आजभोलि बजारका गल्लीगल्लीमा माइकिङ गरेर बसेका देखिन्छन्, मिर्गौला पीडित, क्यान्सर रोगी, मुटु रोगीहरू । ती हरेकलाई उत्तिकै पीडा छ । उत्तिकै अभाव छ । जीवनको मूल्य हरेक प्राणीलाई उत्ति नै हो । मुलुक यस्तो बनिसक्यो कि कुनै एक दीर्घरोग लाग्नु भनेको आशैआशमा घरबार, जायजेथा सबै सकेर पनि अन्त्यमा प्राण त्याग्नुपर्छ । यो हरेक नेपालीको बाध्यता भइसकेको छ । राज्यले के दिएको छ, त्यतातिर नजाऊँ ।
स्वास्थ्य र शिक्षा यहाँ सबैभन्दा सुरक्षित कमाऊ धन्दा भएका छन् । बाटोबाटोमा गुन्जिने ती माइकका पीडा, युट्युब र फेसबुकहरूमा देखिने पिडाका कथा, फलानो बचाऔँ अभियानहरू अनगिन्ती छन् । जति नहेरौँ, जति नसुनौँ उतिउति आँखाआँखामा आउँछन् । कानकानमा आउँछन् । दुईचार दिनअघिकाे एउटा प्रसङ्ग- युकेबाट एउटा म्यासेज टिङ्ग आवाज गर्दै उफ्रन्छ मोबाइलमा । हेर्छु- शक्ति लिम्बू बचाऔँ अभियान ।
बैंक खाता नम्बरसहितको म्यासेजको अन्तिममा दिइएको मोबाइल नम्बर डायल गर्छु, फोन रिसिभ हुँदैन । दोस्रो कलमा फोन काटिन्छ । म मोबाइल खल्तीमा राखेर पढाउन छिर्छु । दिउँसो उही नम्बरबाट कल आउँछ । उठाएर प्रश्न सोध्न थाल्छु । मानौँ म कुनै परीक्षार्थीकाे भाइभा लिइरहेको छु । तपाईंको नाम ? ठेगाना ? बाबुलाई के भएको ? अहिले कति महिनाको भएको रे ? उसको आमा के भएर बितेको ? प्रश्नैप्रश्न तेर्स्याउँछु । निःसन्देह एकएक प्रश्नका जवाफ आउँछन् ।
हामी नेपाली यति भावुक र दयालु छौँ कि बिरामी बितेको वर्षौं बितिसक्छ, सोधखोज नगरी फेसबुकमा सहयोगको पोस्ट शेयर हानिरहेका हुन्छौँ । दुर्घटनामा परेको बिरामीलाई AB+ रगत इमर्जेन्सी चाहियो भन्ने पोस्ट आउँछ । एक पौण्ड रगत म दिन पर्यो भनेर कल गरेँ । कल निषेध गरिएको रहेछ । अनि पोस्ट हेरेको एक वर्ष पुरानो रहेछ । शेयरचाहिँ तीन मिनट अगाडि भएको रहेछ । त्यसदिन देखि म यस्तो प्रश्न सोध्ने भएको हुँ ।
म्यासेन्जरमा दिइएको जानकारी मुताबिकको सबै जानकारी साँचो रहेछ । तब मनमा आँधी आयो । गल्लीगल्लीमा सुनिएका मिर्गौला पीडितहरू । सामाजिक सञ्जालमा देखिएका फलानो बचाऔँ अभियानहरूले भन्दा अलग गहिराइमा छोयो घटनाले । यसो भनिरहँदा अन्यलाई कम मानेको होइन, जीवन सबैलाई प्यारो छ । तर जन्मिएर दुई महिनामा आमा गुमाएका एक अबोध बालक जो अहिले ब्लड क्यान्सर जस्तो गम्भीर रोगसँग लडिरहेकाे छ । सुन्दा एक झड्को लाग्नु स्वाभाविक थियो । हो, उनै अबोध बालक शक्ति लिम्बूका बुबा दिलीपलाई भेट्न पुग्छु । थानकोट, गुर्जुधारा हाल यातायात कार्यालय रहेको भन्दा केही माथि गैरीमा बङगुर फार्मभित्रकाे एक झुपडीमा । पाँचथर जिल्ला आङसराङ गाउँका दिलीप आङदेम्बे गीत सङ्गीत गाउने तथा गाउँमै काठ मिस्त्रीको काम गर्ने रहेछन् । दुई छोरीका आमाबुवा दिलीप दम्पतीको तेस्रो सन्ताका रूपमा जब शक्तिको जन्म भयो, परिवारमा स्वभावतः खुसीका लहरहरू छाए । तर दिलीप दम्पतीको त्यो खुसी लामो समय टिक्न पाएन । छोराको जन्मको दुई महिना नबित्दै ती अबोध बालकलाई उनको आमाले सधैँका लागि छोडेर गइन् ।
गाउँघरमा मृत्युको कारण नै त पत्ता लागेन तथापि उच्च रक्तचाप हुन सक्ने अनुमान गरिएछ । दुई महिनादेखिका आमाविहीन बालक अहिले २५ महिनाका भए । २२ महिनाको हुँदा उनलाई ब्लड क्यान्सर प्रमाणित भएको रहेछ । अहिले कान्ति बाल अस्पतालमा किमो फेज थ्री गराई रहेका छन् । किमो थाम्न नसकेर बच्चा बेहोस हुने रहेछ । फेरि आइसियु पठाउ, फेरि किमो दिन लग ! यसको उपचार पद्धति नै यही रहेछ । दिलीप सुनाउँछन् – “मेरो बाबु भन्दा स्वस्थ बच्चाहरू आँखै अगाडी सर्लक्क बित्छन् । त्यो देख्दा साह्रै पीडा हुन्छ ।” कुराकानीकै क्रममा उनी थप्छन्- “दुःख पीडा त पहिरो जस्तो रहेछ । एकपटक एक ठाउँमा बगेपछि वरिपरिका धेरै ढुङगामाटो, बोटबिरुवा बगाइरहने रहेछ पटकपटक । मेरो जिन्दगी त्यसरी नै बग्दैछ । सम्झन्छु घरीघरी हाँसो पनि लाग्छ ।” उनी लामो हाँसो तान्छन् । तर, हाँसोमा स्पष्ट झल्कन्छ उनका पिडाहरू ।
आफ्नो जीवन सङ्गिनी गुमाउनको पीडा । आफ्नो कामधन्दा जायजेथा सम्पूर्ण त्यागेर अहिले नाबालक छोराको जीवन रक्षार्थ संघर्ष गर्नु परिरहेको पीडा । भनिन्छ, सन्तानको माया सन्तान हुनेहरूले मात्र महसुस गर्न सक्छन् । सन्तान गुमाउनुको पीडा संसारका पीडाहरू मध्येको एउटा ठूलो पीडा हो । यी लाइनहरू यसरी लेख्ने आत्मविश्वास पंक्तिकार सन्तानको सुखपछि महसुस भएको हो भन्दा अत्युक्ति नहोला । त्यसैले पनि हाेला, दिलीप लिम्बूसँगको त्यो एक घण्टाको बसाइँ र कुराकानीपश्चात् केही नलेखी रहन सकिनँ ।
पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भो उपत्यका समितिद्वारा संकलित सहयोग रकम हस्तान्तरण गर्न संस्थाका उपाध्यक्ष एबिराज आङदेम्बे तथा सचिव देशराज आङदेम्बे लगायत उनकाे बासस्थान पुगेका थियौँ । परिस्थिति र बाध्यताले यस ठाउँसम्म खुम्च्याएको मलीन अनुहारमा आशाका त्यान्द्रोहरू तन्काउँदै उनले सुनाए, "बाबुको स्वास्थ्य पहिलेभन्दा राम्रो भएको हो, यो महसुस हामीले पनि गर्यौँ ।"थप सहयोगी मनहरू समक्ष यो समाचार पुर्याइदिने वचन दिँदै हामी फर्कियौँ । मनकारी दाजुभाइ, दिदीबहिनी कोही यो पढ्दै हुनुहुन्छ भने दिलीप लिम्बूको थप जानकारी यसप्रकार छ । नाम : दिलीप आङ्देम्बे । हिमालय बैंकः 00210243620017 (DILIP KUMAR ANGDEMBE) मोबाइल नम्बरः 9815918084
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...