लखनऊ – भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरू पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए । बसमा सवार मजदुरहरू पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए । 

भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरू रहेका थिए । मृत्यु हुनेहरूमा अधिकांश भ्यानमा सवार मजदुरहरू रहेको अग्रवालले जानकारी दिए ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरूको भनाई उद्धृत गर्दै बस चालकले तिब्र बेगमा बस चलाएको गुनासो गरेको बताए । प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार