काठमाडौँ – अत्यधिक गर्मीका कारण क्यानडामा १३० जनाभन्दा बढीको मृत्यु भएको छ । 

त्यहाँको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । गर्मीसँगै आएको तातो हावाका कारण मान्छेहरू मृत्यु भएको बताइएको छ । 

मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । क्यानडाको तापक्रम मंगलबार लगातार तेस्रो दिन नयाँ उचाइमा पुगेको हो । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । गर्मीको कारण अमेरिकामा पनि केही मानिसले मृत्यु भएको एजेन्सीहरूले जनाएका छन् ।

जानकारहरूका अनुसार कुनै पनि घटनालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्न भने नमिल्ने भएपनि जलवायु परिवर्तनको कारण तातो हावाको लहरजस्ता विषम अवस्था आउने बताइएकाे छ । आइतबार भन्दा अघि क्यानडाको तापक्रम कहिले पनि ४५ डिग्री सेल्सियस नाघेको थिएन । अधिकारीहरूले क्यानडाको केही क्षेत्रमा गर्मीको कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

बीबीसीका अनुसार अमेरिकाको क्यालिफोर्नियाबाट आर्कटिक क्षेत्रतर्फ बहेको उच्च चापसहितको तातो हावाको कारण क्यानडाको पश्चिमी भाग र अमेरिकामा गर्मी बढेको हो । अहिले समुद्री किनार क्षेत्रमा भने तापक्रम घटिरहेको छ तर भित्री क्षेत्रको अवस्था भने उस्तै छ ।

क्यानाडाको ब्रिटिश कोलम्बिया क्षेत्रका मृतकहरूको जानकारी दिने अधिकारी चिफ कोरोनर लिसा लापोन्टीका अनुसार शुक्रबारयता सामान्य अवस्थामा हुनेभन्दा थप एक सयभन्दा धेरैको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियाको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँकी स्थानीय मेघन फान्डरिचका अनुसार अहिले घर बाहिर निस्किनु असम्भवजस्तै बनेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार