काठमाडाैँ - सयौं बालबालिकाको अर्को सामूहिक बेवारिसे चिहान क्यानडाको अर्को क्याथोलिक आवासीय विद्यालयमा पनि भेटिएको छ ।
यो विद्यालय आदिवासी बालबालिका पढाउन स्थापना गरिएको थियो । त्यहाँ सयौँ आदिवासी बालबालिकाको अस्थिपञ्जर भेटिएको बुधबारको घटनाले सिङ्गो क्यानडा एकपटक फेरि नराम्ररी तरङ्गित भएको छ ।
‘पहिलाको मेरिएभल बोर्डिङ स्कुल उत्खनन गर्दा सयौँ आदिवासी बालबालिकाको कंकाल फेला पर्नु एकदमै क्रुर घटना भएको’ काउसेस आदिवासी समुदायले बताएको छ । सिबीसी तथा सिबीटी जस्ता मुख्य क्यानडेली सञ्चार माध्यमले अहिले यो विषय बाहिर ल्याइरहेका छन् ।
गत महिना पनि तीन वर्षदेखि माथिका २१५ आदिवासी बालबालिकाको कंकाल ब्रिटिस कोलम्बियाको काम्लुप्स नजिकैको अर्को क्यानडाकै सबैभन्दा ठूलो आदिवासी पढाउने स्कुलमा पनि भेटिएको थियो । अहिले कंकाल भेटिएको मेरिएभल बोर्डिङ स्कुल १८९९ मा स्थापना गरिएको थियो भने १९९७ सम्म सञ्चालनमा थियो । यो काउसेस आदिवासी समुदायको बसोबास भएको थलो हो ।
क्यानडाभरि यस्ता आदिवासी बालबालिकाको नाममा १३९ आवासीय विद्यालयहरू स्थापित थिए। यिनमा ९० को दशकसम्म करिब एक लाख ५० हजार आदिवासी बालबालिकालाई जबरजस्ती ल्याएर हुल्ने गरिन्थ्यो । तिनलाई जसरी पनि मातृभाषा, संस्कृति तथा परिवारबाट अलग गर्ने गरिन्थ्यो, ताकी तिनलाई मूलधारको संस्कृतिमा ढाल्न सकियोस् ।
धेरै यस्ता बालबालिका विद्यालयभित्रै दुर्व्यवहार र यौनजन्य हिंसाको शिकार हुने गर्थे । चार हजारभन्दा बढी बालबालिका विद्यालयभित्रै मारिएको अनुसन्धानले देखाएको छ भने यसलाई सास्कृतिक जेनोसाइडको रूपमा पनि हेर्ने गरिएको छ ।
घटनाप्रति धेरैले क्यानडा र क्याथोलिक चर्च जिम्मेवार रहनुपर्ने बताइरहेका छन् । क्यानेडली प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चर्चले आफूले गरेको विगतको अपराधप्रति बेवास्ता गरिरहेको आरोप लगाएका छन् । क्यानेडली सरकारले विगतमा विद्यालयमा भएका बालबालिकाथिका दुर्व्यवहार र यौनजन्य हिंसाका घटनाका सम्बन्धमा २००८ मै संसदमै माफी मागिसकेको छ ।
धेरै विद्यार्थीहरूले त आफ्नो मातृभाषा बोलेकै निहुँमा त्यस्ता आवासिय विद्यालयमा दुर्व्यवहार र हिंसा भोग्नुपर्थ्याे ।
अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...