एजेन्सी – भिमा कोरेगाँउ घटनाका आरोपित सामाजिक अभियन्ता स्टेन स्वामीको मुम्बइको होली फेमिली अस्पतालमा आज निधन भएको छ ।
८४ वर्षीय अभियन्ता एवं क्याथोलिक फादरलाई कोभिड–१९ पोजेटिभ देखिएपछि जेलबाट अस्पताल सारिएको थियो । आइतबार स्थिति नाजुक बनेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको थियो । सोमबार दिउँसो उनको निधन भएको हो ।
आजै स्वामीको धरौटीमा रिहाइको लागि मुम्बई उच्च अदालतमा सुनुवाही पनि हुँदै थियो । तर सुनुवाही अघि नै स्टनले प्राण त्यागेका छन् । स्टेन स्वामीमाथि भिमा कोरेगाँउमा हिंसा भड्काएको आरोप सरकारले लगाएको छ । १ जनवरी, २०१८ मा त्यहाँ दलित समुदायले गरेको कार्यक्रममा झडप भएको थियो । कैयौं सवारी साधन जलाइएको थियो भने एकको मृत्यु भएको थियो ।
यसै घटनालाई लिएर ८ अक्टोबर, २०२०मा स्टन स्वामीलाई गिरफ्तार गरिएको थियो । बयोबृद्ध सामाजिक अभियन्ता आदिवासी, जनजाती तथा दलितका अधिकारका लागि आजीवन संघर्षरत थिए । जेलमा उनको हालत मे महिनाको शुरुदेखि नै नाजुक बन्दै थियो । जेल प्रशासनले उनको कोभिड–१९ टेस्ट सम्मपनि नगराएको आरोप लागेको थियो । यो हल्ला भइसकेपछि कोभिड टेस्ट गराउँदा उनी संक्रमित पाइएका थिए ।
एक दिन पहिला राष्ट्रिय मानव अधिकार आयोगले समेल स्वामीको स्वास्थ्य स्थितिलाई लिएर महाराष्ट्र सरकारको ध्यानाकर्षण गराएको थियो । एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...