काठमाडौँ – अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको थप खोप दिने घोषणा फेरि गरेको छ । यो खोप नेपालसहित १८ एशियाली मुलुकलाई कोभ्याक्समार्फत् पठाइने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका अनुसार खोपको संख्या १ करोड ६० लाख डोज रहेको छ । जुन महिनाको अन्तसम्ममा विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई ८ करोड खोप वितरण गर्ने अमेरिकी घोषणाअनुसार दुई करोड ५० लाख खोप वितरणको जानकारी यसअघि नै दिइसकिएको थियो।

सोमबार थप ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गर्दै बाइडन प्रशासनले एशियाका १८ मुलुकले कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप पाउने जनाएको हो । जुन ३ को घोषणामा भने एशियाली मुलुकहरुले ७० लाख खोप पाउने भनिएको थियो ।

नेपालसहित एशियाली मुलुकलाई कोरोना भाइरसविरुद्धको थप एक करोड ६० लाख खोप दिने अमेरिकी घोषणा पहिलो चरणको घोषणा अनुरुपको खोप जुन महिनाभित्र विभिन्न मुलुकमा पुग्ने पनि ह्वाइट हाउसले जनाएको छ ।

यसरी खोप पाउने एशियाली मुलुकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् । नेपालले ठ्याक्कै कति मात्रा खोप पाउने छ भन्नेचाहिँ अझै खुलाइएको छैन । अमेरिकाले दिने ८ करोड खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् र २५ प्रतिशत भने सिधै वितरण गर्ने जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार