महेश श्रेष्ठ

हरेकसँग अनुभव छ, एक्लै बस्दा र अरू मानिसका अगाडि हाम्रो स्वभावमा केही फेरबदल हुन्छ। एक्लै बस्दा हामी मनको आवाज सुन्छौँ। भावनात्मक रूपमा निक्कै स्वतन्त्र महसुस गर्छौं। हामी जे हौँ, त्यस्तै हुन्छौँ। अर्को अर्थमा, मनोभावनात्मक रूपमा कुनै आवरणरहित निर्वस्त्र हुन्छौँ। तर समाजको अगाडि हामी अर्कै प्राणी बन्छौँ।

समाजसामु हाम्रो प्राकृतिक व्यक्तित्व हराउँछ। मनको आवाजलाई सामाजिक स्वीकार्यको भावले पूर्णरूपमा विस्थापित गरिदिन्छ। त्यसैले समाजमा हामी स्वतन्त्र नभई शिष्ट बन्छौँ। हामीले आफ्नो प्राकृतिक व्यक्तित्वलाई बाहिरी आवरणले छोप्छौँ। भन्नुको अर्थ, मानिसको व्यक्तित्वका दुई आयाम छन्। पहिलो, प्राकृतिक व्यक्तित्व, जुन नितान्त निजात्मक छ। अर्को, सामाजिक छवि, जुन सामाजिक मूल्य मान्यताबाट निर्मित छ।

मानिसको द्वैध चरित्रलाई आधार मानेर अमेरिकी मनोवैज्ञानिक कार्ल रोजर्सले प्रतिपादन गरेको सिद्धान्त निक्कै चर्चित छ। उनले व्यक्तित्वका दुई आयाममध्ये पहिलोलाई ‘सेल्फ इमेज’ नाम दिएका छन्। बाहिर मानिस कस्तो बन्ने चाहना राख्छ भन्नेलाई ‘आइडल सेल्फ’ नाम दिएका छन्। 

उनका अनुसार, मानिस कस्तो छ र कस्तो बन्न चाहन्छ भन्ने विषयमा जति मात्रामा भिन्नता हुन्छ, उति मात्रामा मानसिक व्याकुलता हुन्छ। र जति मात्रामा एकरूपता हुन्छ, उति मात्रामा मानसिक आनन्द हुन्छ। उनले यी दुई आयाममा भिन्नता हुनुलाई ‘इनकंगुरेन्स्’ र एकरूपता हुनुलाई ‘कंगुरेन्स्’ नामकरण गरेका छन्।

समाजका अगाडि हामीले हाम्रो व्यक्तित्वका धेरै आयाम लुकाएको हुन्छौँ भन्नेमा चर्चित मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले पनि समर्थन जनाएका छन्। उनले मानिसको मनलाई पूर्वचेतन, चेतन र अचेतन गरी तीन भागमा विभाजन गरेका छन्। पूर्वचेतन मनचाहिँ चेतन र अचेतन मनबीचको पुल हो, जसले अचेतन मनमा दबिएर नरहेका र चेतन मनमा नभएका कुराहरू समेटेका हुन्छन्। ती भविष्यमा चेतन मनमा सर्नसक्ने सम्भावना रहन्छ। 

चेतन मनले सम्झना, विचार, मनोभावना, चाहनालाई समेट्छ। हामीलाई पीडाबोध हुने सम्झना, लाजबोध गराउने वा समाजले पचाउन नसक्ने बानी, विचार, मनोभावना, इच्छा आदि विषय, जुन व्यक्त गर्न नसक्नाले मनमा दबेर बसेका हुन्छन्, अचेतन मनले समेट्छ। फ्रायडका अनुसार मानिसको चेतन र अचेतन मनबीच द्वन्द्व भइरहेको हुन्छ।

मानिसको ‘मन’लाई बुझ्न जीवनको लामो कालखण्ड लगानी गरेका मानिसहरू के कुरामा एकमत छन् भने, कसैको स्वभाव र उसको सामाजिक छविबीच अन्तरसंघर्ष भइरहने हुनाले जोकोही मनोद्वन्द्वको सिकार हुन्छन्। यहीकारण उनीहरूले व्याकुलताका साथ जीवन निर्वाह गर्नुपर्ने हुन्छ।

हामी किन यस्तो मनोदशामा छौँ त? समाजका हरेक मानिसले देखावटी छवि बनाएर आफैँले आफैँलाई तथा अरूलाई पनि झुक्क्याएका छन्। अनि, आफू पनि अरूको झुटो छवि देखेर झुक्किएका छन्। 

स्वयंबारे बनाएको छवि
बाहिरी जगतमा हुने अरूसँगको द्वन्द्वभन्दा मनभित्रको अन्तर्द्वन्द्व निकै घातक हुन्छ। शत्रुसँगको द्वन्द्वमा साथी र सहयोगीले आँट-भरोसा दिन सक्छन्। तर मनभित्रको अन्तर्द्वन्द्वमा कोसँग सहयोग माग्ने! यस्तो अवस्थामा मानिस लाचार बन्नसक्छ र त्यस किसिमको लाचारीले कष्ट निम्त्याउँछ।

सामाजिक छविका सन्दर्भमा अरू पनि मनोवैज्ञानिक आयाम छन्, जसले मानिसको मनलाई व्याकुल बनाउँछ। हरेक मानिसमा अरूले राम्रो व्यवहार गरिदेओस् भन्ने लालसा हुन्छ। यही लालसाले हामी अरूको नजरमा जाति बन्ने चक्करमा हुन्छौँ। अरूलाई भ्रममा पार्न आफ्नो झुटमुटको छवि बनाउँछौँ। 

सामाजिक छवि राम्रो बनाउन हामी आजीवन मिहिनेत गर्छौं। यसरी जिन्दगीभर मलजल गरेको छविप्रति मानिस आशक्त भई नै हाल्छ। त्यही आशक्तिका कारण अरू कसैले हाम्रोबारे निर्माण गरेको छवि हाम्रो सोच अनुकूल भयो भने खुशी हुन्छौँ र प्रतिकूल भयो भने मर्माहत हुन्छौँ।

जति नै प्रयत्न गरे पनि अरूले हाम्रोबारे बनाउने छवि अर्को पक्षको सोचमा भर पर्छ। त्यसकारण अनेक मानिसले हाम्रो छवि अनेक बनाउँछन् र नकारात्मक पनि हुनसक्छन्। तत् अनुरूपको व्यवहार गर्न सक्छन्। यसरी छविमा बारम्बार आँच आइरहने हुन्छ, हामी बारम्बार दुखी भइरहेका हुन्छौँ।

अरूबारे बनाएको छवि
हामीले आफ्नो छवि निर्माणमा प्रयत्न गर्ने मात्र होइन, अरूबारे पनि छवि बनाएका हुन्छौँ। त्यो दुःखको अर्को कारण हो। यो सन्दर्भमा एउटा उदाहरण लिऊँ। 

कसैले १० वर्षअगाडि दुई जना फरक प्रकारका मानिस भेटेको थियो। एउटा देख्नमा सन्त थियो र अर्को झगडालु। १० वर्षको अन्तरालमा सन्त देखिने मानिसको संगत नकारात्मक स्वभाव भएकाहरूसँग भयो। उसको स्वभावमा पनि बिस्तारै नकारात्मक हुँदै गयो। झगडालु स्वभावको मानिस ध्यान कर्म गरेर सन्त भयो।

१० वर्षपछि ती दुई साथी भेट्दा उसको धारणा पहिलाको जस्तै हुन्छ। र, ऊ निश्चय नै गलत हुन्छ। हामीमध्ये अधिकांशले आजसम्म यही गल्ती दोहर्‍याउँदै आएका छौँ। १० वर्ष त निक्कै लामो समय हो, मानिस छोटो समयमै बदलिन सक्छ। वास्तवमा हामीले अनेक मानिसबारे छवि बनाउँदै गर्दा आफैँ पनि भ्रममा बाँच्दै आएका हुन्छौँ। 

हाम्रो अहंकार हो, हामी आफैँलाई झुट साबित गर्न सक्दैनौँ। त्यसैले हामी हाम्रो धारणा सत्य मानेर हिँड्छौँ। अरूबारे बनाएको छवि हाम्रा लागि यति महत्त्वका हुन्छन् कि, हामीले कसैलाई प्रेम वा घृणा गर्दैनौँ। कुनै कुरालाई प्रेम वा घृणा गर्छौं भने, त्यो अर्को मानिसको सन्दर्भमा हामीले निर्माण गरेको छविलाई गर्छौं। त्यसैले, कोहीप्रतिको धारणा फेरबदल भयो भने, हामी प्रेम गरेकालाई घृणा र घृणा गरेकालाई प्रेम गर्न थाल्छौँ। 

जब हामीले अरूबारे बनाएको छवि गलत साबित हुन्छ, तब झुटो ठहर्छौं। आफू गलत थिएँ भन्ने भावले हाम्रो अहंकारमा चोट लाग्छ। सामाजिक छवि कृत्रिम भएको सन्दर्भमा कुनै पनि बेला जो कोहीको साँचो अनुहार बाहिर आउन कत्ति पनि बेर लाग्दैन। 

चारित्रिक रूपमा कमजोर भएर नैतिकवान् देखिने मानिसको जगजगी भएको जगतमा बारम्बार हामीले अर्काको बारे बनाएको छवि भत्कने हुन्छ, हामी व्याकुल भइहाल्छौँ। झन् आत्मीय मानिसबारे हामीले बनाएको छविमा दाग लाग्छ भने त मानसिक आघात नै पुग्नसक्छ।

आफ्नो र अरूबारे छवि बनाउन बन्द गर्नुहोस् 
प्राकृतिक रूपमा मानिस पनि जनावर हो। तर, अरू जनावरभन्दा मानसिक क्षमता यति धेरै हुन्छ कि, उसले आफूभित्रको ‘जंगलीपना’लाई दबाएर राख्नसक्छ। त्यही जंगलीपना समाजको अगाडि उदांगो नहोस् भनेर प्रतिरक्षाको रूपमा मानिसले आफ्नो सामाजिक छवि बनाउने हो। वास्तविक स्वभावलाई दबाउने हो। आजसम्म हामीमध्ये धेरैले बाँचेको जीवनशैली पनि यस्तै हो।

तर केही मानिस, जसले चित्तको स्वभावलाई गहिराइमा बुझे, जसले अध्यात्मको शिखर चुमेर आनन्दको जीवन बाँचे, तिनले जिउने सन्दर्भमा अरूको वास्ता गरेनन्। ‘मैले यसो गरेँ भने अरूले के भन्लान्’ भनेर जिउने मानिसहरूको जीवनमा दुःख मात्रै हात लाग्छ। तसर्थ, हामीभित्रको जंगलीपनालाई अंकुश लगाउन सामाजिक मान्यतालाई नभई स्वचेतनालाई महत्त्व दिनुपर्छ। सामाजिक बन्ने होडमा लाग्नुको साटो स्वचेतनाको अभिवृद्धि गर्नतिर लाग्नुपर्छ। 

मानिसको व्यक्तित्व निरन्तर परिवर्तनकामी हुन्छ। कसैको बारे बनाएको छवि पुरानो सम्झनामा आधारित छ भने वर्तमान परिवेशमा न सान्दर्भिक हुन्छ, न त सत्य नै। त्यसैले कोही कसैको छवि निर्माण गर्नु गलत हुन्छ। सन्त देखिने मानिसको चरित्र ‘सैतान’ हुनसक्छ। त्यसैले, जो कोहीलाई जति नै पटक भेट्दा पनि पहिलोचोटि भेट्दाजस्तो तटस्थ भएर बुझ्न सकिँदैन। 

सिक्काको दुई पाटाझैँ जब हामी आफ्नो छवि बनाउन छाड्छौँ र स्वतःस्फूर्त रूपमा अरूको छवि पनि बनाउन छाड्दै जान्छौँ। यसरी, अरूको छवि बनाउन छोड्दा कसैबाट अपेक्षा हुँदैन। दुखी पनि हुनुपर्दैन। सबैसँग भेदभावरहित समान व्यवहार गर्न सक्ने बन्छौँ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।