जो हिलको कसुर केही थियो भने उनी मजदुर हकहितका लागि अहोरात्र खटिने एक अभियन्ता थिए
जो हिलको कसुर केही थियो भने उनी मजदुर हकहितका लागि अहोरात्र खटिने एक अभियन्ता थिए
पल रब्सनलाई हिलले सपनामा आएर भने झैं उनी मरेका छैनन्, आजपनि विश्व मजदुर आन्दोलनका जिउँदोजाग्दो र चम्किलो मशाल हुन् जो हिल । जो सँधै हामी माझ रहिरहने छन् ।
मैले आजराती सपनीमा
जो हिललाई देखेँ
जिउँदो–जाग्दो, तपाईं र म जस्तै,
‘तिमी त दश वर्ष पहिल्यै मरिसकेका हौ’ मैले सोधेँ
‘अहँ, म कहिल्यै मरिन’, उसले भन्यो
‘अहँ, म कहिल्यै मरिन’ !!!
अफ्रिकन–अमेरिकी लिजेण्ड गायक पल रब्सनको गीत हो यो । र, उनी सम्बोधन गरिरहेका छन्, जो हिल अर्थात् जोयल इम्यानुयल हगलण्ड जसलाई हामी जोसेफ हिल्सस्ट्रमका नामबाट पनि चिन्छौँ । कहिल्यै नमर्ने जो हिल कुनै अष्टचिरिञ्जिवी थिएनन् । थिए त मामुली कामदार अनि उनी कालगतिले मर्न पनि पाएका थिएनन् । १९ नोभेम्बर, १९१५ मा ३६ वर्षको उमेरमा बिना कसुर उनलाई अमेरिकी प्रहरीले गोली हानी मारेका थिए । उक्त घटनाको दश वर्षपछि १९२५मा रब्सनले यो गीत लेखेका थिए ।
जो हिलको कुनै कसूर थियो भने यिनी स्थायी ठेगाना नभएका, निर्माणको काम गर्ने साइटमा पोका–पन्तुरा कसेर जहाँ काम पाइन्छ त्यही बस्ने फिरन्ते कामदार थिए । अनि उनी मजदुर हकहितका लागि अहोरात्र खटिने एक अभियन्ता थिए । शान्तिपूर्वक मजदुर एजेण्डा उठाउने एक जुझारु योद्धा थिए । एक कवि थिए । कार्टुनिस्ट पनि थिए ।
जो हिल ७ अक्टोबर, १८७९ मा स्वीडेनको गाभ्लेमा जन्मिएका थिए । सानैमा बुवालाई गुमाएका जो हिलले ठूलो आर्थिक संकटबाट गुज्रनुपरेको थियो । युवावस्थामा यिनी क्षयरोगबाट पनि गुज्रिए । अनि २३ वर्षको उमेरमा यनी आफ्नो भाई पउलसँगै अमेरिका सरेका थिए । त्यहाँ उनी कामको माग अनुसार न्युयोर्कदेखि सानफ्रान्सिस्कोसम्म यताउता गरिरहन्थे ।
१९०६ को भूकम्पमा उनी सानफ्रान्सिस्कोमा थिए, त्यतिबेलै मजदुर युनियनमा गोपनियताको लागि आफ्नो नाम जो तथा जोसेफ हिलस्ट्रम राख्न थालेको अनुमान छ । १९१० मा उनी इन्ड्रस्ट्रियल वर्कर अफ द वल्र्ड (विश्व औद्यौगिक मजदुर संगठन)को सदस्य भएका थिए । जसलाई वोब्लिजको नामले पनि चिनिन्छ । त्यतिबेला यनी क्यालिफोर्नियामा मजदुर थिए । १९१०मै उनले संगठनको पत्रिका इन्ड्रस्ट्रियल वर्करमा आफू त्यसको सदस्य भएको खुलाएका थिए ।
उनी विश्व औद्यौगिक मजदुर संगठनमा उदाएका थिए । धेरै ठाउँ घुम्दै मजदुरहरूलाई संगठनमा आबद्ध र संगठित पारेका थिए । उनी जुझारु राजनीतिक गीतहरू लेख्थे, व्यङ्य कविताहरू सुनाउथे र भाषण गर्थे । जो हिलका नाममा उनले धेरै कविता, गीत र कार्टुनहरू निकालेका छन् । उनका गीतहरू त्यतिबेलाका लोकप्रिय धुन र भजनहरूमा आधारित हुन्थे । द पिचर एण्ड द स्लेभ, द ट्र्याम्प, देयर इज पावर इन द युनियन, द रिबेल गर्ल उनका लोकप्रिय गीतहरू हुन् ।
फिरन्ते श्रमिकको रूपमा १९१३ को अन्त्यतिर जो हिल पश्चिमतिर साल्ट लेक सिटीको नजिकै पार्क सिटीको सिल्भर माइनमा काम गर्न गएका थिए । जनवरी १० मा साल्ट लेक सिटीको एक किराना पसलमा रातो फेटा बाँधेका दुई नकावधारीले जोन जि मोरिसन र उनका छोराको हत्या गर्छन् । पसलबाट केही पनि लुटिँदैन, मोरिसन रिटायर्ड प्रहरी अधिकृत हुन्छन् । त्यसैले प्रहरीले कसैले रिसीइबी साँध्न हत्या गरेको निचोड निकाल्छ ।
त्यही साँझ मजदुर जो हिल देब्रे छातीमा गोलीले लागेको घाउ बोकेर स्थानीय क्लिनिकमा पुग्छन् । जो हिलका अनुसार एक महिलाको विषयमा विवाद हुँदा उनलाई गोली हानिएको थियो । त्यहाँको डक्टरका अनुसार, जो हिलको साथमा पेस्तोल पनि थियो ।
मोरिसन प्रहरी अधिकृत भएकैले घटना पश्चात धेरै शंकास्पदलाई तत्कालै समातिएको थियो । जो हिललाई पक्रेर हत्याको अभियोग दर्ज गर्नु पहिला अरू १२ जनालाई समातिसकिएको थियो । जो हिलको कोठामा पनि रातो फेटा भेटिएको थियो । मजदुर अभियन्तासँग त्यो हुनु सामान्य थियो । तर, डक्टरले भनेको जो हिलको पेस्तोल भने भेटिएन ।
पटक–पटक जो हिलले हत्याको आरोप इन्कार गरेका थिए । उनका अनुसार, उनलाई गोली हानिएको बखत उनले आफ्ना दुवै हातले टाउको समाएका थिए । तरपनि जो हिलले कुनै बचाउमा कुनै मुद्धा लड्न पाएनन् । उनका वकिलका अनुसार, साल्ट लेक सिटीमा त्यही दिन अरू चार जनालाई गोली हानिएको थियो । मोरिसनका बारेमा जो हिल खुद अनभिज्ञ थिए त्यसैले अपरिचित व्यक्तिसँग कुनै रिसिबी साँध्ने कुरै भएन ।
तर दर्जनौं प्रत्यक्षदर्शीले हत्यारा जो हिल जस्तै भएको बताएका थिए भला मोरिसनकै १३ वर्षे छोरालाई सुरुमै हिललाई देखाएर सोध्दा ‘उ हुँदै होइन’ भनेको थियो । जे भएपनि जो हिललाई हत्याको दोषी करार गर्न र मृत्युदण्डको फैसला सुनाउन अदालतलाई जम्मा चार घण्टा मात्रै लागेको थियो ।
उटाहको सर्वोच्च अदालतमा दिइएको पुनरावेदन मुद्धा पनि निरर्थक बनेको थियो । जो हिलका वकिल ओरिन एन हिल्टनका वकिल भनेका थिए, ‘जो हिलको अपराध भनेको मजदुर संघठनमा भएको आवद्धता नै हो त्यसैले राज्यलाई उसलाई हत्यारा करार गर्न कुनै गाह्रो भएन ।’
अर्कोतिर, जो हिलले आफूलाई लागेको घाउको विषयमा खुलेर बताउन इन्कार गरिरहे भने आरोपित घटनामा आफ्नो संलग्नता भने ठाडै इन्कार गरिरहे । न्यायधिष ड्यानियल स्ट्रउपले यसलाई बचाउको पर्याप्त प्रमाण नभएको रुपमा अथ्र्याए । त्यसो त अपिल टु रिजन भन्ने एक समाजवादी पत्रिकामा जो हिलले आफूलाई बलीको बोको बनाएको भन्दै लेख लेखेका थिए । त्यसमा उनले भनेका छन् कोही नभएको एउटा स्वीडिस, त्यसमाथि विश्व औद्योगिक मजदुर संगठनको सदस्य हुनु नै उनी मारिन प्रयाप्त कारण थिए ।
तर जो हिलको हत्याले अमेरिका राष्ट्रपति विड्रो विल्सन, दृष्टिविहिन लेखिका तथा पूर्व मजदुर संगठन सदस्य हेलेन केलर एवं स्विडिन राजदुतको ध्यान तानेको थियो । अन्तराष्ट्रिय न्यायिक संघसंथाले समेत हिलमाथि अन्याय भएको निचोड निकालेका थिए । हिल राजनीतिक बन्दी भएको र उनले लेखेका जनवादी गीतकै कारण उनी मारिएको सबैको ठहर थियो ।
२०११ मा प्रकाशित उनको जीवनीमा विलियम ए एडलरको निष्कर्ष छ कि उनी साँच्चिकै निर्दोष थिए, उनलाई मजदुर आन्दोलनमा जीवितै लागिरहेर काम गर्दा भन्दा उनको मरणले आन्दोलनलाई थप टेवा पुग्नेमा हिलको विश्वास थियो ।
नोभेम्बर १९, १९१५मा जेलमै उनलाई गोली हानिएको थियो । ‘फायर, गो अन एण्ड फायर !’ हिल आफैँले तिनलाई चुनौती दिएका थिए । त्यही दिन केही नजिकै बम विस्फोट पनि भएको थियो । प्रहरीका अनुसार जो हिल प्रकरणको विरोधमा कसैले त्यो गरेको थियो ।
आफ्नो फाँसी अघि हिलले विश्व औद्यौगिक मजदुर संगठनका नेता बिल हेउडलाई एक चिठ्ठी लेखेका थिए । उनले भनेका थिए, ‘अलविदा बिल । म वास्तविक मजदुर योद्धा जसरी मर्नेछु । शोकमा कत्तिपनि समय खर्च नगर्नु । संघठित हुनु ।’ त्यस्तै सम्भव भए उनले आफ्नो शव लगिदिन पनि उनले आग्रह गरेका थिए । ‘मेरा इच्छा एकदमै सरल छन्, किनभने विभाजन हुनुपर्ने कुनै कुरा नै छैन’ हिलले लेखेको अन्तिम गीत थियो । यसलाई पछि इथेल रहिमले कम्पोज गरेका थिए ।
जो हिलको शव सिकागो लगिएको थियो । त्यही उनलाई विशर्जन गरिएको थियो । ६०० खाममा उनको अस्तु अलि–अलि राखेर विश्व औद्यौगिक मजदुर संगठनले अन्य साखा कार्यलयमा पठाएको थियो । अमेरिका, क्यानडा, अष्ट्रेलिया, स्विडेन तथा निकारागुवा सम्म उनको अस्तु छरिएको थियो । अस्तु राखिएको एउटा खाम अमेरिकी पोस्ट अफिसले जफत समेत गरेको थियो । यसका प्रमाण पनि राष्ट्रिय अभिलेखाबाट मेटाइएको थियो ।
युनाइटेड अटो वर्कर्स को पत्रिका सोलिडारिटी एवं न्यु योर्करमा पनि यसबारे स्टोरी आएको थियो । जो हिलको अस्तु राखिएको खामभित्र लेखिएको थियो, ‘जो हिल पूँजीवादी वर्गद्घारा मारिए, नोभेम्बर, १९, १९१७ ।’ तर अँह, पल रब्सनलाई हिलले सपनामा आएर भने झैं उनी मरेका छैनन्, आजपनि विश्व मजदुर आन्दोलनका जिउँदोजाग्दो र चम्किलो मशाल हुन् जो हिल । जो सँधै हामी माझ रहिरहने छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...