विश्वभर कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ।  नेपालको तथ्याङ्कमा पनि केही साता यता कोभिडका बिरामी र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। यसपटक दोस्रो चरणको लकडाउनमा कुम्लो कुटुरा, पोका पन्तुरोसगैँ सपनाको सहर राजधानी छाडी बासस्थान गाउँमै सार्नेहरुको भिड पनि कोरोना भन्दा कम बढेको छैन । कहिले भुकम्प त कहिले सलह वा हालको कोरोना अनि कालोबजारी, राजधानीसँग जोडिने सपनालाई पटकपटक विस्थापित गरेकै छ । अझ सबैको चित्तदुखाएकै छ भन्दा फरकनपर्ला । यसरी यसपटक उनको पनि राजधानीले चित्त दुखाएको छ । वाक्क लागेको छ राजधानीसँग । र त उनी  पनि काठमाण्डौँ  छाड्नेहरुको लहरमा मिसिएर गाउँ फर्कीए । थाहा छैन सपनाको सहर छाडि जानेहरु अब फेरि कहिले राधानी फर्केलान्  वा नफर्केलान् तर उनी  भने परिस्थीती सामान्यबने पछि फर्कने सोँचमा छन् । 



सन् २००९ मा रङ्गिन सपनाको कथा र पात्रहरु खोज्न नौ डाँडा काटेरै उनी छिरेका थिए काठमाण्डौँ  । उनी अर्थात चलचित्र निर्देशक  साम्तेन भुटिया । उनले यस अघि 'तान्द्रो', 'साढे ७', 'चच हुई' जस्ता फ्लिमहरु निर्देशन गरिसकेका छन् । भारत, सिक्किममा जन्मिएका उनको बाल्यवस्था देखिनै चलचित्रमा औधी रुची थियो । उनी यो कसरी होला, के गरेर हुन्छ होला रु भन्ने जिज्ञासा राख्दथे। फिल्ममा जुम्ल्याहा भएको दृष्य देख्दा भने उनी अलि बढि नै अचम्ममा पर्थे । त्यस्तो चैँ कसरी हुन्छ ? उनी हाँस्छन् ।  यो कसरी भन्ने प्रश्नले नै मलाइ चलचित्र निर्देशनमा डोहोर्यायो ।

सन् २००९ मा 'लेटर' नामक फिचर फ्लिमबाट उनले चलचित्र यात्रा  सुरु गरे । तर म्युजिक भिडियो, टेलिसिरियल तथा साना व्यापारिक एडहरुमा भने उनले २००३ देखिनै हात हालिसकेका थिए ।

सत्य घटनामा आधारित यथार्थपरक फिचर फिल्म निर्देशन गर्न ज्यादा रुचाउँछन् उनी । बलियो र फरक विषय वस्तुहरु पाए काम गर्न धेरै  रमाउछँन् । तर आफूले बनाएको फिल्महरु मान्छेहरुले नबुझेको गुनासो गर्दै भन्छन्: "अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तिर जान्छ र मन बुझाउने ठाउँ छ, नत्र त  घरि घरि जति गरेनी त्यत्तिनै जस्तो लाग्छ र गर्नै मन लाग्दैन ।" तर मनको शान्ति, सन्तुष्टीकै लागि भएपनि जीवनको अन्त्यसम्म पनि यस्तै चलचित्र निर्देशन गर्ने अठोट छ उनको ।  



चलचित्र 'अनागत'को सुटिङ टाइममा आफुले गरेको उटपट्याङ सम्झदै भन्छन्: "३ ट्याङकर पानी हालेर एक्टर देखि लिएर सबैलाई सिन हो भन्दै १ दिनभरि डुबाइदेको छु । अझ अर्को मुभिमा हिरोइनलाई रुख चढाई दिएको छु । "

हुन त नेपालमा कलाकारनै छैन, भन्ने निर्देशकहरुको लाइन पनि बाक्लै छ । आफ्नो कथाको क्यारेक्टर खोज्न उनी  थिएटर तिर धाउँछन् । क्यारेक्टरहरुलाई आफु तल बसेर सोँच्छन् । कलाकारहरुलाई चिन्ने,बुझ्ने कोशिस गर्छन् । नेपालमा एक सय एक कलाकार र निर्देशकहरु भएको तर सहि प्रयोग हुन नपाएको उनको बुझाई छ । भन्छन्:  मनिसले आफ्नो धरातल बिर्सिन्छ र म भन्ने शब्द जन्मिन्छ, हामी भन्ने भूल्छ । राम्रो भन्ने कुरा कलाकारलाई आफुले कसरी खोज्ने र के काम गराउने भन्ने कुरामा भर पर्छ । राम्रा राम्रा कलाकारहरु छन् । उनीहरुले मौका पाए गर्न सक्छन् ।कलाकार नेपालमा छैन भन्नेहरुको लागि भने यो दरिलो जवाफ बन्न सक्ला। 

जो साँचो मनले, साँचो लगानले केहि गर्न खोजिरहेको छ । कतिले घर छाडेर आएका होलान् । कतिले परिवारको साथ बिना गरिरहेका होलान् । त कति विदेश जान्छु भनी ढाँटेर सिकिरहेका होलान् । त्यस्ता कलाकारहरुलाई नजरअन्दाज गर्नु न्यायोचित नहुने बताउँछन् उनी ।

"नेपालमा सबै छ, तर पैसा छैन । बजेट हाल्न कन्जुस्याँई गर्छन् । ३०/३५ लाख बजेट हाल्ने तर चलचित्र चाहिँ ४ सय ५ सय करोडको जस्तो खोज्ने उनको भोगाई छ । मार्केटनै छैन भन्छन् । लगानी गरे पो मार्केट बन्छ । रिस्कनै लिन मान्दैनन् ।" मान्छेहरुको मानसिकतानै नखुलेको बताउँदै थप्छन् :"हामी अझै गास,बास,कपास मै अल्झिरहेका छौँ ।" केहि कुरामा परिवर्तन आउनलाई यि ३ कुराबाट माथि उठ्नसके मात्र विश्वमा एक कदम फड्को मार्न सक्ने उनको बुझाई छ । अहिले सम्म संसारमा जहाँ जति परिवर्तन भए, जति ओजन राखेका छन् । ति सबै गाँस,बास,कपासदेखि माथि उठेकाहरुले नै गरेको उनी बताउँछन् ।

पोहोर सालको लकडाउताका राजधानीमा उनी  एक्लै थिए । मैतिदेवी स्थित आफु बसेको पुरै बिल्डिङमा एक्लै दिनहरु बिताउनु कम कष्टकर थिएन उनको लागि । अफ्ठ्यारोसँग जुध्ने बानी नभएको त हैन उनलाई । तर अफ्ठ्यारोमा पर्दा एक फेर जो पनि झस्कन्छनै । यो मानविय स्वभावसँग उनी पनि अछुत रहन सकेनन् । एक्लै बिताएका ति दिनहरु सम्झदा मन दुखेको कुरा सुनाउँछन् । अङ्गालो मार्ने साथीभाई संस्कारको नाममा नमस्कार गर्दै टाडा हुनुपरेको परिस्थितीले नमिठो प्रभाव पारेको बताउँछन्। 

एक्लो र शुन्य दिनहरुमा पनि उनले कलाकारितामा आफुलार्इ मुर्झाउन भने दिएनन् । भन्छन् : "एक्लो भएका दिनहरु मैले स्केच गरेर,पेन्टिङ गरेर,नोबेल लेखेर बिताएँ ‌।" ध्यानको गहिराई वास्तवमा कस्तो हुन्छ भन्ने बोध बोकेको एउटा ठुलो पेन्टिङ गरेका छन् उनले । 

कोरोना र एक्लोपननै घर फर्कने बहाना बने पनि त्यति मात्र कारण भने पक्कै होइन । राजधानीमा सपनाहरुको लडाईँ यति बिघ्न हुन्छ, कि सबैलाई आफ्नै मात्र गर्नु छ। हामी भनेर स्वार्थ जन्मियो भने एउटा जमात उभोँ लाग्छ । तर म,मेरो भन्ने स्वार्थ जन्मियो भने त्यो सबैको लागि  घातक बन्ने आफ्नो भित्री आशय पोख्छन् । आफु यस्ता मान्छेहरुसँग  बाजिरहन र तमासा गर्न नजान्ने स्वभाव भएकोले चुपचाप फर्केको बताउँछन् । भन्छन्:"जब मान्छेले मान्छे देखेर तर्सिनु पर्छ नि त्यो भन्दा दर्दनाक पिडा के हुन सक्ला एक व्यत्तिको लागि । दुख जिवनको एउटा पाटो हो जो कसै न कसैकोमा केहि न केहि कारणले आउँछ र त्यो भोग्नु पर्छ ।" त्यसैले त  उनले पनि यि सबै भोगाइसँग गुनासो गरेका छैनन् । रमाउन जान्यो भने एक्लोपन पनि मिठो हुन्छ भन्ने कुरा उनका यि भोगाइबाट पनि बुझ्न सकिन्छ ।



प्रोजेक्टहरु नभएका पनि होइन ३/४ वटा कामहरु लाइनमै छ उनको । तर कोरोना कहरले चलचित्र जगतलाई प्रत्यक्ष प्रभाव पारेकै कारण कामहरु रोकिएको बताउँछन् । आजभोली भने उनलाई आख्यान लेखनको भूत चढेको छ । २/३ वर्ष अघिदेखि नै लेख्न सुरु गरेको आख्यान अब २५ प्रतिशत मात्रै लेख्न बाँकी छ । तर चाडैँ सकिएला भनेर भन्न सक्ने स्थिति  भने देखिँदैन । किनकी, घोटेर घोटेर मात्र राम्रो काम नआउने कुरामा विस्वास गर्छन् उनी । भन्छन्स् : "घरि घरि लेख्न इच्छा लाग्दैन । मुड आको बेला मात्र हो लेख्ने । अब मुड कहिले आउँछ थाहा हुँदैन ।" हाँस्दै हाँस्दै थप्छन् : "खासमा मुभि लेखेको थिएँँ नि , प्रोड्युसर नपाएपछि आख्यान लेखिदिएँ ।" यसबेला आफ्नै घरमा भुटिया निर्देशकसँगै आख्यानकार पनि बन्ने क्रममा छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार