काठमाडाैँ - चिनियाँ वैज्ञानिकहरूले अहिलेसम्मकै बिल्कुलै नयाँ प्रजातिको मानवको प्राचीन खप्पर सार्वजनिक गरेका छन् । वैज्ञानिकहरूको टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नियान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा पनि नजिकको पुर्खा भएको दाबी गरेको छ ।
यो प्रजातिलाई चिनियाँ भाषामा उनीहरूले होमो लङ्गी नाम दिइएको छ । चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ । अहिले भेटिएको खप्पर पूर्वी एशियामा कम्तीमा १ लाख ४६ हजार वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ । यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ ।
ड्रागन म्यानको ठूलो र झण्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ । वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन् ।
सो खप्पर उत्तर–पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन् । सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ ।
यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए । ‘गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,’ उनले बताएका छन्– ‘हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स ९आधुनिक मानव० बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो ।’
अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनःव्याख्या गर्न सहज हुनेछ । उनीहरूको विश्लेषणमा यो प्रजाति नियान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ ।
‘हामीले अहिलेसम्म अनभिज्ञ एउटा हाँगो भेटेका छौँ,’ चिनियाँ वैज्ञानिक सिजुङ् नीले भनेका छन् – ‘यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन । यो साँच्चै नै गजबको खोज हो ।’
यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ । सो स्थानबाट खप्पर हटाइएको कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन् ।
सन् १९३३मा सो सोङ्हुवा जापानीहरूको नियन्त्रणमा रहेको थियो । पुल बनाउन खटिएका चिनियाँ ज्यामीले यो खप्परको पुरातात्त्विक महत्त्व हुनसक्ने अनुमान गरेर घर लगेर इनारमा हालेका थिए । सो इनारमा लगभग ८० वर्ष रहेको यो खप्परको बारेमा मृत्युको समयमा उनले परिवारलाई भनेका कारण वैज्ञानिकहरूको हात परेको थियो ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक मार्टा मिरोजन लहरले ड्रागन म्यान डेनीसोभन प्रजातिको हुनसक्ने आशङ्का गरेका छन् । रुसको डेनीसोभा गुफामा भेटिएको ५० देखि ३० हजार वर्ष पुरानो हातको हड्डीको डीएनए परीक्षणबाट डेनीसोभान प्रजाति भेटिएको थियो ।
‘डेनिसोभान प्राचीन समयको अचम्मको जनसङ्ख्या रहेको थियो । तिब्बतमा भेटिएको चिउँडोको हाड पनि डेनीसोभानको हुनसक्ने देखिएको छ,’ लहरले भनेका छन् । ‘अहिले भेटिएको खप्पर र तिब्बतमा भेटिएको चिउँडोको हाड मिल्न सक्ने देखिएको छ। यसको अर्थ हामीले डेनीसोभानको पहिलो अनुहार भेट्न सक्छौँ ।’ बीबीसीले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...