एजेन्सी – जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका पूर्व प्रहरी अधिकारीमाथि झण्डै २३ वर्षको जेल सजाय सुनाइएको छ ।
मे २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेर हत्या गरेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेपछि उनको मृत्यु भएको थियो ।
प्रहरी अधिकारी चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएकोले यस्तो सजाय दिइएको त्यहाँको अदालतले जनाएको छ । उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरू लगाइएको थियो ।
अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग–अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो । फ्लोइडको परिवार र उनका समर्थकहरुले यो फैसलाको स्वागत गरेका छन् ।
सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...