काठमाडौँ - गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरूको गहिरो प्रेमले बिहेको आकार पनि लियो ।

तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले अर्कैसँग बिहे गरिन् ।’

यो खबरले उनलाई विक्षिप्त त बनाउने नै भयो, सँगसँगै मानसिक सन्तुलन नै गुमाउने अवस्थामा पुगे । साथीको यो सब कथा नजिकबाट नियालिरहेका दर्पणले अनि लेखे, ‘तिमीले बाटो फेर्‍यौं अरे, अर्कैलाई हेर्‍यौं अरे ।’

६ वर्षअघि राजेशपायल राइ र मेलिना राइ दुवैको आवाजमा फरक–फरक भर्सनमा रेकर्ड भएर बजारमा सार्वजनिक भएको गीत हो यो । गीत यति रुचाइयो कि युट्युबमा सर्वाधिक हेरिएको आधुनिक गीतको सूचीमा पर्‍यो । मेलिनाले गाएको भर्सन त दुई करोड भ्यूजको नजिक छ । 

‘मैले त आफ्नो नजिकको साथीको कथालाई महसुस गरेर लेखेको थिएँ, तर यो धेरै मान्छेहरूको जीवनसँग पनि नजिक हुन पुगेछ, सायद उहाँहरूलाई आफ्नै वरपरको कथा जस्तो पनि लाग्यो, त्यसैले रुचाइदिनुभयो,’ दर्पण सुनाउँछन् । 

गीतको पहिलो भर्सन हिट भएपछि दर्पणले तीनवर्षअघि यसको दोश्रो भर्सन निकालेका थिए र अहिले तेश्रो भर्सन लिएर आएका छन् बजारमा । उनलाई साथीको त्यो वियोगान्त कथा पहिलो भर्सनमै भनेर पुगेको छैन । सिक्वेल नै ल्याइरहेका छन् । 

‘यो नाममात्रै सिक्वेल होइन । यसको हरेक भर्सनको अघिल्लो भर्सन सम्बन्ध छ । मलाई साथीको कथा भनेर पुगेकै छैन । त्यसैले जबजब मलाई उसको कथाले हिर्काउँछ, म शब्दमा कोरिहाल्छु,’उनी भावुक सुनिए ।   

यो गीत लेख्दै गर्दा सर्जकका हिसाबले दर्पण त भावुक हुने नै भए तर तीनवटै सिक्वेलमा स्वर दिएकी मेलिनासँग समेत यसको मिठो संस्मरण छ । 

कथा हो तीन वर्षअघिको । काठमाडौंस्थित अनामनगरको एमएमएस इन्टरटेन्मेन्टको स्टुडियोमा ‘तिम्ले बाटो फेर्‍यौं अरे–२’को भिडियो सुटिङ भइरहेको थियो । भिडियोमा लिपसिंकका लागि सजिएर आइपुगेकी थिइन्, मेलिना । माहोल रमाइलै थियो । तर, जब मेलिनाले यो गीतको अन्तरा गाउँदै गइन्, एक्कासीका उनका आँखा आँशुले टिलपिल भए । लिपसिंक दिनै सकिनन् । वरिपरि मौनता छायो । निर्देशकदेखि क्यामेराम्यानसम्म सब शान्त भए ।

‘त्यतिबेला मेलिनाजी रोएपछि आधा घन्टा हाम्रो सुटिङ नै रोकिएको थियो । खै किन रुनुभयो त्यो त थाहा छैन तर पक्कै गीतले छोएर रुनुभयो,’ दर्पणले सम्झिए ।

मेलिनालाई पनि यो गीतको सबैभन्दा छुने पार्ट नै अन्तरा हो । भन्छिन्, ‘गीतको अन्तरा ‘तिम्ले बाटो फेर्‍यौ अरे, अर्कैलाई हेर्‍यौ अरे’गाउँदा रोएकी थिएँ । मलाई यो गीतको सबैभन्दा मनपर्ने पार्ट नै यो अन्तरा हो ।’

पहिलो र दोस्रो संस्करणपछि हालै सार्वजनिक भएको यो गीतको तेस्रो भर्सनले पाइरहेको तारिफले पनि दंग छन्, दर्पण । छोटो समयमा गीतलाई युट्युबमा चार लाख ५३ हजार भन्दा बढी पल्ट हेरिएको छ । 

‘क्वालिटीका हिसाबले पहिलो र दोस्रो भर्सनभन्दा अझ मिहनेत गरेका छौं । गीत स्लो भर्सनमा छ । सायद श्रोताले उस्तै प्रेम गर्नुहुनेछ,’ दर्पण आशावादी छन् । 

तेस्रो भर्सनमा स्वर मेलिनाकै छ भने यसमा संगीत विक्रम राइले भरेका छन् । दोस्रो भर्सनमा पनि विक्रमकै संगीत थियो तर पहिलो भर्सनमा भने टंक बुढाथोकीले संगीत गरेका थिए । 

शान थापाले निर्देशन गरेको तेस्रो भर्सनको भिडियोमा पनि दर्पण र मेलिना नै फिचर्ड छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार