एजेन्सी - जब आफ्ना कोभिड–१९ संक्रमित ससुरालाई पिठ्युँमा बोकेर दुई किलोमिटर टाढाको अस्पतालमा पुर्याएको निहारिका दासको फोटो ट्विटरमा भाइरल भयो, उनी रातारात सेलिब्रेटि झैँ भइन् ।

त्यसो त सामाजिक सञ्जालभरि उनलाई ‘भारतकी छोरी’, ‘भारतकी नमूना महिला’, ‘आदर्श बुहारी’ जस्ता विशेषणको ओइराे लाग्याे । सारा स्थानीय टिभी च्यानलहरू उनको आसामको नगाउँस्थित उनको घरमा धुरिए ।

यो घटना यहाँसम्म त रोमान्चक सुनिन्छ । तर यसले बेमतलवी, स्वार्थी र अरूको पीडामा मुकदर्शक बन्ने भारतीय अनि हाम्रो समाजको सजीव चित्रलाई त्यत्तिकै सपाटसँग बाहिर ल्याइदिएको छ । यही निहारिकालाई कथित आदर्शको पगरी गुथाइदिने आफ्नै समाजले अत्यावश्यक परेको समयमा मानवीय संवेदना पनि देखाउँदैन ।

जुन, २ मा निहारिकाको ७५ वर्षे ससुरा ठूलेश्वर दासलाई कोभिड–१९को लक्षण देखा पर्छ । दास पेसाले राहाको बाटीगाउँमा पानको व्यापार गर्थे । त्यसपछि निहारिकाले ससुरालाई दुई किलोमिटर टाढा रहेको सामुदायिक अस्पतालमा लैजान अटोरिक्साको व्यवस्था गर्छिन् ।

‘मेरा ससुरा ठाडो बस्न पनि नसक्ने हुनुभएको थियो । मेरा श्रीमान टाढा सिलगुरीमा काममा हुनुहुन्थ्यो । मैले वहाँलाई पिठ्युँमा बोकेर सवारी भएसम्म लानुको विकल्प थिएन’ ६ वर्षे छोरोकी आमा निहारिकाले बताएकी छन् । उनको घरैसम्म गाडी आउने बाटो छैन, त्यसैले त्यहाँसम्म अटोरिक्सा आएन ।

तर दुःख यहीँ सकिएन । सामुदायिक अस्पतालको परीक्षणमा ठूलेश्वरलाई कोभिड पोजेटिभ देखियो । र, स्वास्थ्यकर्मीहरूले बिरामीलाई २१ किलोमिटर टाढा नागाउँको कोभिड अस्पताल लैजान सुझाए । ठूलेश्वरको स्वास्थ्य अवस्था एकदमै जटिल थियो ।

‘त्यसपछि हामीले अर्को नीजि सवारी साधनको बन्दोवस्त गर्नपर्यो । त्यहाँ एम्बुलेन्स थिएन, स्ट्रेचर पनि थिएन, त्यसैले मैले फेरी पिठ्युँमा बोकेर कारसम्म ससुराबुवालाई लानपर्यो । मानिसहरूले हेरिरहे, पर बसेर खुइया गरिरहे । तर अहँ कोहिपनि सहयोग गर्न आएन’ निहारिकाले सुनाइन् । ‘बुवा बेहोस् जत्तिकै हुनुहुन्थ्यो, त्यसैले पनि उहाँलाई बोक्न मलाई शारीरिक र मानसिक दुवै प्रकारको तनाव भयो’ उनले भनेकी छन् ।

त्यतिनै कसैले फोटो क्लिक पार्यो । गुलाबी सारी पहिरिएकी निहारिकाले सकिनसकी पिठ्युँमा ससुराबालाई बोकेकी छन् । र, उक्त फोटो गत हप्तादेखि नै सामाजिक सञ्जालमा भाइरल बन्दै सेयर भइरहेको छ । 

यद्यपि कोभिड अस्पतालको प्रशासनले पनि भन्यो कि ठुलेश्वरको स्वास्थ्यस्थितिको अवस्थाको उपचार गर्न त्यहाँ पर्याप्त उपचार सामाग्री थिएन । 

‘त्यसपछि फेरि उहाँलाई नागाउँकै सिभिल अस्पताल रिफर गरियो । त्यहाँ फेरी मैले नै बहाँलाई त्यसैगरि बोक्न पर्यो । सिडीमा पनि बोकेर उकाल्नुपर्यो, मैले सहयोग मागेँ, तर अहँ कोही भएन । मलाई लाग्छ त्यसदिन मैले एक्लै उहाँलाई बोकेर सरदर दुई किलोमिटर हिडेँहोला’ निहारिका बताउँछिन् ।

अहिले उनलाई समेत कोभिड–१९ पोजेटिभ देखिएको छ । उनलाई सामाजिक सञ्जालमा भारतकी छोरी जस्ता उपमा दिएर सेलिब्रिटी बनाइएको कुरा उनलाई त्यतिबेलासम्म थाहा थिएन जतिबेलासम्म स्थानीय च्यानलहरू क्यामरा तेर्साउँदै उनको घरसम्म आइपुगेनन् । 

‘हो, मान्छेहरूले मेरो तस्वीर हेरेर रमाइरहेको देख्दा मलाई खुसी लागेको छ । म तिनीहरूलाई भन्न चाहन्छु कि बा–आमा, सासु–ससुरा वा अरू जो–सुकैलाई पनि आपतमा सहयोग गर्नुपर्छ । यो फोटोमा देखाउने विषय होइन । तर, मलाई त्यतिबेला एकदमै एक्लो महसुुुस भएको थियो । म विक्षिप्त थिएँ ।’ निहारिकाले भनेकी छन् । 

‘बाटोमा एम्बुलेन्स थियो भने सजिलो हुन्थ्यो, एउटा सामान्य भ्यानमा लैजान पर्यो, धन्न उहाँलाई त्यहाँ अक्सिजन चाहिएन, नत्र बाटोमै ज्यान जान्थ्यो’ अरूपनि समस्या यथावतै रहेको उनी बताउँछिन् । 

ठूलेश्वरको स्वास्थ्यस्थिति भने झनै नाजुक बन्दै जान्छ । फेरि उनलाई ५ जुनमा गुहावटी मेडिकल कलेज भर्ना गरिन्छ । सोमबार ७ जुनमा ठूलेश्वरले भाइरससँग हार्दै देहत्याग गर्छन् । निहारिकाले सुनाइन्, ‘म उहाँसँग एकदम निकट थिएँ, मलाई उहाँले सानी ‘छोरु बुहारी’ (सानी बुहारी) भनेर बोलाउनुहुन्थ्यो । होसमा आउँदा मैले उहाँलाई भाइरल भएको हाम्रो फोटो देखाएँकी थिएँ । पहिला त उहाँले ला मान्छेले के भने होलान् भन्ने डर मान्नुभयो । सबैले हाम्रो तारिफ गरिरहेका छन् भन्ने सुनाएपछि उहाँले मजाक गर्दै भन्नुभयो– यत्रो मलाई उचाल्ने आटँ तिमीलाई कहाँबाट आयो ? भारतीय सञ्चार माध्यमको सहयोगमा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार