एजेन्सी – ब्राजिलमा कोभिड– १९ को संक्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु भएको छ । २४ घण्टायताको अवधिमा बुधबार मात्र दुई हजार ९९७ जनाको निधन भएको बुधबार जानकारी दिइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार, यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुनेहरुको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको छ । ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको हो ।
पछिल्लो समय फेरि ब्राजिलमा कोरोना संक्रमणको प्रकोप बढ्दै गएको छ । पछिल्लो समय थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा संक्रमित भेटिएका पनि बताइएको छ ।
कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ म्युटेसन प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु पनि आइरहेका छन् । यसकै कारण, केही पहिला अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा पनि समस्या भएको जनाइएको थियो ।
ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । त्यहाँ मात्र करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा विश्वमै सबैभन्दा धेरै कोभिड संक्रमितको ज्यान गएको छ । संक्रमित संख्याको हिषाबमा पनि ब्राजिल भारतपछि दोस्रो स्थानमा आएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...