रोल्पा- सुनिल स्मृति साहित्य महोत्सवमा पहिलो दिन ‘सिनेमामा छुटेको भूगोल’ शीर्षकमा बहस गरेको छ । वक्ताद्वय रोल्पाली फिल्म निर्माता, कलाकार जनक घर्ती मगर र थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छविलाल कोपिलालाई कवि राजु झल्लु प्रसादले सहजीकरण गरेका थिए । 

मगरको ‘रोल्पा रोग’ नामक फिल्म प्रदर्शित भइसकेको छ । द्वन्द्वअघिको रोल्पा र त्यसपछिको भोगाइलाई तुलनात्मक रूपमा देखाउन खोजिएको फिल्मले माओवादी द्वन्द्वलाई रोगका रूपमा चित्रण गर्न खोजेको छ । दुई दशक देखि सक्रिय अर्का वक्ता कोपिलाको नेपाली तथा थारु भाषामा दर्जनौँ कृति/ पत्रपत्रिका प्रकाशित तथा सम्पादित छन्। कोपिलाको  ‘भुरभुरा रहर’, ‘भुइह्यार’, ‘लाज’, ‘लावाजुनी’ लगायत थारु/नेपाली भाषाका फिल्महरू आइसकेका छन् ।

रोल्पाको तिक्खर स्वाद फिल्ममा नआउनुको पछाडि फिल्म निर्माणकर्ता, निर्देशक एवं स्क्रिप्टमा समस्या रहेको बताउँदै मगरले भने "मुख्य पाटो बजेट पनि हो । बजेट जुटाउन हम्मेहम्मे छ । बजेटबिना रहर मात्रै गर्दा काम बिग्रने रहेछ । स्थानीय सरकारले लगानी गर्दछ भने रोल्पाली भोगेको यथार्थ कथा ल्याउन म तयार छु", उनले भने । मगरले लो बजेटमा काम गर्दा रोल्पाले भोगेको युद्ध चित्रण सम्भव नहुने समेत बताए ।



 

अर्का वक्ता कोपिलाले बजेट सँगसँगै स्थानीय एवम् मौलिक कथाको खोजीकार्यमा अल्छीपना यद्यपि जारी रहेको बताए । "थारु बस्तीमा दुई महिना पनि नबिताई दयाह्याङ आएर थारु विषयमा अभिनय गर्छन् । आफूले नबुझेको भौगोलिक, सांस्कृतिक समाजबारे अध्ययन गरून् भन्ने लाग्छ । तर, हतारमा लतरपतर हुँदै आएको छ," कोपिला अगाडि भन्छन्, “धेरै फिल्महरू बने तर अगाडिका फिल्महरू ‘मौलिक कथा’को सवालमा चुकेका थिए तर नयाँ फिल्महरू प्रस्तुतिगत हिसाबमा आशलाग्दा पनि देखिएका छन् । 

कोपिलाले एक सय ५० भन्दा बढी थारु फिल्महरू बनिसकेको उल्लेख गर्दै भने, "बिडम्बनाको कुरा, सबै फिल्महरू फ्रेम मोटामोटी एकै जस्तो लाग्छ । तर, यसैबीच पनि रेशम चौधरीको 'कमैया', अजित लामिछानेको 'गुराँन', केएल पीडितका फिल्महरू आशालाग्दा थारु फिल्महरू हुन् ।"

मगरले सिनेमा भनेको समाजको बुझाइ रहेको उल्लेख गर्दै भने, "रोल्पामा फिल्म निर्माणको लागि हामि एक दुई जना मात्रै छौँ किन यति थोरै संख्या छ भनेर मलाई पीर लाग्छ तर सँगसँगै रोल्पाले हामीबाट नै रोल्पाको यथार्थ चित्रण ल्याउन मागिरहेको हो कि?'

झल्लु प्रसादले २० वर्ष अगाडिकै भौगोलिक दृश्यमा आधारित रहेर आज पनि फिल्म बनिरहेको प्रसङ्ग उप्काउँदा वक्ताद्वयले त्यसमा क्रमिक सुधार देखिएको उल्लेख गरे । वक्ताद्वयले स्थानीय हिसाबमा अलराउन्डरको भूमिकामा आफू लाग्दा आफ्ना काममा कमीकमजोरी भएको पनि स्विकारे । उनीहरूले केन्द्र या काठमाडौँबाट रोल्पाको कथाबारे फिल्म बनाउने मनाशय व्यक्त गर्दै प्रत्यक्ष-परोक्ष रूपमा आफ्नो सहयोग रहने उल्लेख गरे । 



 



यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार