एजेन्सी – भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । 

पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरूले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् । 

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरूलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरू सडकमा निस्किन थालेका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्ने तथा अरू जनस्वास्थ्यका आधारभूत मापदण्डहरू पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरूले सरकारलाई सचेत बनाएका छन् । 

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन् । 

त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोना भाइरसका सङ्क्रमितहरूमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरूको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ । 

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरूमा सङ्क्रमितहरूको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ । 

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरूलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमितहरू नै निको भएको अवस्था भने नभएको विज्ञहरूले चेतावानी दिएका छन् । उनीहरूले भनेका छन् कि– यसरी पछिल्ला दिनहरूमा सङ्क्रमितहरू घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरूले प्रतिबन्धहरू सबै फुकुवा गर्ने र नागरिकहरूले पनि जनस्वास्थ्यका मापदण्डहरू पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ । 

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्यो, चिकित्सकहरूले पनि कसरी आफैँले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरू, अस्पतालका शय्या तथा अरू आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरूलाई पनि थाहा नै छ । 

यो अवस्था आफूहरूले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई  मध्यनजर गरेर हाल विज्ञहरूले गरेका अनुरोधहरूलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरूले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरूले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरू जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरूलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।   
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार