जीवनकाे लय

मक झापास्थित मेरो सानो घर छ । कोठा पनि सानै छन् । त्यो सानो घरकाे सानाे कोठामा एउटा सानो झ्याल छ । त्यो सानो झ्यालबाट अलिकति धर्ती र अलिकति आकाश देखिन्छ । त्यो नै मेरो सानो संसार हो । त्यही झ्याल भरिको संसारमा रमिता हेरेर मेरा बाँकी दिनहरू बिताइरहेको छु । झ्यालको एकापट्टिबाट घाम उदाउँछ र केही बेरमा अर्को पट्टि अस्ताउँछ । बिहानै पल्लो घरको धुरीमा रुपीहरू भाका फेरि फेरि गीत गाउँदै नाचेको देख्छु । झ्यालको डण्डीमा जोडी भँगेराहरू आएर बस्छन् । प्रेमालाभ गर्छन् । रमाउँछन् । तिनीहरूले मलाई राम्ररी चिनेका छन् । मेरो अवस्था बुझेका छन् । त्यसैले नजिकसम्म आएर जिस्किन खोज्छन् । त्यो मनोरम दृश्यमा म पनि रमाउँछु । भुलिन्छु, हराउँछु । जब रात पर्छ । जुन उदाउँछ ।प्रत्येक रात जूनले स्वरूप फेर्छ । अर्धवृत्त हुँदै जून पूर्णीमाको दिन वृत्त बन्छ । फेरि घट्दै जान्छ र आकाशमै विलय हुन्छ । अनि अँध्यारो औँसीले राज गर्न थाल्छ । औँसीले पनि मेरो लागि उतिकै महत्व राख्छ जसरी पूर्णिमाले । चन्द्रमाको प्रकाशले धिरमिराएका ताराहरू फेरि चम्किन थाल्छन् औँसीमा । म सानो छँदा दाइ दिदीहरूले चिनाएका तीनतारा पुछ्रेतार झुप्रेतारा बृहस्पति शुक्र नियाल्छु । कति देख्छु कति देख्दिनँ र नदेखिएकोमा चासो पनि राख्दिनँ । किनभने झ्यालबाट नदेखिने आकाशगङ्गा मेरो लागि होइन ।



त्यही कोठा त्यही झ्याल हो, तर- सधैँको भन्दा फरक त्यो रात आज पनि सम्झिन्छु । रातको १२/१ बजेको हुनुपर्छ । न चन्द्रमा देखिन्छ न ताराहरू । निष्पट्ट अन्धकार छ । परबाट अनौठो आवाज आएको आभाष हुन्छ । आवाज बिस्तारै नजिकिन्छ । थाहा भयो, त्यो असिना पानीको भयानक आवाज रहेछ । आ-आफ्नो कोठामा सुतेका नानीहरूलाई बोलाएँ । मस्त निदाएका थिए । कोही ब्युँझेनन् । छानोमा असिना पानी बज्रन थाल्यो । बटारिँदै आएको हुरीको झोक्कासँगै असिना पानी झ्यालबाट भित्र छिर्यो । बेड बिस्तारासहित म लुथ्रुक्क भिजेँ । छड्के वर्षेको असिनाले कान र अनुहारमा लाग्दा बेस्सरी दुखायो । कराएँ, चिच्याएँ । मेरो आवाज छानोमा बज्रेको असिनाको आवाज भन्दा कमै भयो सायद । तीन घण्टासम्म लगातार परेपछि बल्ल पानी रह्यो । म कराएर थाकिसकेको थिएँ । र, पनि कराउन छोडिनँ ।नानीहरूलाई बल्ल थाहा भयो । अनि नानीहरूले हत्तपत्त सुकिलो बेडमा सारिदिए । अनि मात्र ढुक्क भएँ । असिनाले कुटेर मरेको मान्छेको कथा सुनेको थिएँ तर घर बाहिर । म त घरभित्रै झन्डै मरेको । हात गोडा नचल्दाको नियति यसरी भोगेको क्षण आज पनि अविस्मरणीय छ । 



'ए भान्जा ! भान्जा ! कता छौ ? मलाई कोल्टे फेर्न मन लाग्यो । छिटो आऊ ! एकैपट्टि मात्र सुत्दा सुत्दा थाकिसकेँ ।पछाडि ढाडमा राम्रो हेर त वेडशुल भयो कि ? पोहोर साल घाउ भएर ६ महिना लाग्यो निको हुन । मलाई उठाऊ त पानी पिउन मन लाग्यो । बिस्तारै सुताऊ है । आऊ है दुईजना भएर मलाई ट्वाइलेट लैजाऊ । छोरी ! ट्वाइलेट गर्दा ब्लड गयो औषधि चाहियो । पिसाब लिक भएर बेड भिज्यो कि ? राम्रो हेर त । बेडकभर फोहोर त भएन ? यी कपडाहरू धुनेबेला भए, बाथरुम लैजाऊ । छोरी ! खाना थोरै खाने है । सुतेर धेरै पचाउन सकिँदैन । दाँत दुख्दैछ बिस्तारै ब्रस गरिदेऊ । गर्मी भयो मलाई नुहाइदेऊ । युरिन ब्याग सफा गरेर क्याथेटर फिट गरिदेऊ । आज थेरापिष्ट किन आएन ? कल गर त । छोरी ! आज पैसा दिनुपर्ने, छ कि छैन ? हिजो तिमीहरू नहुँदा मच्छरले कति खायो खायो । घाउमा झिँगाले टोकेर खाल्डो नै बनाएछ । ल्कले सफा गरेर वेटाडिन लगाइदेऊ है । लौ मलाई गर्मी भयो पंखा लगाइदेऊ । फेरि जाडो भयो पंखा बन्द गरिदेऊ । मेरो टाउको र ढाड खपी नसक्नु चिलायो । भान्जा ! कन्याइदेऊ त ।यसरी छोरी र भान्जालाई अह्राउँदै बिताउँछु प्रत्येक दिन र रातहरू । २४ सै घण्टा अरूको सहारामा बाँचेको छु । मलाई त कठिनाइ छँदैछ । आज्ञापालन गर्नेहरूलाई पनि सजिलो त कहाँ होला र ? तर मेरो भाग्य भन्नुपर्छ, कसैले नाइनास्ती गरेका छैनन् आजसम्म ।



'ऐया.....! मेरो हात दुख्यो' मात्र भन्न सक्छु । त्यसपछि बोल्न सक्तिनँ । आँखा चिम्लेर सहन्छु । एकछिन पछि अलि कम हुन्छ । आँखाभरि आँसु हुन्छ । यो आँसु दिल दुखेर आएको भने होइन । हात दुखेर सहन बल गर्दा आएको आँसु हो ।घण्टामा ४/५पटक दोहोरिरहन्छ यो क्रम । एउटा अनौठो कुरो यो छ कि, मैले जुन हात दुख्छ भन्दैछु त्यो हातमा चेतना छैन अर्थात् स्पर्श गर्दा घोच्दा पोल्दा थाहा हुँदैन । तर असाध्यै दुख्छ । दुख्ने भएकै कारणले डाक्टरलाई भने- 'डाक्टर साब, यो मेरो दुख्ने हात काटेर फालिदिनोस् । अनि ढुक्क हुन्छ ।' डाक्टरले भन्यो- 'काटेर फाल्नु ठूलो कुरा होइन तर फाले पनि हात भए जस्तो फिलिङ्स हुन्छ र दुख्न सक्छ । ग्यारेन्टी भन्न सकिँदैन ।' मलाई अचम्म लाग्यो । जब कि हातै छैन भने के कारणले दुख्छ ? मेरो जिज्ञासा बढ्यो । एकदिन दुर्घटनाको कारण खुट्टा गुमाएको एकजना साथीसँग भेट हुँदा सोधेँ- 'हजुरको यो नभएको खुट्टा त दुख्दैन नि ?' उसले भन्यो- 'के नदुख्नु सर ! बेलाबेला त पैताला पोलेर सहन गाह्रो हुन्छ नि ! जबकि त्यो साथीको खुट्टा घुँडा भन्दा माथि काटिएको थियो । उसको कुरा सुनेपछि हात फाल्ने सोँच तत्कालको लागि स्थगित गरेको छु ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार