तमोग्ना हल्दर
मोहनदास करमचन्द गान्धीलाई महात्माको पगरी गुथाउँदै र विश्वमाझ अहिंसात्मक आन्दोलनका महानायक करार गर्दै सबैका साझा ब्यक्तित्वको रुपमा ब्रान्डिङ र प्रचार–प्रसार गर्नु भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रपोगान्डा हो । त्यसैले त अमेरिकाको कुनै कुनामा कसैले गान्धीको छविमाथि आलोचनात्मक टिप्पणी गरे मात्रैपनि त्यसले भारत र बाहिर सबैतिर हलचल पैदा गर्छ । 

जनवरी २७ को विहान क्यालिफोर्नियाको डेभिसमा गान्धीको शालिक तोडफोड भयो । यो धातुको प्रतिमाको फेद कसले र किन गिडीदियो थाहा भएन, तर तत्कालै यसको निन्दा भने शुरु भइहाल्यो । भारतिय संचार माध्यमले यसलाई यसरी प्रश्तुत गर्यो मानौं यो गान्धीको शालिकमाथिको होइन सिङ्गो भारतिय नागरिकमाथिको हमला हो । अनि यसलाई तिनले तत्कालै घृणाजनक अपराधको रुपमा प्रचार–प्रसार गरे । भारतिय परराष्ट्र मन्त्रालयले यो तोडफोडको भत्सर्ना गर्दै अमेरिकालाई छानबिन गराउन चिठ्ठी समेत लेख्न भ्यायो । 

त्यसको केही दिन पछि त मन्त्रालयले केही आधारबिनानै डेभिसको घटनालाई अनावश्यकसँग भारतिय किसान आन्दोलनसँग जोड्दै विज्ञप्ति निकाल्यो । ‘अहिले केही स्वार्थ समुहले आन्दोलनमा तिनका एजेण्डा घुसाउन खोजेका छन् ’ मन्त्रालयले उल्लेख गरेको थियो, ‘तिनीहरु भारतविरुद्ध अन्तर्राष्ट्रिय सद्भाव भड्काउन लागिपरेका छन् . . .महात्मा गान्धीको शालिक विश्वभरी छ । त्यसैले यस्ता हर्कतले भारत र सभ्य समाजलाई चोट पुर्याएको छ ।’ 


फोटोः बिबिसी


कतिपय मुलधारका मिडियाले शालिक तोडफोडको दोष खुल्लमखुल्ला क्यालिफोर्नियाका सिख संप्रदायलाई दिन भ्याए । तिनले भारतमा आन्दोलनरत सिख किसानहरुको समर्थनमा त्यसो गरेको भन्दै निराधार आरोप लगाए । अमेरिकामा पनि यो घटनाले ब्यापक प्रतिक्रिया पायो । तर त्यहाँको प्रतिक्रिया भारतको भन्दा नरम तथा फरक–फरक दृष्टिकोणका थिए । 
स्थानिय तथा संघिय प्रशासनले घटनाको निन्दा गर्यो भने भारतिय–अमेरिकीले शालिक पुनर्स्थापनाको लागि र्याली निकाले । तर धेरै संघठनहरुले त्यो शालिक त्यहाँ अनावश्यक भएको र सन् २०१६ मा डेभिसमा शालिक राख्दा नै धेरैजसो त्यहाँस्थित भारतिय–अमेरिकीले नरुचाएको भन्दै प्रदर्शन र विज्ञप्ति पनि निकाले । 

द क्यालिफोर्निया सिख युथ एलाइन्सले यसरी शालिक ढालिएको समर्थन नगरेपनि शालिकले ब्यक्तिलाई महामानवको रुपमा करार गर्ने हुँदा यस्ता शालिकको समर्थन पनि नगर्ने बतायो । ‘गान्धीको जातिवाद, अश्वेत–विरोधी छवीमा कुनै सन्देह छैन र यो डेभिसको मुल्य र मान्यता विपरित छ’ संघठनले उल्लेख गरेको थियो ।

डेभिसमा शालिक राखिसकिएको छ । तर यो घटनाले गान्धीको महात्माको छवि र भारतिय प्रशासनको उनीप्रतिको धारणामा भने केही प्रश्नहरु तेर्साइदिएको छः  किन भारतको औपनिवेशविरुद्धको शक्तिसाली बिम्ब अमेरिकामा घोर जातिवादी बिम्ब बनेको छ ? भारतको हिन्दु राष्ट्रवादी सरकार जसको हिंस्रक इतिहासले नै गान्धीको हत्या भएको थियो अहिले किन यही सरकार गान्धीको बचाउमा हात धोएर लागेको छ ? अझ सबैभन्दा महत्वपुर्ण प्रश्न त अहिलेको जातीय न्यायको अभियान तथा आन्दोलनले गान्धीको विवादास्पद छविलाई कसरी लिन्छ भन्ने नै हो ।

गान्धी र जातिवाद

गान्धी भारतिय ब्यापारीको प्रतिनिधित्व गर्दै वकिलको रुपमा सन् १८९३मा दक्षिण अफ्रिका गए र त्यो ब्रिटिस उपनिवेशमा २१ वर्ष बिताए । यो दुई दशक अफ्रिका बसाइमा उनले धेरै अश्वेतविरुद्ध जातिवादी हर्कत देखाए । वास्तवमा उनी जातिवाद विरोधी क्रियाकलापका कारण त्यहाँ स्थापित भएका होइनन् । बरु जातीय विभेदको पृष्ठपोषण गर्दै आफु र आफ्नो समुदायको स्वार्थसिद्धी गरेका कारण उनी त्यहाँ स्थापित भएका हुन् ।

अफ्रिकाको पोष्ट अफिसमा श्वेत र अश्वेतको लागि फरक–फरक प्रवेशद्वारको ब्यावस्था गरिएको थियो । भारतियहरु पनि अश्वेतले प्रयोग गर्ने प्रवेशद्वारबाट गुज्रनुपर्थ्यो । गान्धीले अफ्रिकामा गरेको पहिलो विद्रोह भनेको उनले अशवेतहरुले प्रयोग गर्ने प्रवेशद्वारबाट गुज्रन इन्कार गरे । त्यतिबेला तिनले अश्वेतलाई ‘काफिर’को संज्ञा दिए । अनि आफु तिनीहरुभन्दा उच्च भएकोले अर्कै प्रवेशद्वारको ब्यावस्था गर्न माग गरे । उनको अफ्रिका बसाइको दौरान ब्रिटिसले भारतियहरुलाई अश्वेत अफ्रिकन भन्दा फरक र विशेष ब्यावहार गर्नुपर्छ भन्ने देखाइरहे । 

उदाहरणको लागि उनले प्रष्टसँग औपनिवेशिक दक्षिण अफ्रिकाको सरकारलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘म यो प्रष्ट पार्छुकी ब्रिटिस र भारतिय दुवै एकै इन्डो–आर्यन वंशबाट आएका हौं ।’ उनी थप भन्छन्, ‘जंगली न्याटिभ अफ्रिकनभन्दा भारतियहरु केही राम्रा छन् भन्ने धारणा यहाँ ब्याप्त छ । बालबालिकालाई पनि त्यही अनुरुप ब्यावहार गर्न सिकाइन्छ । यसले भारतियलाई पनि काफिरहरुकै स्थानमा तल झारेको छ ।’ 

यसरी दक्षिण अफ्रिका बसुन्जेल गान्धीले अश्वेत अफ्रिकनहरु भारतियभन्दा तुच्छ हुन् भन्ने वकालत गरिरहे । सार्वजनिक रुपमै जातको आधारमा बसोवास क्षेत्र छुट्याउने र सामाजिक दुरी निर्धारण गनुपर्ने बिचार पोख्दै उनी हरेक अवसरमा ब्रिटिस उपनिवेशकारीसँगै टाँसिएरहे । उदाहरणको लागि बोर युद्धमा गान्धी ब्रिटिस सेनाको सर्जेन्ट मेजरको रुपमा खटिएका थिए । एकै नस्लिय–वंशिय उत्पत्तिको हवाला दिदैँ गान्धीले जसरी अफ्रिकामा ब्रिटिसप्रति बफादारिता देखाए, धेरै प्राज्ञहरुले आजपनि उनलाई जातिय विभेदको विरोधी नभएर पृष्ठपोषकको रुपमा लिइरहेका छन् ।


फोटोः रोयटर्स


गान्धीको शालिक अमेरिकामा ढल्नु

अहिलेको अमेरिकाको समकालिन जातिवादविरुद्धको आन्दोलनको पृष्टभुमीमा कुनै आन्दोलनकारीले अमेरिका र युरोपमा औपनिवेशवादी तथा दास ब्यापारीको शालिक ढालेजस्तै गान्धीको पनि शालिक ढालेको कुरा प्रष्ट बुझिन्छ । यद्दपि अमेरिकामा गान्धीको शालिक ढाल्नुले जातिय विभेद विरुद्धको आन्दोलनलाई राम्रो भन्दा नराम्रो नै गर्नेछ । गान्धी ति शालिक ढालिएका दासब्यापारी जस्ता होइनन् । गान्धीले अमेरिकाको जातिय विभेदलाई प्रशय दिने कुनै काम गरेका छैनन् । बरु उनको अहिंषात्मक आन्दोलनबाट प्रभावित हुँदै मार्टिन लुथर किङ जेफर्सनले त्यही गान्धी शैलीलाई जातिय विभेद विरुद्धको मोर्चामा प्रयोग गरेका थिए ।

अहिले ढालिएका अधिकांश शालिकहरु अमेरिकन सिभिल राइट मोभमेन्टका दौरान श्वेत वर्चस्वता कायम गर्दै अफ्रिकन अमेरिकीलाई दमन गर्ने नियतले स्थापित गरिएका थिए । तर गान्धीको केही वर्ष पहिला स्थापित शालिक उनको धेरैलाई थाहा पनि नभएको जातिवादी दृष्टिकोणलाई पुरस्कृत गर्नको लागि भने पक्कै होइन । विश्वमै चिर–परिचित औपनिवेशिक दमन विरुद्ध उनको अहिंषात्मक आन्दोलनका छविका कारण उनको शालिक स्थापना गरिएको हो । 

जे भए पनि धेरै भारतिय–अमेरिकीको नजरमा गान्धी एकदमै सम्मानित ब्यक्तित्व हुन् । जसरी तिनले गान्धीलाई आफ्नो पहिचानको रुपमा लिन्छन् त्यसरी नै उनको शालिकमाथिको तोडफोडलाई जातिवाद विरुद्धको कदमको रुपमा नभइ आफ्नो समुदायको आस्थामाथिको प्रहारका रुपमा बुझ्छन् ।

गान्धीको विवादास्पद छविका सम्बन्धमा आवस्यक बहस नगरिकन उनको शालिक तोड्नाले भारतिय–अमेरिकीलाई चोट पुर्याउने र जातिवाद विरुद्धको आन्दोलनको ध्यान अन्तै खिच्ने मात्र काम हुन्छ । त्यसैले जातिवाद विरुद्धको आन्दोलनको रुपमा अमेरिकामा गान्धीको शालिक तोडफोड गरिनुमा पनि प्रश्न उठाउन जरुरी छ । सँगसँगै घटनालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्दै भारतिय सरकारले गान्धीलाई जसरी औपनिवेश विरुद्धको भिमकाय बिम्बको रुपमा प्रपोगाण्डा मच्चाइरहेको छ त्यसको पनि समिक्षा हुनै पर्छ । 

हिन्दु राष्ट्रवादः जसले गान्धीको हत्या गरेको थियो 

३० जनवरी, १९४८ मा नाथुराम गोड्सेले गोली हानी गान्धीको हत्या गरे । गोड्से हिन्दु राष्ट्रवादी तथा लामो समयसम्म राष्ट्रिय स्वयमसेवक समाज (आरएसएस)का सदस्य रहिसकेका ब्यक्ति थिए । आरएसएसनै अहिलेको सत्तासिन दल भारतिय जनता पार्टीको बैचारिक तथा साघंठनिक पृष्ठभुमी हो । अरु हिन्दु अतिवादीले जस्तै भारत विभाजनका दौरान गान्धीले मुस्लिमलाई बढी फाइदा पुर्याएको भन्ने सोचेर गोड्सेले गान्धीको हत्या गरेका थिए । त्यसैले धेरैले गान्धीको हत्यालाई हिन्दु राष्ट्रवादको बर्बर आतङ्कको रुपमा लिने गरेका छन् । 

भारतका हिन्दु राष्ट्रवादीलाई राम्रोसँग थाहा छ कि गोड्से दशकौंसम्म आरएसएसका सदस्य रहेका थिए । गोड्सेको प्रशङ्ग आउँदा उनीहरु गोड्से गान्धीको हत्या गर्नु वर्षौ पहिला मात्रै आरएसएसको सदस्य भएको झुट बोल्छन् । तर धेरै एतिहासिक दस्तावेजले भन्छ कि गान्धीको हत्या गरिएको दिनसम्मपनि आरएसएस तथा त्यसका नेतासँग गोड्सेको घनिष्ट सम्बन्ध मात्र थिएन, नियमित संवाद पनि हुने गरेको थियो । फासीँदिनु केही पहिला समेत गोड्सेले आरएसएसको आधिकारिक गीत गुन्गुनाउँदै थिए ।

आजसम्मपनि आरएसएसले गोड्सेले जीवनभर अनुशरण गरेको विभाजन र हिंषाको राजनीति पछ्याइरहेको छ । यो सत्तारुण दल भाजपाको भातृसंघठनमा कतिपय भाजपा नेता तथा संसदहरु नै आबद्ध छन् जसले गोड्सेलाई ठूलो राष्ट्रवादी बिम्बको रुपमा लिने गर्छन् । हासोँ लाग्दो त यो छ कि २०१४ को चुनावी विजय पश्चात् भाजपा र आरएसएस दुवै गान्धीको छविलाई ‘क्यास’ गर्न लागि परेका छन् । 

केन्द्रिय सरकारमा नियन्त्रण पाइसकेपछि, हिन्दु राष्ट्रवादीहरु अहिले नयाँ इतिहास लेखाउन उद्देलित छन् । यनीहरु झुटको खेती गर्दै आफ्ना सबै काम आधुनिक भारत निर्माणको लागि जायज थिए भन्ने देखाउन चाहन्छन् । स्वतन्त्रता संग्रामका दौरान धेरैजसो हिन्दु राष्ट्रवादी नेता ब्रिटिसप्रति नतमस्तक देखिन्थे । अहिले आरएसएस र भाजपा दुवै गान्धीको बडाइ–चडाइ गर्दैछन् । प्रधानमन्त्री नरेन्दर मोदी जो विदेशी आएपनि तिनलाई लिएर गान्धीधाम या आश्रम पुगिहाल्छन् । तर गान्धीले तिनका दल र आरएसएसका अतिवादी प्रवृति तथा उच्छृङ्खल गतिविधिको कहिल्यै समर्थन गरेनन् । 

यिनका अहिलेका यि सबै गतिविधि एकदमै ढोंगी छन् । किनकी तिनकै अतिवादी बिचारधाराका कारण गान्धीको हत्या भयो । गान्धीमा पनि धेरै कमीकमजोरी छन् तरपनि उनले भाजपा र आरएसएसका हिंषात्मक र विभाजनकारी राजनीतिको कहिल्यै समर्थन गरेनन् । भाजपाले आजसम्मपनि मुस्लिमलाई ‘दोस्रो दर्जाको नागरिक’को रुपमा लिइरहेको छ । तर गान्धीले सबै धर्मावलम्बीले स्वतनत्र रुपमा राज्यको कुनैपनि प्रकारको भेदभाव र दमनबिना बाच्न पाउने कुराको वकालत गर्दै आए ।

उनले पटक–पटक लेखेका थिए कि हिन्दु र मुस्लिमबीचको बैमनस्यता र अविस्वासको मुल कारण भनेको औपनिवेशिक सत्ताले स्वार्थानुकुल दुई समुदायबीच गरेको विभेदकारी ब्यावहार हो । अहिले पनि हिन्दु राष्ट्रवादीहरु भारतलाई हिन्दु राष्ट्रमा रुपान्तरण गर्न तल्लिन छन्, त्यतिबेलै गान्धीको भारतलाई उदार लोकतन्त्र बनाउने सपना थियो । उनको ‘स्वराज’को अवधारणाको मुख्य जग भनेकै साप्रदायिक एकता र ब्रिटिसविरुद्धको एकिकृत आन्दोलन थियो ।

गान्धी र अन्य हिन्दु राष्ट्रवादीबीचको फरक त ‘भगवान राम’प्रतिको फरक–फरक बुझाइबाट नै प्रष्ट हुन्छ । पौराणिक रामकथाका धेरै स्वरुप छन् । भाजपा, आरएसएस तथा अन्य हिन्दु राष्ट्रवादीहरुले धेरै पहिलादेखि नै राष्ट्रवादको एजेण्डामा रामलाई जोड्ने गरेका छन् । आफ्ना समर्थकलाई हौस्याउन उनीहरु ‘जय श्री राम’को नारा लगाउने गर्छन् । र, यही नारा फलाक्दै उनीहरु मुस्लिमको मास लिचिङ वा कत्लेआम गर्छन् ।

राम राज्य न्यायप्रेमी थियो भन्ने मान्यता उत्तरी भारतमा ब्याप्त छ । त्यसैले उत्तरी भारतका किसानलाई प्रभाव पारेर स्वतन्त्रता संग्राममा अग्रसर गराउन गान्धीले रामको प्रशङ्ग ल्याएका थिए । उनले बिभाजनको लागि होइन एकताको लागि यसो गरेका थिए । ‘सबै भगवानका नामहरुले एउटैलाई जनाउँछ, त्यो भनेको इश्वर र अल्हाह नै हो’ गान्धीको तर्क थियो । गान्धीले रामको प्रयोग एकताको लागि गरेका थिए भने भाजपा र आरएसएसले यसलाई हिन्दु सर्वोच्चता कायम गर्न र हिंष्रक गतिविधिमा प्रयोग गरिने नारामा रुपान्तरण गरेका छन् ।

त्यसैले गान्धीले खेपिरहेको जातिवादीको आरोपका कारण आफू दुःखी भएको ढोंग जुन हिन्दु राष्ट्रवादीले अहिले देखाइरहेका छन् यो राजनीतिक, नैतिक र इमानका हिषावले पनि पटक्कै मेल खादैँन । गान्धी  स्वयम्ले आफ्नो छविको रक्षा गर्नुपर्नेछ ।


फोटोः बिबिसी


 

गान्धीलाई आज के गर्नपर्ला ?

गान्धीको राजनीतिक बिचारधारा र ब्यक्तिगत जीवन दुवै आलोचनाबाट बञ्चित छैन । त्यसो त माक्र्सवादी भगत सिंहदेखि बिद्धान अम्बेडकरसम्मले उनको खरो आलोचना गरेका छन् । भारतका ‘महात्मा’को राजनीतिक दृष्किोणमाथि सिंहले तथा ब्रामणवादी चिन्तनमाथि अम्बेडकरले प्रयाप्त आलोचना खण्डन गरेका छन् । आजपनि गान्धीका समस्थाग्रस्त बिचार र ब्यावहारमाथि बेलाबखत अरुन्धती रोयले तीर चलाइ रहेकी हुन्छिन् । 

सायद गान्धी कहिल्यै ‘महात्मा’को उपमाको लायक छैनन्, न त उनी औपनिवेश विरुद्धको लडाईंका एकमात्र सोलो बिम्बनै हुन् । यद्दपि हिन्दु राष्ट्रवादीहरु अहिले गान्धीले जीवनभरीको संघर्षबाट स्थापित उपलब्धीहरु धुलिसाथ पार्न लागिपरेका छन् । अनि फेरी तिनहिरु नै गान्धीको विवादास्पद छविलाई डाकछोप गर्दै, बहसमा आउन नदिएर निश्चित राजनीतिक स्वार्थ लुट्दैछन् । 

गान्धीको जातिवादी चरित्र तथा उनले पृष्टपोषण गरेको जातिय विभेद र ब्यावस्थामाथि कडा बहस गरौं । र, फेरी एकपटक यि कमीकमजोरी सहितमा ब्यक्तिको भ्रमपुर्ण छविमाथि पनि निर्मम समिक्षा गरौैं । त्यसैगरि, जसको बिचारधाराका कारण उनको हत्या गरियो तिनै हिन्दु राष्ट्रवादी शासकको चङ्गुलबाट गान्धीलाई खोस्न गान्धीकै जुनुन बोकेर फेरी एकपटक एकजुट हौं ।

(भारतिय विद्यार्थी तमोग्ना हल्दर युनिभर्सिटी अफ क्यालिपलोर्निया, डाभिसमा अर्थशास्त्रमा विद्यावारिधी गर्दैछन् ।)
अल जजिराबाट
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...

सम्बन्धित समाचार