टोकियो/यही २०२४ फ्रेब्रुवरी २५ तारिख आइतबार टोकियोको ओकुबोस्थित काठमाण्डु लञ्च एण्ड बारको सभाहलमा सम्पन्न हुन लागेको किरात याक्थुङ चुम्लुङ, जापानको छैठौँ महाधिवेशन तयारी पूरा भएको छ । 
    किरात याक्थुङ चुम्लुङ, जापानले महाधिवेशन सम्बन्धमा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारी पूरा भएको जनाएको हो । किरात याक्थुङ चुम्लुङ सङ्घीय कार्य समितिको नेतृत्वमा भइरहेको कथित ‘कोशी’ नाम खारेज तथा प्रदेश नं. १ को नाम पुनः नामकरण गराउने आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रदेश नं. १ को नाम ‘लिम्बुवान, किरात नामकरण’का लागि प्रवास जापानबाट दबाव दिन यो महाधिवेशन केन्द्रित हुने चुम्लुङका महासचिव मुक्साम लाओतीले बताएका छन् । महाधिवेशनमा जापानको टोकियो, गुन्मा, चिवा, तोचिगी, इबाराकी, सिजुओका, नागोया, सेन्दाइ, होक्काइदो, फुकुओका, ओकिनावा, ओसाका, एहिमे लगायत क्षेत्रबाट १९७ जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ । 




    महाधिवेशन दुई सत्रमा सञ्चालन हुनेछ । मध्यान्ह १२ बजेबाट दिउँसो २ बजेसम्म खुला उद्घाटन सत्र सञ्चालन हुनेछ भने दिउँसो ३ बजेबाट ४ बजेसम्म बन्द सत्र तथा ४ बजेबाट ५ बजेसम्म मतदान प्रक्रिया हुने जनाइएको छ । बन्द सत्रले चुम्लुङको ‘ओकुबो घोषणा पत्र’ जारी गर्ने तयारी गरेको छ । चुम्लुङले यस अघि २०२४ जनवरी २८ तारिख विधान सम्मेलन सम्पन्न गरि संशोधित विधान मस्यौदा तथा साङ्गठनिक प्रगति र आर्थिक प्रतिवेदन पारित गरिसकेको छ । 
    बन्द सत्रको निर्वाचन प्रक्रियाबाट २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै महाधिवेशन सम्पन्न हुनेछ । निर्वाचन प्रक्रिया सञ्चालनका लागि संस्थापक अध्यक्ष एवम् सल्लाहकार रिद्धिबहादुर तुम्बाहाङ्फेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । बन्द सत्रलाई व्यवस्थित बनाउन सदस्य लोकेन्द्रकुमार नेयोङको संयोजकत्वमा १० सदस्यीय स्वयम् सेवक निर्माण गरिएको छ ।
    चुम्लुङ, जापानले मिति २०२३ नोभेम्बर ०१ तारिख देखि २०२३ नोभेम्बर ३० तारिख सम्ममा जम्मा २७१ जना जापानवासी याक्थुङहरूलाई किरात याक्थुङ चुम्लुङ, जापानको साधारण सदस्यता वितरण सम्पन्न गरेको थियो । मिति २०२३ डिसेम्बर ११ तारिख देखि २०२४ जनवरी २० तारिखसम्म छैठौँ महाधिवेशनका लागि १९७ जनाको प्रतिनिधि नाम दर्ता सम्पन्न गरेको थियो । नयाँ कार्यसमिति निर्वाचनका लागि २०२४ फेब्रुवरी ६ देखि १० तारिखसम्म उम्मेदवारी दर्ता गरि आवश्यक सम्पूर्ण प्रक्रिया र चरण पूरा गर्दै २०२४ फेब्रुवरी २१ तारिख अन्तिम नामावली प्रकाशन गरिसकेको छ । यसअघि सहमतीय प्रणालिबाट कार्यसमिति चयन गर्दै आएको चुम्लुङले यसपटक पनि सहमतिका लागि पहल गर्दापनि सहमति जुट्न नसकेपछि पहिलो पटक मतदान प्रक्रियाबाट कार्यसमिति निर्वाचित गर्न लागेको हो ।
    जापानवासी याक्थुङ समुदायको सामाजिक, सांस्कृतिक कार्यमा सक्रिय चुम्लुङले जापानमा रहेका नेपालीहरूमा आइपर्ने आपत विपत तथा विभिन्न कार्यहरूमा अन्य संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएको छ । यसका साथै याक्थुङ भाषालिपिको संवद्र्धनका लागि पुस्तक प्रकाशन, भाषालिपि प्रशिक्षण, ऐतिहासिक सांस्कृतिक सम्पदा संरक्षणका लागि मुक्कुम्लुङ केलाःङ निङ्वा?सो (च्याब्ब्रुङ स्टाचु) निर्माण, मुक्कुम्लुङ्मा स्मारिका प्रकाशन, प्राज्ञिक कार्यका लागि याक्थुङसँग सम्बन्धित विविध विषयमा अध्ययन अनुसन्धान,  पत्रकारिता पुरस्कार स्थापना जस्ता महत्वपूर्ण कार्यहरू गर्दै आएको छ । प्रवासमा रहेका याक्थुङ समुदायमा याक्थुङ मौलिक संस्कार र संस्कृति पुस्तान्तरणका लागि चुम्लुङको भूमिका महत्वपूर्ण रहँदै आएको छ । महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न जापानवासी याक्थुङ समुदायलाई विज्ञप्ति मार्फत् अपिल गरिएको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार