हमिद दाबासी
फेरीपनि अमेरिकामा अर्को सिमान्तिकृत समुदायका निर्दोष सदस्यहरु बन्दुक हमलाको सिकार भएका छन् । मार्च १६ मा सिलसिलेवार बन्दुक हमलाले एटलान्टा र जर्जियाका तीन स्पाहरुलाई आतङ्कित पारेको थियो । ६ एसियन महिलासहित आठ जना मारिएका थिए । हमलामा शंकास्पद एक श्वेत युवा समातिए । अमेरिकाभरी भएका जातिय हिंसाविरुद्धका प्रदर्शनले आजकाल विश्वको ध्यान तानिरहेको छ । हत्याका तौरतरिका पनि उस्तै छन् । एक हत्यारा आफुलाई श्वेत (गोरा) मानिस भएको परिचय सगौरव खुलाउँछ, सर्वत्र उपलब्ध हुने हतियार उठाउँछ । अनि एसियन, अफ्रिकन–अमेरिकन, अरबियन, मुस्लिम, यहुदी, सिखमाथि आफ्नो मुलुकमा नश्लिय सफाइ गर्ने नाममा अन्धाधुन्द गोली बर्साउँछ । यो शैली आज सुरु भएको होइन । जब स्पेनिसहरु यो भुमीमा छिरे, तिनले यहाँका आदिवासीको कत्लेआम गर्न सुरु गरे । यो नरसंहारकारी प्रवृति समुन्द्रपारदेखिको दास ब्यापारदेखि अफ्रिकन–अमेरिकनको ‘मास लिचिङ’को स्वरुपसम्म निरन्तर रहिरह्यो । अहिले यो फैलिएर अन्य आप्रबासी समुदायप्रति पनि लक्षित भइसकेको छ । यो मुलुकका ‘आपराधिक’ मनस्थिति बोकेका श्वेतहरु अन्य समुदायका व्यक्तिको अनुहार हेर्नपनि चाहँदैनन् । तिनीहरु अमेरिकामा बिशुद्ध गोराहरु मात्र बसुन् भन्ने चाहन्छन् । यदि त्यहाँ गोराहरु मात्रै भएमा पनि तिनीहरु फेरी इटालियन, जर्मन, स्कटिस, पोलिस तथा स्कान्डानाभियनविरुद्ध जाइलाग्छन् । किनकी ‘श्वेत मानिस’सँग एउटा अापराधिक फेन्टासी छ । अापराधिक फेन्टासीका केही उदाहरण यस्ता छन् :
सिमान्तिकृतमाथिको सिलसिलेवर हमला
अगस्ट ५, २०१२ मा भुतपुर्व अमेरिकी सेना तथा श्वेत सर्वोच्चतावादी वाड माइकल पेगले सिख मन्दिरमा अन्धाधुन्ध गोली बर्साउँदा ६ जना मारिएका थिए भने चार अन्य घाइते भएका थिए । घाइते एकको २०२० मा मृत्यु भएको थियो । पेगलाई नरसंहारपश्चात् मन्दिर बाहिर प्रहरीले गोली हानी मारेको थियो ।
फेब्रुअरी १०, २०१५मा देह सद्धी बाराकात (सिरियन–अमेरिकन), उनकी श्रीमती युसोर मोहमद अबु सलाह, उनकी बहिनी राजन मोहमद अबु सलाह, नर्थ क्यारोलिनाको चापेल हिलस्थित आफ्नै घरमा मारिएका थिए । सबै विश्वविद्यालयका विद्यार्थी थिए । ति सबैको हत्या तिनकै श्वेत छिमेकीले गरेका थिए जो अहिले आजिवन काराबासमा छन् । अमेरिकाका उदारवादी प्रेसले यत्रो सामुहिक हत्यालाई पार्किङ विवादको परिणाम भन्न भ्यायो र यसमा अन्तरनिहित श्वेत सर्वोच्चवादी प्रवृतिको ढाकछोप गरिदियो ।
जुन १७, २०१५ मा साउथ क्यारोलिनाको एक पुरानो अश्वेतहरुको चर्चमा बाइबल पढिरहेको अवस्थामा नौ अफ्रिकन-अमेरिकनको हत्या भयो । प्रहरीले तत्कालै डिलान रुफ नाम गरेको श्वेत अतिवादी हमलाकारीलाई समात्यो जसले अपराध पनि सगौरव कबुल गर्याे । उ पनि आजिवन काराबासमा छ ।
अक्टोबर २७, २०१८मा पिटवर्गको यहुदीहरुको धार्मिक कार्यक्रमका बखत एक रोबर्ट जर्जरी बोवेर्स नाम गरेको श्वेत अतिवादीको हमलामा ११ जना मारिए भने कैयाैँ घाइते भए । ऊ अहिले थुनामा छ । ऊ कि मृत्य’दण्ड नत्र ५३५ वर्षको जेल सजाय पर्खिरहेको छ ।
हेर्ने हो भने अमेरिकामा त्यस्तो कुनै वर्ष छैन जुन वर्ष सिमान्तिकृत समुदायमाथि आक्रमण नभएको होस् । तर यदि यि सिमान्तिकृतको संख्या जोड्ने हो भने समग्र युरोपियन मुलकोलाई छोडेर श्वेतको भन्दा अधिक हुन आउँछ ।
बर्बरताको जिम्मेवारी
तिनले देखाइरहेको बर्बरता भनेको ‘विश्वलाई नै सभ्यतातिर डोहोर्याउनु गोराहरुको जिम्मेवारी हो’ भन्ने परम्परागत भ्रमको परिणाम हो । ‘द ह्वाइट म्यान्स बर्डनः द युनाइटेड स्टेट एण्ड द फिलिपिन आइसल्याण्ड (१८९९)’ भन्ने प्रसिद्ध जातिवादी अंग्रेज कवि रुडयार्ड किप्लिङको कविता हो । स्वयम् उनलाई बर्बरता देखाउँदै विश्वलाई सभ्य बनाउने जिम्मेवारी सुम्पिएको थियो । अमेरिकाले फिलिपिन्समाथि कब्जा जमाउँदा यसैको गुणगानमा तिनले यो प्रतिगामी कविता लेखेका थिए । यति अविवेकी, निर्मम र विभेदकारी व्यक्ति कसरी एक कवि हुन सक्छ ? कति ग्रसित थियो उनको मानसिकता ? आजपनि अमेरिकामा आश्रित फिलिपिनी, चिनिया, जापानिज, कोरियन लगायतका अन्य एशियनले तथा अफ्रिकन, ल्याटिन अमेरिकन, यहुदी, मुस्लिम वा सिखहरुले कस्तो महसुस गरिरहेका होलान् ? आजपनि यो अमेरिकामा यिनै ‘श्वेतहरुको जिम्मेवारी’को बोझ हलुको पारिदिन हामी दैनिक आफ्नो हत्याको पालो कुरेर बसिरहेका छौँ ।
मुस्लिम, अश्वेत, एशियन, यहुदी, सिख आदिको सिलसिलेवर हत्याका घटनानै विश्वभर आज अमेरिकाको पहिचान बनेको छ । पहिला अमेरिकी गोराहरुलाई अश्वेत, खैरा र एशियनको हत्या गर्न महादेश बाहिर जानुपर्थ्याे । तर आज कहीँ कुदिरहन पर्दैन, उनीहरु आफ्नै छिमेक र मोहल्लामा प्रशस्त सिकार गर्न पाउँछन् ।
भर्खरै दिस ल्याण्ड इज आवर ल्याण्डः अन इमिग्रेन्ट्स म्यानिफेस्टो (२०१९) भन्ने पुस्तकमा सुकेतु मेहताले कसरी विश्वभरी फिरन्ते आप्रवासी र शरणार्थीले सस्तो श्रमद्वारा यो लोभी पुँजिवादको चक्र घुमाइरहेका छन् भन्ने बढो बेजोडसँग उल्लेख गरेका छन् । मेहताले उल्लेख गरेका छन् कि, कुनै दिन उनका हजुरबुबा लन्डनको एक पार्कमा बसिरहेका हुन्छन् । यत्तिकैमा रुडयार्ड किप्लिङका पाठक कुनै जातिवादी श्वेत त्यहाँ आउँछ र तिनलाई औँलो ठड्याउँदै भन्छ, ‘तँ यहाँ किन आइस् ?’ भारतमा जन्मिएर जीवनभरी उपनिवेश केन्यामा श्रम गरेका हजुरबुवाले जवाफ फर्काउँछन्, ‘किनकी हामी श्रृणी छौँ । हामी यहाँ छौँ किनकी कुनै दिन तिमीहरु हाम्रोमा थियौँ ।’
हामी सबै यहाँ छौँ, किनकी तिनीहरु त्यहाँ (हाम्रोमा) गएका थिए । फ्रान्समा अफ्रिकन, बेलायतमा भारतिय, अमेरिकामा कोरियन, भियतनामी तथा इरानी, शरणार्थी क्याम्पमा प्यालेस्टिनीहरु र बेल्जियममा कंगोलीहरु छन् । हामी विश्वभर भौतारिरहेका छाैँ र हामीले युरोपियन र अमेरिकीहरुले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा देखाएको बर्बरताको पीडा आजसम्म पनि बोकिरहेका छौँ । औपनिवेश र साम्राज्यवादीको बर्बरताबाट निस्किएका मुलुकका मानिसहरु आजपनि परिवारको रोजीरोटीको लागि संसारभरी रुमल्लिरहेका छन् । गरिब मुलुकबाट सम्पन्नतिर सर्नु भनेको गरिबी, जलवायु परिवर्तनको असर, स्थानिय निरंकुशता एवं अमेरिका तथा युरोपले सिर्जेको विश्वव्यापी साम्राज्यवादको चंगुलबाट मुक्त हुन खोज्नु हो । साम्राज्यवादको सवालमा चिन र रसियापनि कम छैनन्, झन् खत्तम छन् ।
मेहताले एउटा तथ्याङ्क दिएका छन् । सन् १५०३ देखि १८०० सम्म युरोपले ल्याटिन अमेरिकाबाट १६५ ट्रिलियन डलर बराबरको त चाँदी मात्र ओसारेको थियो । यो कति हो भनेर आफैँ कल्पना गर्न सकिन्छ । जो बिडनको अमेरिका पुननिर्माण गर्ने बजेट मात्र तीन ट्रिलियन डलर छ । त्यस्तै बेलायतले सन् १७६५ देखि १९३८सम्ममा भारतबाट ४५ ट्रिलियन डलर बराबरको सम्पती लगेको कुरा चर्चित अर्थशास्त्री उत्सा पटनायकले सप्रमाणसँग आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन् । यो त आर्थिक लुटको मात्र प्रसङ्ग हो । खासमा ‘गोरा मानिसको जिम्मेवारी’का नाममा नाफाखोर पुँजिवाद र जातिवादी औपनिवेशिकरणका कारण विश्वभरका पिडितको संख्या अकल्पनिय छ । गोरा मानिसहरुका कारण विश्वभरीनै इतिहासदेखि आजसम्म पनि कति मानिसले कस्तो भुक्तमान सहनुपर्यो त्यसको कुनै लेखाजोखा छैन ।
अमेरिकी लोक गायक वुडी गुथिरेले सन् १९४० मा एक गीत गाएका छन् ‘यो भुमी हाम्रो हो ।’ हो, यो भुमी हाम्रो होइन, यो त न्याटिभ अमेरिकनहरुको भुमी हो । म अहिले जहाँ बसेर यो लेख लेखिरहेको छु यो भुमी लेनापे राष्ट्रमा पर्छ । कोलम्बिया विश्वविद्यालय यही राष्ट्रमा बनेको छ । म लेनापेहरुको निम्तो नगरिएको तर प्रिय पाहुना हुँ ।
वास्तवमा ‘गोराहरुको जिम्मेवारी’ आफैँमा एउटा भद्दा मजाक हो । वास्तविकता होइन । यो घातक भ्रम हो । यो एक जातिवादी कविको घिनलाग्दो कविता शताब्दीऔं देखिको विश्वभर तिनले देखाएको बर्बरतासँगै उदाङ्गो भइरहेको छ । अहिले यो दैनिक जसो अमेरिका भित्रै देखिइरहेको छ ।
(अल जजिराका कोलमिस्ट हमिद दाबासी कोलम्बियन युनिभर्सिटी अन्तरगत इरानियन स्टडिज तथा कम्प्यारेटिभ लिटरेचरका प्राध्यापक हुन् ।)
'अल जजिरा'बाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...