स्वस्थानी कार्की पुस्तक, चित्र, सङ्गीतको लसपसमा रमिरहेकी छन् । साहित्य सृजना, चित्र लेखन र गायनमा साधनारत स्वस्थानीले काठमाडौँ मोडल कलेजबाट प्लस टु सकेकी हुन् ।  हाल उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत छिन् ।

प्रस्तुत छ; द मार्जिनको शुक्रबारीय अङ्क ‘पुस्तक वार्ता’ लागि राजु झल्लु प्रसादले तयार पारेका सामाग्री: स्वस्थानीसँग ‘पुस्तक वार्ता’ 

चार्ली च्याप्लिनको एउटा भनाइ निकै घत पर्छ मलाई । उनी भन्छन्- “कला जगतलाई सम्बोधन गरिएको प्रेमपत्र हो।” तपाईँ के भन्नुहुन्छ ? कला के हो ? 

मेरो विचारमा कला भन्नु भावनाको गतिलो अभिव्यक्ति हो । यदि कसैले आफ्ना मनोभावहरूलाई आकार दिन खोज्छ भने त्यहाँ कलाको जन्म हुन्छ । शाब्दीक सहयोग लिए कथा, कविता वा कुनै लेख बन्ला । रङ्गहरूको सहायता लिए पेन्टिङ बन्ला र यदि वाध्यवादनको सहायता लिए कुनै धुनको‌ सृजना होला । सोहीकारण मेरो लागि, कला भन्नु जीवनको त्यो अभिन्न अङ्ग हो, जसले वर्णनातीत भावनालाई समेत न्याय दिने सामर्थ्य राख्दछ । 

साहित्य चाहिं ? 

साहित्य भनिरहँदा कहिल्यै पनि मेरो मगजमा काव्य, नाटक, कथा वा उपन्यास मात्र आउँदैन । बरु ती हरेक रचनाहरू साहित्य हुन्, जो कुनै सर्जकको हृदयको बाटो हुँदै आएको छ । कसैको लेखन, कसैको वाणी वा कुनै चलचित्र... हृदय स्पर्श गर्न सक्ने र मस्तिष्कमा विचारका छाल ल्याउन सक्ने सम्पूर्ण चिज साहित्य हो । 

र, पुस्तक ?

पुस्तक के हो भनेर कसरी भनौँ? जसरी ईश्वरका अनेक रूप छन्, त्यसैगरी पुस्तकका पनि अनेक रूप छन् । कहिले पुस्तक साथी हो,‌ कहिले नछुट्ने लत हो र कहिले यो एक प्रकारको जादु हो । यस्तो जादु जसले मानव विचार र भावनालाई एउटा नयाँ आयाम दिन सक्छ । पढुन्जेलको लागि नयाँ युग र संसार पनि दिन सक्छ । यस अर्थमा‌ पुस्तक एउटा ‘टाइम मेसिन’ पनि हो । पुस्तकलाई बयान गर्न मिल्ने अरू थुप्रै तरिका छन् । समग्रमा भन्नु पर्दा पुस्तक कलाको एक उत्कृष्ट उदाहरण हो । 

पुस्तकसँग तपाईँको प्रथम साक्षात्कार कसरी हुन पुग्यो ? 

हुन त पुस्तकसँग प्रथमपटक मेरो भेट घरमा ड्याडीले 'अल‌ इन् वान्' नाम गरेको किताब ल्याउँदा भएको रे, तर पाठ्यक्रम बाहेकको पुस्तकसँग भने पहिलोपल्ट पाँच कक्षामा 'शिशिर र रुद्राक्ष' नामक बाल उपन्यास पढेपछि भएको थियो । त्यतिबेला सानै थिएँ र पाठ्यक्रमकै किताबहरूमा हराएँ । त्यसकारण पनि 'शिशिर र रुद्राक्ष' मेरो लागि त्यो पहिलो चुरोटको सर्को जस्तै भयो, जसले लत लगाउन सकेन। धेरै वर्षपछि जब 'राधा' उपन्यास पढेँ, तब मेरा सोचाईमा‌ परिवर्तन आए र ‘लहरोले पहरो ताने’ सरी म पाठ्यक्रम भन्दा बाहिरका किताबमा तानिँदै गएँ । 

पढाइको विकल्प ‘पढाइ’बाहेक अर्को थोक छैन भन्दै गर्दा पढाइको औचित्य कसरी स्थापित गर्नुहुन्छ?

हो, पढाइको विकल्प पढाइ बाहेक अर्को थोक छैन र हुन पनि सक्दैन । पढाइ भन्नु केवल अक्षरहरू उच्चारण गर्नु वा तिनलाई मनन गर्नु मात्र होइन । हामीले पढ्दै गर्दा, आफ्ना मगजमा चित्र कोर्छौँ, दृश्य देख्छौँ, आवाज सुन्छौँ, अनुमान लगाउँछौँ, गीत गाउँछौँ । त्यस्तै गरी कहिले तर्सन्छौँ, कहिले घोर्रीरहन्छौँ..। हाँस्छौँ, रुन्छौँ, रिसाउँछौँ र यो सबै केवल हातमा पुस्तक लिएर थपक्क बसिरहँदा हुने कुराहरू हुन् । आवाज नभई सुन्नु, दृश्य नभई देख्नु अनि थाहा पाउनु... यो पढेर बाहेक अरू केही गरेर पनि सम्भव छैन ।

मेरा धेरै मित्रहरू हुनुहुन्छ- जसलाई अडियो बुक र फिल्महरूमा, पुस्तकहरूमा भन्दा धेरै विश्वास छ तर के अडियो बुकमा हामी अलगअलग पात्रहरू अलगअलग शैलीमा बोलेको सुन्न पाउँछौ? के फिल्ममा हामी निर्देशकले जस्तो चाहे त्यस्तै देख्दैनौँ? तर किताब? किताब पढ्दा तपाईँहरू एकैपल्ट निर्देशक, गायक, नर्तक,‌चित्रकार, आलोचक र अन्य कैयौँ थोक बन्न सक्नु हुन्छ । 

मानिसहरूको समय र जीवन भूमिका वर्गीकृत छ । सामान्य जीविकोपार्जन र अनेकौँ प्रविधि इत्यादिले समय खाइरहेको सन्दर्भमा तपाईँले कसरी ‘म्यानेज’ गर्नुहुन्छ पढ्ने समय?

म एकदमै स्लो रिडर हुँ । यसमा प्रविधि र अन्य कामको भूमिका त छँदै छ, त्यसबाहेक म आफैँलाई पनि छिटो-छिटो पढ्न मन लाग्दैन । किताब भ्याउनकै लागि पढ्ने हो भने दिनको केही समय र रातको केही निन्द्रा कटाएर पढ्न सकिन्छ तर मेरो लागि चाहिँ पढ्नु भनेको सुत्ने बेलामा वार्मलाइट बालेर क्लासिकल गीतसँगै एक ग्लास वाइन पिउनु सहर हो । बिना कुनै जबरजस्ती, बिना कुनै हतार, बिना कुनै तनाव । त्यसैले म एकै दिनमा धेरै पढ्दिन । ३०/४० पृष्ठ पढेपछि मलाई किताबी नशा चढ्छ अनि बन्द गर्छु । त्यसैले 'म्यानेज' भनेर तालिका बनाइरहन आवश्यक ठान्दिन । 

पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? 

सुरुसुरुमा पुस्तक पढ्दा लाग्थ्यो नराम्रो पुस्तक भन्ने कुनै चिज हुँदैन, त्यसैले हात परेका सबै पुस्तक पढ्थेँ तर पछि एक दुईवटा पुस्तकले वैचारिक र भावनात्मक तनाव दिन थाले पछि भने, पुस्तक पढिरहने साथीहरू र अग्रजहरूसँग रिभ्यू लिएर पढ्न थालेँ । अहिले पनि त्यसै गर्छु र तीनले प्राय निराश पार्दैनन् पनि । कहिलेकाहीँ पुस्तक पसल छेउबाट हिँडिरहँदा कुनै एकदमै लोभ्याउने जस्तो पुस्तक देखियो भने चाहिँ मनको आवाज सुनेर किनिहाल्छु । 

पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू? 

छापिएका पुस्तकहरूको सङ्ख्या यदि महासागर हो भने मैले त्यसको एक थोपा पनि पढिसकेकी छैन । जति पढेकी छु त्यसबाट साह्रै मन परेका पुस्तकहरू चाहिँ,

 १. खलिल जिब्रानको 'द प्रोफेट'

 २. हर्मन हेस्सेको ' सिद्धार्थ'

 ३. पारिजातको 'परिभाषित आँखाहरू'

 ४. अमर न्यौपानेको 'पानीको घाम'

 ५. तसरिमा नसरिनको 'प्यासभित्रको विद्रोह'

 ६. माधव प्रसाद घिमिरेको 'गौरी' 

 ७. कृष्ण धरावासीको 'राधा' 

 तपाईँको ‘प्रिय पुस्तकहरू’को सूची शाश्वत एवं सनातन छन्? छन् भने ती कुन–कुन हुन्?

मेरा प्रिय पुस्तकहरूको सूची आफैँमा शाश्वत एवं सनातन त छैनन् तर सनातन पुस्तकहरूका बारेमा लेखिएका भने अवश्य छन् । त्यसमा 'चीरहरण', 'योगमाया', 'द प्यालेस अफ इलुजन' 'गितासार' 'राधा' 'सिद्धार्थ' जस्ता पुस्तकहरू पर्छन् । 

सूचना र जानकारीको बमवर्षा भइरहेको वर्तमान समयमा उपयुक्त पठन सामाग्री फेला पार्नु निकै चुनौतीपूर्ण छ । पुस्तकबाहेक तपाईँको पठन सामग्रीका स्रोतहरू के–के हुन् ? ती स्रोतहरूप्रति तपाईँको विश्वसनीयता कसरी बढ्यो?

मैले आफ्नो अनुभवले पत्ता लगाएको एउटा महत्त्वपूर्ण कुरा के हो भने, तपाईँ समक्ष कस्ता पठन सामाग्री आइपुग्छ भन्ने कुरा तपाईँ कस्ता पाठकहरूको सङ्गतमा हुनुहुन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । यदि कुनै पनि पुस्तकलाई सही तरिकाले समालोचना गरिदिने मित्र भेट्नुभयो भने र आफैँ पनि त्यसमा निपुण हुनुहुन्छ भने, जति सूचना र जानकारीको बमवर्षा भए पनि खास केही फरक पर्दैन । त्यो बाहेक, तपाईँले पहिले कस्ता पुस्तकहरू पढिसक्नु भयो भन्ने कुराले पनि उपयुक्त पठन सामाग्री चयन गर्दा असर पार्छ जस्तो मलाई लाग्छ । 

 पुस्तकबाहेक, म कहिलेकाहीँ इन्टरनेटबाट पनि पढ्छु । प्राय उर्दू गजलहरू । तर मलाई पन्ना पल्टाएर पढ्न मै धेरै रुचि भएकाले,‌ पुस्तकबाहेक अरू स्रोतहरूमा म‌ खास विश्वास राख्दिन । 

‘पुस्तक मन पर्नु र मन नपर्नु भनेको आफ्नो रुचिको कुरा मात्रै नभएर योग्यताको कुरा पनि हुँदो रहेछ।’ उसो त बुझाइ र अनुभव व्यक्तिपिच्छे फरक हुन्छ नै। तपाईँलाई यी पुस्तकहरू किन मनपरेको होला? र, कुनै पुस्तक ‘चिनी नपुगेको सर्बत’ जस्तो किन बन्छ होला? 

प्रश्नमा उल्लेख गरिए जस्तै, बुझाइ, अनुभव र मन पर्नु/नपर्नु भनेको व्यक्तिगत कुरा हो । कुनै पुस्तक मलाई तब मन पर्छ जब त्यसले पढुन्जेलको लागि मात्र नभएर पढ्न छोडिसकेपछि पनि मनका तारहरू हल्लाइरहन्छन्, मस्तिष्कका घण्टीहरू बजाइरहन्छन् । चाहे त्यो जुन सुकै विधाको होस् । यी पुस्तकहरू पढुन्जेलको रमाइलोमा मात्र सीमित नभएका कारण सायद मलाई मन परेका होलान् । 

मान्छेले सँधै आफ्नो अनुकुल कुराहरू खोज्छ अनि त्यस्तै कुरा पढ्न र सुन्न रुचाउँछ । यदि आफ्नो विचार र पुस्तकमा‌ समाहित विषयहरूको तालमेल मिल्यो भने सर्बत मिठो भयो, हैन भने खल्लो भयो! जस्तोकी धेरै जनालाई 'मनसुन' औधी मन पर्छ तर मैले भने सो पुस्तकलाई मनमा अड्याई राख्न सकिन । कारण ? मेरो र मनसुनको तालमेल मिलेन । त्यसैले सर्बतमा‌ चिनीको मात्रा स्वाद अनुसार फरक हुन सक्छ ।

तपाईँ प्राय पुगिरहने पुस्तक पसल र पुस्तकालय? 

आफैँलाई पनि अनौठो लाग्छ तर म प्राय पुस्तकालयमा गएर वा बसेर पढ्दिन । एकाध पटक भृकुटीमण्डपमा रहेको 'काठमाडौँ भ्याली पब्लिक लाइब्रेरी' र आफ्नै कलेजको लाइब्रेरी भने पुगेकी छु । 

पुस्तक पसलहरूमा चाहिँ म पुगिरहने पसलहरू भनेका उन्नति बुक स्टोर र गणेश बुक स्टोर हो । ती दुवै पनि भृकुटीमण्डप मै छ । त्यहाँ पुग्दा पसलको दाइहरूले धेरै पछि घरमा कुनै पाहुना आए जसरी हँसिलो‌ स्वागत गर्नु हुन्छ अनि मलाई फेरी फेरी त्यहीँ जान मन लाग्छ । 

पुस्तक पढ्दा केरमेट पनि गर्नुहुन्छ कि?

म पुस्तक पढ्दा त्यति साह्रो फोहोर गरेर पढ्दिन । एकदमै कोमल लाग्छन् पन्नाहरू र त स्पर्श गर्दा पनि हल्काले गर्छु । कुनै वाक्य एकदमै पनपर्‍यो भने, त्यसलाई मात्र सीसाकलमले‌ रेखाङ्कित गरेर राख्ने गरेकी छु । कुनै दिन फेरी त्यही पुस्तक पल्टाएर हेर्दा ती लाइनहरू याद बनेर दोहोरिन्छन् । 

‘हाम्रो देशमा एक त पुस्तकालयको परम्परा छैन। जति छन्, समय सापेक्ष किताबहरूको अपडेट भइरहेको पाइँदैन।’ यस्तोमा हाम्रो पुस्ता प्राचीन कृतिहरूको धुलो टकटकाउन मात्रै पुस्तकालयहरू पुगिरहेको जस्तो पाउँछु। तपाईँको केही फरक अनुभव छन् र? ती अनुभूतिहरू साझा गरिदिनुहोस् न ।

सायद मलाई पुस्तकालय गएर पढ्न मन नपर्नुको कारण पनि यही हुन सक्छ । खोजेका पुस्तकहरू भेटिँदैनन् र एकान्तमा बसेर पढ्ने वातावरण पनि खासै हुँदैन । पुस्तकालयकै हालत दयनीय छ । पुस्तकहरू फाटेका र धुलो जमेको अवस्थामा भेटिछन् । भाग्यले‌ खोजेको पुस्तक भेटिए पनि लिएर पढ्न बस्ने ठाउँ न व्यवस्थित हुन्छ, न सफा । मलाई चाहिँ त्यस्तो खुला ठाउँमा बसेर पढ्दा अगाडिको मान्छेले हेरिरहे झैँ लाग्छ र अलि असहज लाग्छ । त्यस कारण पुस्तकालयमा बस्न सक्दिन ।

नेपालमा पठन संस्कृतिका लागि भएका प्रयासहरूसँग सन्तुष्ट हुनुहुन्छ? पठन संस्कृति विकसित गर्न के गर्नुपर्ला? 

पठन संस्कृति त नेपालमा शून्य बराबर छ भन्दा पनि त्यति फरक नपर्ला । जति पनि राम्रा पाठकहरू छन् वा थिए, ती सबै क्रान्तिकारी हुन् भन्ने भान हुन्छ । हाम्रो देश, समाज, घर, परिवार, जहाँ पाठ्यक्रमको पुस्तक पढ्नुलाई मात्र पढाइ मानिन्छ, त्यहाँ अझै पनि पठन संस्कृति विकास गर्न टन्नै खाली ठाउँ बाँकी छ । 

मेरो विचारमा पठन संस्कृति विकास गर्न यसलाई जरैदेखि बलियो बनाउँदै ल्याउनु पर्छ । यसको लागि प्राइमरी र सेकेन्डरी तहका विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरका पुस्तकहरूसँग साक्षात्कार गराउन सकिन्छ, उनीहरूलाई प्रोत्साहन दिन रिडिङ् प्रोग्राम, रिडिङ् कम्पिटिसनहरू गराउन सकिन्छ । रचनात्मक लेखन प्रतियोगिताहरूले‌ पनि नयाँ पाठक सृजना गर्न सक्छ । त्यसबाहेक लाइब्रेरी व्यवस्थापन, लेखक एवं समालोचकहरूलाई प्रोत्साहन दिनु जस्ता कार्यहरू त छदैँछन् । 

पुस्तकबारे भइरहेका बहस एवं महोत्सवहरूबारे तपाईँलाई बोल्ने मुड छ? 

म त्यो 'अन्तरमुखी' भन्ने उपन्यासकी पात्र जस्तै छु । तपाईँ मलाई अन्तरमुखी पाठक पनि भन्न सक्नुहुन्छ, जसले खास्सै बहसहरूमा/ हल्लाखल्लाहरूमा चासो राख्दिन । 

संसारभरि नै पुस्तकको गुणस्तर मापनको एउटा प्रमुख आधार समीक्षालाई मानिन्छ। तर हामीकहाँ एउटै कृतिका थरीथरीका समीक्षा आइराखेका हुन्छन्, तपाईँ समीक्षामा कत्तिको विश्वास राख्नुहुन्छ?

कुनै कृतीको समीक्षा हुनु त्यसको पूर्णताको लागि अत्यावश्यक कुरा हो । र, मेरो आफ्नो कुरा गर्ने हो भने मलाई थरीथरीका समीक्षासँग केही त्यस्तो आपत्ति छैन । मलाई लाग्छ विचारहरूको जति धेरै मन्थन भयो, निष्कर्ष उति पक्का निस्कन्छ । त्यसैले‌ यदि तपाईँ आफ्नो निर्णय खुद लिन सक्ने मान्छे हुनुहुन्छ भने जति धेरै समीक्षा पढ्यो, उति त्यसले तपाईँलाई नै मद्दत गर्छ । 

पुस्तक उपहार दिने प्रचलन फस्टाउँदै छ आजभोलि, तपाईँले उपहारमा पाउनुभएको पुस्तकहरू? 

आफ्ना वरिपरि धेरै राम्रो राम्रो पाठकहरू भएर हुन सक्छ, मैले थुप्रै पुस्तकहरू उपहारमा पाएको छु र ती सबै मलाई पुस्तक दिनेहरू जत्ति नै प्यारा छन् । उपहारमा पाइएका पुस्तकहरू कसैलाई दिइहाल्न पनि मन लाग्दैन । यी केही प्यारा पुस्तकहरू हुन्, जुन मलाई उपहारमा प्राप्त भएका थिए;

- योगमाया
- मैले नजन्माएको छोरो
- अ टिएर यान्ड अ स्माइल
- अन्तरमुखी
- राधा

किताब, फिल्म, सङ्गीत र घुमफिरमध्ये कुन कुराको सङ्गत प्रिय लाग्छ तपाईँलाई?

किताब, फिल्म, सङ्गीत र घुमफिर, यी सबै नै राम्रा साथीहरू हुन् । यी मध्य कुनै एक नहुने हो भने पनि जीवन सायद खल्लो होला। तर कुनै एक चुन्नै पर्ने भए चाहिँ म सङ्गीतलाई आफ्नो संगत बनाउँथेँ । सङ्गीत एउटा यति मिठो विधा हो, जसले मनमा‌ गुम्सिएका र आफैँले समेत बिर्सिसकेका भावनालाई खोतलेर बाहिर निकाल्न सक्छ, जुन हरेक परिस्थितिमा फिट हुन्छ । भनौँ सङ्गीत तरकारीहरूमा आलु सरह हो ।

किताब र सङ्गीत ? वेस्ट।
फिल्ममा सङ्गीत ? हामीलाई थाहा छँदै छ । 
घुमफिर र सङ्गीत? एक अलगै दुनियाँमा पुगेको जस्तो आभास ।
सङ्गीत मात्र ? ह्वाइ नट् । 

तपाईँको ‘काव्यिक अभ्यास’बारे पनि जान्न मन भयो। आजभोलि के लेख्दै हुनुहुन्छ?
हाल म कतै छापिहाल्न मिल्ने भन्दा पनि साना फुटकर कविता र लेखहरू लेख्दै छु । मनमा पलाउने सोचहरूलाई नोट प्याडमा सारेर राख्ने गरेकी छु । बलिया भएर हुर्के भने कतै छपाउँला पनि । खै!

तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ? त्यो रचना उपलब्ध हुन सक्छ?

मेरो सबैभन्दा पहिलो रचना मैले विद्यालयमा एउटा कविता प्रतियोगिता हुँदा लेखेको थिएँ । कविता चाहिँ मलाई सानैदेखि एकदमै मन पर्ने । नयाँ नेपाली किताब हात पर्दा कविता जति चाहिँ सबै पहिल्यै पढेर भ्याइसक्थेँ । मलाई यति मात्र सम्झना छ कि मैले लेखेको पहिलो कविताको शीर्षक 'मेरो देश' थियो । अहिले त्यसको एक लाइन पनि मलाई राम्रोसँग याद छैन तर त्यसैको लागि प्रथम पुरस्कार जितेको चाही कहिल्यै बिर्सिन सक्दिन । 

मैले त सक्काएँ, तपाईँको केही प्रश्नहरू छन् कि ?

अनि तपाईँको सबै भन्दा मन पर्ने पुस्तक चाहिँ के के हुन् त ?
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार