क्यानडाको क्याथोलिक स्कुलमा भेटिए कम्तिमा थप ६०० आदिबासी बालबालिकाको कंकाल

तिनीहरूले पहिला बालबालिकालाई पिट्न शुरू गर्थे, अनि आफ्नो नियन्त्रण गुमाउँथे । त्यसपछि भित्तामा लगेर टाउको जोतिदिन्थे, भुइँमा फालिदिन्थे, लात्ती वा हातले जहाँ मन लाग्यो त्यहाँ हिर्काउँथे ।

बुधबार मात्रै काउसेस आदिवासी समुदायले सय बढी आदिवासी बालबालिकाको कंकाल आदिवासी बालबालिकाको लागि खोलिएको मेरिएभल आवासीय बोर्डिङ स्कुलको हाताभित्र भेट्टाएको थियो । त्यसपछि मात्रै कम्तीमा अरू थप ६०० बालबालिकाको कंकाल भेटिएको त्यहाँका आदिवासी नेता तथा संघसस्थाले बताएका छन् । 

काउसेस फस्ट नेसनका प्रमुख काडमस डेलोर्मेका अनुसार, राडर डिटेन्सनको सहयोगमा तिनले कम्तीमा ६०० कंकाल पत्ता लगाएका हुन् । डिटेन्सनले विद्यालयको ग्राउण्डमा ७५१ कंकाल डिटेक्ट गरेको हो भने यसको संख्या खनेर हेर्दा १० देखि १५ प्रतिशत मात्र तलमाथि हुने गर्छ । 

‘यो आम मानिस गाड्ने चिहान क्षेत्र होइन, यो त बेवारिसे शव गाडिएको क्षेत्र हो’ डेलोर्मेले बताएका छन् । 

त्यसैगरी फेडेरेसन अफ सोभेरियन इन्डियन नेसनका प्रमुख बबी क्यामरुनले यो घटनाले क्यानडाले गरेको आदिवासी कत्लेआम (जेनोसाइड) उजागर गरेको बताएका छन् ।  मेरिएभल आवासिय बोर्डिङ स्कुल भन्दा केही हप्ता पहिला ब्रिटिस कोलम्बियाको कामलुप्स इन्डियन स्कुलमा पनि अरू २१५ बालबालिकाको कंकाल भेटिएको थियो । 

क्यानडाभरि यस्ता आदिवासी बालबालिकाको नाममा १३९ आवासिय विद्यालयहरू स्थापित थिए । २०१५ को एक आयोगका अध्ययन अनुसार, यिनमा ९० को दशकसम्म करिब एक लाख ५० हजार आदिवासी बालबालिकालाई जबरजस्ती ल्याएर हुल्ने गरिन्थ्यो । तिनलाई जसरी पनि मातृभाषा, संस्कृति तथा परिवारबाट अलग गर्ने गरिन्थ्यो, ताकी तिनलाई क्याथोलिन मान्यतामा ढाल्न सकियोस् ।  

‘यहाँ मेरिएभल र कामलुप्स इन्डियन स्कुल जस्ता कैयौँ बधशालाहरू छन् । र, हाम्रो खोज जारी रहिरहनेछ’ – क्यामरुनले भनेका छन्, ‘हामी अरू एक–एक बालबालिकाको कंकाल खोज्दै जानेछौँ, जबसम्म हामी हराएका सबैलाई भेट्दैनौँ यो काम जारी रहने छ ।’

‘हामी जेनोसाइड उजागर गर्न जमिन खोस्रिरहेका छौं र यतिबेला विश्वले क्यानडालाई निहालिरहेको छ । हाम्रोमै थिए कन्सज्ट्रेसन क्याम्पहरू । ती यहाँ क्यानडामा थिए, साकात्चेवनमा थिए, कामलुप्स इन्डियन स्कुलमा थिए ।’ क्यामरुन भन्छन् – ‘हामीसँग अहिले प्रमाण छ ।’

मेरिएभल स्कुल रोमन क्याथोलिक चर्चले सञ्चालन गर्ने गरेको थियो । बुढापाका आदिवासी अगुवाहरूले बालबालिका मारेर गाडिएको किस्सा सुनाउँथे । पुस्तौँदेखि त्यो सुन्दै आएका डेलोर्मेले बताएका छन् । ‘१९६० सम्म कतिपयको चिहान माथि मार्क थियो । क्याथोलिक चर्चले त्यहाँ राखिएका ढुङ्गा हटायो र ती बेवारिसे चिहानमा परिणत भए ।’ 

यसरी चिहानमाथिको चिह्न हटाउनु क्यानडामा गैरकानुनी क्रियाकलाप मानिन्छ । ‘ती सबै बालबालिका मात्रै हुन् भनेर ठोकुवा गर्न सकिन्न । आदिवासी अगुवाको भनाइ अनुसार ति चिहानहरूमा बयस्कहरू पनि छन् ।’ डेलोर्मे भन्छन् । 

डेलोर्मेका अनुसार राडरको डिटेन्सनले देखाएको कंकाल संख्यामा खनेर हेर्दा १० देखि १५ प्रतिशत मात्र फरक पर्ने गर्छ । अहिले राडरले ७१५ वटा कंकाल देखाएको छ । त्यसैले पनि कम्तीमा त्यहाँ ६०० कंकाल भएको प्रष्ट छ ।

घटनाप्रति धेरैले क्यानडा तथा क्याथोलिक चर्च जिम्मेबार रहनुपर्ने बताइरहेका छन् । क्यानेडली प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चर्चले यो घटना एकदमै पिडादायक भएको अभिव्यक्ति दिएका छन् । 

मेरिएभल स्कुलको आफ्नो विगत सम्झदैँ इल्डर फ्लोरेन्स स्पार्भरले त्यहाँका ननहरू एकदमै निर्दयी भएको बताएकी छिन् । आदिवासी बालबालिकाप्रति उनीहरू एकदमै कठोर व्यवहार गर्ने गर्थे । उनीहरूलाई आफ्नो भाषा र संस्कार अपनाउने छुट थिएन । ‘हाम्रो भूमिप्रतिको सम्मान दर्शाउने आफ्नै पद्धति थियो तर यो सब देखाउन पूर्ण निषेध थियो’ स्पार्भरले भनेकी छन् ।

‘तिनीहरूले पहिला बालबालिकालाई पिट्न शुरू गर्थे, अनि आफ्नो नियन्त्रण गुमाउँथे । त्यसपछि भित्तामा लगेर टाउको जोतिदिन्थे, भुइँमा फालिदिन्थे, लात्ती वा हातले जहाँ मन लाग्यो त्यहाँ हिर्काउँथे ।’ अर्की काम्लुप्स इन्डियन आवासीय स्कुलबाट बाँचेर फर्किएकी गेराल्डिने बबले सुनाएकी छन् । 

क्यामलुप्स पनि क्याथोलिक चर्चको प्रशासन अन्तर्गत थियो । त्यस स्कुलमा २१५ बालबालिकाको कंकाल फेला परेपछि पोप फ्रान्सिसले यसलाई ‘दुःखद’ भनेका छन् । तर, चर्चले घटाएको यो घटनाप्रति उनले कुनै जिम्मेवारी भने लिएका छैनन् । 

‘जुन घटना क्याथोलिक आवासीय स्कुलमा घटेको थियो, पोपले पश्चाताप गर्दै आम माफी माग्नुपर्छ’ डेलोर्मेले भनेका छन्– ‘पश्चाताप र माफीनै यसको लागि पहिलो स्टेप हो ।’

अलजजिरा लगायत एजेन्सीहरूबाट 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार