फाबुङबाट भेडेटार सम्मको यात्रा तय गर्यौं । रातको ९ बजे भेडेटार बास बस्न आइपुगियो । होटलमा खाना खायौँ तर मैले खानाको स्वाद लिन सकिनँ । रुघामार्गी लागेको महसुस भएपछि थोरै सेन्तेरेम पिउने काम भयो । त्यसपछि कोठामा जान थोरै सिंढी झर्नुपर्ने, त्यसबखत खुट्टा कम्जोर भएको महसुस भयो । त्यो रात मेरा बुबा थकाईले होला गज्जबले सुत्नु भयो । म भने पटकपटक बिउँझिदै निक्कै मुस्किलले सुतें । रातमा हल्का ज्वरो आएको महसुस भयो । वैशाख १५ गते बिहान उठेर तातो पानीमा नुवाइधुवाइ गरें तरपनि शरीरमा हल्कापन महसुस भएन । बिहान ब्रेकफास्ट खाएपछि Flexon एक चक्की खाए । त्यसपछि मांसपेशी र जोर्नी दुखाई केही कम भएको महसुस भयो । 

हाम्रो गाडी ८ बजे काठमाडाैँको लागि सोझियो । मेरो बुबा, दाइ, ड्राइभर र म मात्र चार जना थियौँ । त्यो दिन हामी हेटौँडा, मकवानपुर गडी हुँदै बेलुका ७ बजे ललितपुर साम्पाङचोक आइपुग्यौँ । म त्यहीं ओर्लिए । त्यहाँबाट अन्दाजी १५० मिटर भित्र घर सम्म पैदल हिँडे । त्यस बखत् मलाई निक्कै गाह्रो महसुस भएको थियो । घर पुगेपछि परिवारसँग कुराकानी भयो । चिसो नै लागेको हो भन्ने ठम्याई भयो । बेलुकी खाना खाइसकेपछि तोरीको तेलले जोर्नी र मांशपेशीहरू मालिस गर्ने काम भयो । दुखाई सामान्य हुन सकेन । Flexon एक चक्की खाए, त्यसपछि त्यो रात बडो मुस्किलले सुताइ भयो । 

वैशाख १६ बाट लकडाउन शुरू भयो । खोकी अस्वाभाविक चल्न थाल्यो । Flexon ले काम गर्ने अवधिभर बाहेक मांसपेशी तथा जोर्नीहरू दुखाइ कम भएन । खानामा रुचि नहुने, सामान्य ज्वरो, स्वासप्रस्वासमा सामान्य समस्या महसुस हुन थालेपछि वैशाख १७ गते PCR परीक्षण गरें । रिजल्ट संक्रमित (Positive) भएको आयो । तरपनि अलिकति मन आतिएन । कोठामै आइसोलेसनमा बस्ने निर्णय भयो । सामान्य रुघाखोकी जस्तै पचाउँछु भन्ने लाग्यो । वैशाख १८ मा Flexon नखाई Paracitamol खाएँ । तर काम गरेन । त्यसपछि वैशाख २० गतेसम्म Flexon नै खाएँ । नियमित रूपमा ल्वाङ, मरिच, अदुवा, टिमुर, र बेसार मिसाएको तातोपानी पिएँ । नियमति रूपले दिनको तीन पटक बाफ लिएँ । धेरै खोकी चल्दा नुन वेसार पानीले घाँटी कुल्ला गरेपछि एकछिन सामान्य हुन्थ्यो । तर घाँटी सेलाएपछि बेलाबेलामा आन्द्रा बटारिने गरि खोकी आउँथ्यो । खोकीले हुरुक्कै हुन्थे, छाती दुख्थ्यो । राति सुत्नु पहिले मरिच र ल्वाङको टुक्रा मुखमा चपाएर सुत्ने गर्थें । त्यसले घाँटीलाई फाइदा गरेको लाग्थ्यो ।

वैशाख २० गते सम्म त कोभिड भेरिन्टलाई मैले नटेरेकै हो । तर नाकले गन्ध थाहा पाउन छोड्यो । खानामा पटकै रुचि हुन छोड्यो । जिब्रोले स्वाद थाहा पाउन छाड्यो । ज्वरोको फ्रिक्वेन्सी बढ्न थाल्यो । Flexon को सेवन पछि पनि १०२/३ सम्म ज्वरोस्थिर हुन थाल्यो । Oximeter ले अक्सिजनको लेवल ९२/९० देखाउन थाल्यो । शरीर झन् शिथिल हुन थाल्यो । तत्पश्चात भने वैशाख २० गते मेसेन्जरमा प्राप्त प्रिस्क्राइब गरिएको (तर डाक्टरको हस्ताक्षर नभएको) निम्न औषधि खरिद गरी ल्याउन लगाएर विक्रेताको सल्लाह अनुसार दुई दिन (वैशाख २० र २१ गते सम्म) सेवन गरें । तर उक्त औषधिले २० को १९ पनि पारेको महसुस गराएन । त्यसपछि ती औषधीहरू सेवन गर्न छोडिदिए । 


ज्वरो नआउनु पर्ने हो । भित्र केही इन्फेक्सन भएपछि आउँछ भन्ने भयो । यस्तो बेला परिवार आफन्त साथीभाइको महत्वपूर्ण भूमिका हुन्छ । अब के गर्ने ? अस्पताल जानुपर्छ भन्ने भयो । केही अस्पतालहरूमा स्थिति बुझियो । तर सम्पर्क भएका सबै अस्पतालहरूमा खचाखच बिरामीहरूको भिड, अवस्था सामान्य नभएको जानकारी भयो । डाक्टरसँग एपोइन्टमेन्ट लिनै नसकिन्ने स्थिति थियो । बी एन्ड बी अस्पतालमा राम्रो सेवा सुविधा छ भन्ने भएपछि त्यहीको चिनेको कर्मचारीको माध्यमबाट बुझ्ने काम भयो । त्यहाँबाट पनि सामान्य बेडहरू कुनै खाली नभएको तर एउटा डिलक्स रोम दैनिक २४ हजार (डा.को वार्ड भिजिट तथा औषधि उपचार वाहेक) रेन्टको मात्र खाली छ थाहा भयो । एक मनले ज्यान भन्दा पैसा ठूलो होइन त्यही जानुपर्ला भन्ने लाग्यो । फेरी अर्को मनले होइन त्यो डिलक्स रोममा राखेर के विशेष उपचार होला ? बरू आइसोलेसनमा मानसिक रोगी मात्र बनाउलान भन्ने लाग्यो । अब के गरौं त ? ठिक त्यही समयमा हङकङबाट भवेन्द्र थाम्सुहाङ (सालो) ले सुमेरु अस्पतालको स्टाफ नर्स पूजा थाम्सुहाङ (भदाइनी) सँग यथाशीघ्र सम्पर्क गरी डाक्टरलाई भेट्नु भन्ने सुझाए । त्यसपछि लगतै पूजासँग सम्पर्क भयो । भाग्यले कोभिड कै लागि भनेर एक हप्ताको लागि सुमेरु अस्पतालमा इएम् खुल्ला गरिएको रहेछ । सामान्य अवस्थामा जस्तो डाक्टरको एपोइन्टमेन्ट लिन सजिलो के हुन्थ्यो र १ पूजा स्टाफ नर्सको प्रयासले बल्ल बैशाख २२ गते बेलुका ५ बजे सुमेरु अस्पतालमा डा.कमल थापासँग एपोइन्टमेन्ट निश्चित भयो । 

वैशाख १४ गतेको मितिले कोभिड शुरू भएको ९ औँ दिन वैशाख २२ गते झनै गाह्रो महसुस भयो । शारीरिक र मानसिक दुवै हिसाबले ज्यादै थाकेको महसुस हुन थाल्यो । पैला सार्न गाह्रो हुन थाल्यो । छोरोले PPE लगाएर अस्पताल ड्रप गरे । एपोइन्टमेन्ट अनुसार बैशाख २२ गते ५ बजे सुमेरुमा डाक्टर कमल राज थापासँग भेट भयो । केहीबेरको कुराकानी पछि उनले तत्काल औषधी झिकाएर छ प्रकारको औषधl एक/एकवटा आफ्नै कार्यकक्षमा खान लगाए । रगत परीक्षण र तत्काल छातीको CT Scan गर्न लगाए । रिपोर्ट खराब आयो भन्ने भयो । निमोनिया पिक स्टेजमा प्रोगेस भइरहेको रिपोर्टले देखायो । यस अवस्थामा विरामी अस्पतालमै वस्नुपर्ने भएपनि अस्पतालमा सबै कोठाहरू अकुपाई भएकोले घरमै व्यवस्थित तबरले आइसोलेसनमा बसेर प्रिस्क्राइब गरेका औषधीहरू  (Pentop-D, Dexona 6mg, Ivermeeton 12mg, Zink-20DT, Vit-C, Zedocef 200mg) दिनको एकपटक एक हप्तासम्म सेवन गर्न डा.ले सुझाए । पूजा स्टाफ नर्सले पनि तत्कालको परिश्थितिमा अस्पताल नबस्न सुझाइन् । त्यसपछि अस्पतालमा बसाइ भएन । 

भोलिपल्ट वैशाख २३ गते नै शरीरका मांसपेशी, जोर्नी दुखाइमा थोरै सहज महसुस भयो । औषधिले काम गर्यो भन्ने लाग्यो । ज्वरो पनि नियन्त्रण भयो । यद्यपि अक्सिजनको तह र्याण्डमली ९० सम्म झर्न खोज्थ्यो । त्यतिखेर ओछ्यानमा घोप्टो परेर सुत्ने, लामो लामो सास तान्ने, फोक्सो फुलाउने प्रयास गर्थे । मांसपेशी जोर्नी दुखाई सामान्य भएपनि खोकी असामान्य रहयो । दिनभरिमा थुक/कफ फाल्न एउटा टिस्यू पेपर रोल नै सकिन्थ्यो । पेपरले सिरानी छेउ राखिएको डस्टपिन नै भरिन्थ्यो । खोकी कम गराउने औषधि सेवन गरे तर कम भएन । त्यसपछि मैले आफ्नै कमनसेन्स प्रयोग गरे । खोकी कम गर्ने नभई खकार निकाली घाँटी सफा गर्ने औषधी सेवन गर्नुपर्छ भन्ने लाग्यो । त्यसको लागि Bronit Cyrup दिनको ३ पटक सेवन गर्न शुरू गरे । नभन्दै यसले खकार फाल्न राम्रो काम गर्यो । घाँटी सफा राख्न विहान दैनिक रुपले नाक सीँ-सीँ गर्ने र खोकी चलाएर सिंगान र खकार फाल्ने गर्थे । त्यसो गर्दा आलो घाउबाट उप्किने लप्टाहरू जस्तै घाँटी र नाकबाट रगत र सिंगान मिस्रित लप्टाहरू निस्किन्थ्यो । निक्कै मुस्किलले १४/१५ दिन काटेपछि अवस्था झन् सामान्य हुँदै गयो । तर शारीरिक अवस्था (शक्ति) भने निक्कै कमजाेर भइसकेको रहेछ ।

धेरैले कोभिडलाई सामान्य रुघा खोकी हो भन्छन् । कसैले थाङनेज्वरो जस्तै हो भन्छन् । त्यस आधारले मेरो फरक अनुभव रहयो । कोभिडले रुघामार्गि जस्तो नाकमा बाक्लो सिंगान बग्ने, घाँटीबाट लतकलतक् खकार आउने हुँदैन । कोभिडले गन्ध थाहा पाउने नाक र स्वाद लिने मुखमा आफ्नै एक प्रकारको गन्ध/स्वाद (मनोवैज्ञानिक?) खडा गर्छ, र त्यो गन्ध/स्वादले प्रत्येक खानपिनको वास्तविक स्वाद/गन्धलाई निषेध गर्ने वा रोक्ने गर्दछ जसले गर्दा खानेकुराको स्वाद/गन्ध केही थाहा नपाउने बनाउँछ ।

आफ्नै फिला र पासुला राम्ररी नियाली हेरें । मांसपेशी सुकेको र छाला फ्याल-फ्याल झुण्डिने भैसकेको रहेछ । आफ्नै शारीरिक अवस्था हेरेर विरक्त लाग्यो । के गर्ने ? यो तरिकाले हुन्न । अब मैले डाइट राम्ररी पेल्नुपर्छ भन्ने लाग्यो । खान मन नलागेपनि खानको लागि मनोवैज्ञानिक रूपले मुखमा स्वाद जगाउन आवश्यक थियो । त्यसपछि खाने परिकारहरू दिमागमा खेलाइ रहे । यूट्यूबमा पनि खोजीखोजी खाने परिकारहरू हेर्ने गरें । पोखरामा सन् २००४ तिर गुरुङसेनी आमाले उहाँको घरमा बस्दा पकाएर दिनुभएको लोकल कुखुरा र राँगाको मासुको सुप र मकैको ढेंडो सम्झे। खान मन लागेपछि व्यवस्था गर्न लगाएर खाएँ । त्यसपछि अदल बदल गर्दै बटाई, लोकल भाले, र बंगुरको खुट्टाको सुपसँग मकैको ढिँडो नियमित रूपमा दैनिक खान थाले । अन्य सागसब्जी साथमा हुन्थ्यो नै । यो लेख तयार गर्दासम्म (जेठ १५) मैले ढिँडो, मासु परिकारको सुप खाइरहेकै छु । शारीरिक रूपमा चाँडो रिकोभर हुन डाक्टरको सल्लाह बमोजिम ८ देखि १२ घण्टा अनिवार्य सुत्ने गरेको छु । तर परिवार अचम्मित छन्, म आफैँ पनि अचम्मित छु । शरीरमा उर्जा भएको महसुस भएको छैन । जेठ १३ (१ महिना पछि) मा डक्टर फलोअपको लागि जाँदा तौल जोखेको ५ कि.लो. कम भएको पाइयो ।    

धेरैले कोभिडलाई सामान्य रुघाखोकी हो भन्छन् । कसैले थाङनेज्वरो जस्तै हो भन्छन् । रुघा खोकी त प्रायः लागिरहेकै हुन्छ । सानो छँदा गाउँघरमा थाङनेज्वरो पनि बेहोरेकै हो । त्यस आधारले मेरो फरक अनुभव रहयो । कोभिडले रुघामार्गी जस्तो नाकमा बाक्लो सिंगान बग्ने, घाँटीबाट लतक्/लतक् खकार आउने हुँदैन । कोभिडले गन्ध थाहा पाउने नाक र स्वाद लिने मुखमा आफ्नै एक प्रकारको गन्ध/स्वाद (मनोवैज्ञानिक?) खडा गर्छ, र त्यो गन्ध/स्वादले प्रत्येक खानपिनको वास्तविक स्वाद/गन्धलाई निषेध गर्ने वा रोक्ने गर्दछ जसले गर्दा खानेकुराको स्वाद/गन्ध केही थाहा नपाउने बनाउँछ । जिब्रोले तितो मात्र (औषधिको कारण पनि हुन सक्छ ?) महसुस गर्छ । खाना खाँदा कोरोना उत्पादित गन्ध ठ्वास्स नाकमा/मुखमा परेको भान हुन्छ । त्यसो भएपछि खान पटक्कै रुचि हुँदैन । मानसिक रूपमा कमजाेर र एकोहोरो बनाउँछ । सपना एकैखाले विचित्रको देखिन्छ । एउटै वस्तु वा इमेज बारम्बार -Stereotype_ दिमागमा खेलिरहन्छ । शरीरको तौल समेत ह्वात्तै घट्छ । स्वास प्रस्वास समस्या हुन्छ । शरीरको तौल घट्छ । जोर्नी तथा मांसपेशीहरू कमजाेर हुन्छन् । ओरालो हिंड्दा खुट्टा थर्रथर्र काम्छ । उकालोमा थोरै हिँडेपनि सास बड्छ । छाती भारी महसुस हुन्छ । यी सब लक्षणहरू रुघामार्गिमा हुँदैन । कोरोना संक्रमणमा बिरामीको स्वास्थ्य अवस्था हेरी ज्वरो आउने र नआउने दुवै हुन्छ । जस्तो मेरो छोरो (१७ वर्ष) जसको बैशाख २२ मा PCR परीक्षण गर्दा संक्रमित रिपोर्टले देखाएको थियो, उसलाई ज्वरो आएन । खानाको स्वाद भने ३/४ दिन हराएको बताएको थियो । खोकी पनि सामान्य लागेको थियो । अन्तमा सामान्य अवस्थामै उसले पचायो ।

एउटै वस्तु वा इमेज वारम्बार -Stereotype_ दिमागमा खेलिरहन्छ । शरीरको तौल समेत ह्वात्तै घट्छ । स्वास प्रस्वास समस्या हुन्छ । शरीरको तौल घट्छ । जोर्नी तथा मांसपेशीहरू कमजाेर हुन्छन् । ओरालो हिँड्दा खुट्टा थर्रथर्र काम्छ । उकालोमा थोरै हिँडेपनि सास बड्छ । छाती भारी महसुस हुन्छ । यी सब लक्षणहरू रुघामार्गिमा हुँदैन । कोरोना संक्रमणमा विरामीको स्वास्थ्य अवस्था हेरी ज्वरो आउने र नआउने दुवै हुन्छ ।

संक्रमणको विषयमा म काहाँबाट संक्रमित भए पत्तै भएन । म बाट कति संक्रमित भए त्यो पनि थाहा भएन । तर म ढलेको केही दिनपछि वम लावती (काका), र विजयवोध लावती (भाइ) दुवै संक्रमित हुन पुगे भन्ने थाहा भयो । महाधिवेशनमा उहाँहरूसँग सामान्य भेटघाट सँगै बसाइँ त भएकै हो । त्यस हिसाबले मबाटै संक्रमित भएको हुन सक्छन् । अचम्म चाहिँ मैले हात डोर्याई हिँडेको मेरो बुबा सँगसँगै गाडीमा बसेको काकाहरू संक्रमित भएनन् । किन यस्तो भयो ? मैले यो विषयमा डाक्टरसँग पनि प्रश्न राखेको थिए । डाक्टरले कोभिड विरुद्धको भ्याक्सिन लिएका होलान् भने । मैले मेरो बुबाले त लिनु भएको हो । अरूको थाहा भएन भने । त्यसपछि डक्टरले संक्रमित नहुने कारण त्यै हुनसक्छ । अहिले कोभिड विरुद्धको भ्यासिनले त्यस्तो रिजल्ट देखाइरहेछ भने । परिवारमा छोरो र बहिनी संक्रमित भए । तर मबाटै संक्रमित भए भन्न सक्ने आधार भएन । परिवारमा अरु श्रीमती, छोरी र साली तीनैजनालाई संक्रमण भएन । धेरै कुराहरू निरुत्तरित छन् । 

कोभिड संक्रमणको समयमा पारिवारीक केयर महत्वपूर्ण हुन्छ । संक्रमणको डरले भाग्ने वा दूरी कायम गरेर टाढै बस्ने कार्यले धेरै पक्ष अव्यवस्थित हुन सक्छ । तोकिएको समयमा औषधि सेवन छुट्न सक्छ । परिवारकै केयरमा जेठको १५ सम्म ठिक बिहान ६ र ९ बजे मैले औषधि सेवन गरे । बिरामीको स्वास्थ्य स्थिति गम्भीर छ भने ज्वरो नियन्त्रण वा अक्सिजन सन्तुलनमा राख्ने कार्य परिवारको केयरमा मात्र सम्भव हुन्छ । मेरो परिवारका सदस्यले केयर गर्नमा कुनै कमी गरेनन् । दिनमा तीन पटक कोठा/बेडहरू, बाथरुम, ट्वाइलेटहरू स्यानीटाइजरले स्प्रे गर्ने काम गरे । पञ्जा र मास्क अनिवार्य लगाएर के-के खान मन पर्ने हो, त्यै त्यै ल्याएर पकाएर पर्याप्त मात्रामा खाने कुरा म सुत्ने कोठामै सर्भ गरे । दाजु र बहिनीले घरमा आएर के गर्ने, कसो गर्ने सल्लाह दिन्थे । भवितव्यका लागि अक्सिजनको समेत व्यवस्था गरे । के खान मन पर्छ त्यो ल्याइ दिन्थे । स्टाफ नर्स पूजा भदाईनीले रक्त परीक्षणको लागि कोठा सम्म रगतको संकलक पठाउने व्यवस्था गर्थिन् । रिपोर्ट आएपछि डक्टरसँग बुझेर औषधि थप्ने घटाउने सबै काम गरिन् । उनले फुपूलाई फोन गरेर स्वास्थ्य सम्वन्धी के कसो गर्ने सल्लाह दिने गर्थिन् । शुभेच्छा प्रकट गर्ने साथीभाइहरूको स्वास्थ्यलाभको कामनाले पनि मनोवैज्ञानलाई उर्जा दिने रहेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

टेक लावती

लेखकबाट थप...