नेपाली रैथाने संगीत भन्ने बित्तिकै छुटाउन नमिल्ने नाम झुमा लिम्बू, यी दुई एकअर्काका परिपुरक नै हुन् भन्दा फरक नपर्ला । विगत लामो समयदेखि विभिन्न रैथाने संगीत विशेष गरी नेपालीमाथि साधना र अभ्यास गरिरहेकी उनी अहिले नेपालकै पहिलो bass instrument ‘ढेला’को आविष्कार गर्न सफल भएकी छिन् ।

आफ्नो भाषा संस्कृति र संगीतको अभ्यास र प्रचार सँगसँगै संसारका विभिन्न अरू भाषिक रैथाने संगीतकार तथा संगीत पारखीहरूसँग आफ्नो भाषा, कला तथा संस्कृति आदानप्रदान गर्ने क्रममा लिम्बू विश्वका विभिन्न मुलुकहरूमा हुने संगीत महोत्सवहरूमा भाग लिन पुगिसकेकी छन् । 



विभिन्न विदेशी प्रयोग र प्रचलनले खर्लम्मै खाएको नेपाली समाजमा बच्चादेखि बुढा, गाउँदेखि शहर साथै हरेक वर्ग, समुदाय र राष्ट्रमा नै बाह्य संस्कृतिको प्रभाव पर्नु अहिलेको बिडम्बना हो । यो आडम्बरीपन र प्रभावबाट नेपाली मौलिक कला तथा गीतसंगीत पनि पर बस्न सकेन । नेपाली संगीतमा विभिन्न विदेशी बाजा, उपकरण तथा शैली भित्रिनु आम नेपाली भाषीहरूको लागि दुखद कुरा हो । बाह्य संस्कृतिलाई बहिष्कार गर्ने भन्ने त होइन तर त्यसको आत्मसाथ सँगसँगै विश्वबजारमा आफ्नो संस्कृति र पहिचानको खोजी कहाँसम्म गर्ने भन्ने कुराले हाम्रो अस्तित्वरक्षाको निम्ति ठूलो हेक्का राख्दछ । पछिल्लो समयमा नेपाली कला तथा गीतसंगीतमा मौलिकता खोज्ने काम फाट्टफुट्ट हुन थालेको छ,  यहीँ अभियान र परिवर्तनलाई एक अलग उचाई र नयाँ आयाम दिने अर्को नाम हो नेपाली रैथाने संगीतविद् ‘झुमा लिम्बू’ । 



आफ्नो गीतसंगीत सुनाउने र कला आदानप्रदान गर्ने क्रममा उनले संसारका हरेक जाति र भाषीहरूका  आफ्नै छुट्टै संगीत र त्यो संगीत पस्किने आफ्नै फरक फरक किसिमका मौलिक  बाजा देख्न पाइन् । आफ्नो मौलिक कला तथा संस्कृति प्रस्तुत गर्न गएकी लिम्बू र उनका टिम आफूमै त्यो मौलिकता पूर्ण नभएको कुराले लज्जित भएकी बताउछिन् । हुन पनि जन्मेदेखि मृत्युपर्यन्त अर्थात् हाम्रो हरेक रीत, पर्व, मेलापात, कार्जो तथा किरियासम्म पुग्दा पनि गीतसंगीत, बाजा र हरेक कलाहरूले अभिन्न भूमिका खेल्दै आएको छ र त्यसैलाई अहिले आएर जीवनबाट अलग्याउनु  र प्रयोगमा ल्याउन नसक्नु एक लज्जास्पद कुरा हो ।



“नेपाली बाजा भनेर बजाइरहेका विभिन्न बाजाहरू त अघि नै विभिन्न मुलुकहरूको आफ्नो बाजामा समाविष्ट भैसकेको रहेछ । भनेपछि हामीले अहिलेसम्म विदेशी संगीत गरिरहेको रहेछौँ”, लिम्बू भन्छिन । खास गरेर नेपालमा त  bass instrument नै पो रहेनछ भन्ने कुरा खट्किएपछि लिम्बू र उनका टिम नेपाल आएर त्यसमाथि खोज अनुसन्धान तथा अभ्यास गर्न थाले । त्यसैको उपज नेपालले पायो नेपालको पहिलो bass instrument 'ढेला’ । ओखलढुंगा  र सोलुतिरका थुलुंग जातिको पारम्परिक मौलिक बाजा हो ‘ढेला’ । यसको भाषागत अस्तित्वमा कुनै प्रकारको आँच नपुर्याउने हेतूले यस बाजाको नाम थुलुंग भाषाबाटै सर्लक्क ल्याइएको हो । त्यसै बाजा र दमाई जातिको मौलिक बाजा दमाहालाई मिश्रण गरि प्राविधिक रूपमा यसलाई नयाँ स्वरूप र आकार दिइएको छ ।  



पूर्वमा विभिन्न धामी झाँक्रीले बजाउने ढोल ढ्यांग्रो तथा लिम्बू जातिको मौलिक बाजा च्याब्रुंग बनाउनमा प्रयोग गरिने खामारिको रूखलाई काटेर ६ महिनासम्म छोपी राखेर त्यसपछि विभिन्न जातिविशेषका मिस्त्रीहरूको सहायताले लामो समय खर्चिएर बनाइएको बाजा हो ढेला । विभिन्न भेग तथा ठाउँमा कुन काठ चाहिँ उपयुक्त हुन्छ भनी खोज-अनुसन्धान गर्दै जाँदा नरम भएकोले सजिलै नफुट्ने अनि गुन्जयमान प्रवृत्तिको रूख ‘खामारी’ नै हो भन्ने निश्चित भैसकेपछि उनी ढेला निर्माणको पहिलो चरणमा प्रवेश गरेकी हुन् । पूर्वीय तराईमा पाइने यो खामारिको रूखबाट बाजा बनाउन झुमा र उनका टिम इलामको ‘चपेटी’ भन्ने ठाउँमा  तम्बु टाँगेर महिनौँसम्म जंगलमै बसेका थिए । बिहानै उठ्नु, चार पाँच राउण्ड विभिन्न कालीगढहरूलाई कल गरेर दिनभरको कार्यतालिका तयार गर्नु, बाजा निर्माणका लागि चाहिने उपकरण तथा जनशक्ति तयार गर्नु, बाजामा प्रयोग हुने विशेष जनावरका छाला संकलनमा कुद्नु, आर्थिक तथा सामाजिक सहयोग जुटाउन विभिन्न मन्त्रालयमा धाउनु उनको त्यस समयको दैनिकी नै बन्न पुगेको थ्यो ।



त्यसो त एक अलग समुदाय परिसरभित्र त्यो पनि तम्बु टाँगेर महिनौ बसेर काम गर्नु त्यति सजिलो भने पक्कै थिएन । एउटा ऐतिहासिक कामको उत्साह साथसाथै हरेक बाधा अड्चन तथा अफ्ट्याराइको पहिरो हरेक दिन उनको काँधमा थुप्रिएको थियो तर एउटा ऐतिहासिक कामलाई पूर्णता दिन  तथा कला मार्फत् आफ्नो पहिचानको युद्ध लडिरहेकी झुमा यी कत्ति पनि कुराहरूबाट विचलित भइनन् र अन्ततः आधिकारिक रूपमा सिंगो नेपाली संगीत क्षेत्रलाई एक नयाँ बाजा आविष्कार गराउनमा सफल भइन् । उनले त्यस समयमा २ वटा फरक आकारमा प्रमुख बाजा ‘ढेला’ साथसाथै अरू विभिन्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आठ फरक-फरक समुदाय समेटिएको अन्य २३ प्रकारका  मौलिक बाजाहरू बनाएकी छन् ।



कोभिडका कारण लामो समयदेखि रोकिएको उक्त ढेला उद्घाटन तथा प्रदर्शनी कार्यक्रम हिजाे मिति २०७८ मंसिर १८ गते झम्सिखेलको मोक्ष रेस्टुरेन्टमा सफल भयो । इस्वी संवत् २००७ देखि संगीतका विभिन्न विधामा प्रशिक्षण दिँदै आएका काठमाडाैँ ज्याज कन्जरभेटरीद्वारा आयोजित उक्त कार्यक्रममा बौद्ध भिक्षुणी गायिका आनी छोइङ डोल्मा लगायत नेपाली संगीत तथा अन्य कला क्षेत्रका विभिन्न हस्तीहरूको उपस्थिति देखिन्थ्यो । “संसारको कुनै पनि ठाउँको मौलिक संगीतमाथि कसैले यति लागि परेर काम गरिरहेको छ भने हामी त्यसमा सहयोग गर्न कुनै पनि क्षेत्रबाट तयार छौँ, त्यो पनि निःशुल्क ।” झुमा लिम्बूको काम देखेर यसरी ज्याज कन्जरभेटरीका दुई सदस्य मुवां एडमण्ड र टोमस कारोस्कोले (चिलियन नागरिक) सहयोगको हात फैलाए । नेपाली रैथाने समूह र ज्याज कन्जरभेटरी समूह मिलेर करिब महिना दिनसम्म सँगै सहयात्रा गरी यस ऐतिहासिक कन्सर्ट तयार गरिएको थियो । यस सहयात्राका क्रममा एक-अर्काका समुदायका आदिवासी गीतसंगीत आदानप्रदान गर्ने काम गरियो र विभिन्न रैथाने भाका र बाजाहरूलाई एकसाथ प्रस्तुत गर्ने काम गरियो ।



पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न भाका मिलाई बनाइएको ‘मेडले संगीत’ प्रस्तुतिबाट सुरु गरिएको उक्त कार्यक्रमामा देउडा, हाकपारे हुँदै चिलियन लोक गायक भिक्टर खाराको  प्रसिद्ध लोकगीत र अन्त्यमा साम्सोघा मुन्धुमबाट बिट मारिएको थियो जसमा येमाको भूमिकामा झुमा लिम्बू आफैँ र साङलाङ्गोबा र साङलाङ्गोमाको (क्वायर टोली) भूमिकामा काठमाडाैँ ज्याज कन्जरभेटरीका विद्यार्थीहरू अनुकृति सिंह (भारत), रेबेक्का फिलिप (भारत) अनु शाक्य, अन्वेइती उपाध्याय, अन्जना गुरुङ, अनिशा महर्जन, आर्या पौडेल, स्नेहा योन्जन लगायतले प्रस्तुति दिएका थिए । क्वायर टोलीलाई स्पेनकी मारिया फाजार्दोले संयोजन गरेकी थिइन् । वाद्यवादनमा रैथाने संगीत समूहका सदस्य शम्भु बानिया, अशेष राई, निरिता याक्थुम्बा, अभिषेक भाद्र, मुवां एडमण्ड र टोमस कारोस्को रहेका थिए । १९७४ एडी ब्याण्डका बेस गिटारिस्ट तथा  काठमाडाैँ ज्याज कन्जरभेटरीका सञ्चालक निराकार याक्थुम्बाले उक्त कामका मुक्तकण्ठले प्रशंसा गरेका थिए ।



यसरी बाह्य संस्कृतिको बेजोड प्रभाव पर्दै गएको नेपाली समाज, संस्कृति र कलामाथि यो सात्विक अभियान आउने पिंडीको लागि एक मार्गदर्शन बन्न सक्ने कुरामा दुईमत नहोला । अघि पनि दर्शाइएको कुरा- ‘बाह्य संस्कृतिलाई बहिष्कार गर्ने भन्ने त होइन तर त्यसको आत्मसाथ सँगसँगै विश्वबजारमा आफ्नो संस्कृति र पहिचानको खोजी कहाँसम्म गर्ने भन्ने कुराले हाम्रो अस्तित्वरक्षाको निम्ति ठूलो हेक्का राख्दछ ।’



कुनै पनि ठाउँ अथवा राष्ट्रको सम्मुन्नतिमा त्यहाँको संस्कृति, समाज र कलाको विशेष भूमिका रहन्छ, कुनै पनि क्षेत्रको कला र संस्कृतिको अवस्थाले त्यस ठाउँको परिवेश र भविष्य दर्शाउँछ । कला र संस्कृतिमा मौलिकताको आगमनता र त्यसबाट हुने सामाजिक रूपान्तारण त्यस राष्ट्र अभ्यूत्त्थानको प्रमुख कारण हो । त्यसकारण रैथाने संगीत समूहको यो अभियान अहिलेको समाजको निश्चिन्त माग हो । अब कुरा हह्यो हामीले पनि आ-आफ्नो विधाबाट मौलिकता र पहिचानको खोजीमा सरिक हुने कि बजारमा आफ्नो अस्तित्वहरण आत्मसाथ गर्ने ? 









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...

सम्बन्धित समाचार