एजेन्सी – कोभिड–१९ उत्पत्तिको विषयलाई लिएर थप जानकारी दिनको लागि यो भन्दा धेरै दवाब चीनलाई दिन नसकिने विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरूले बताएका छन् । यद्यपि भाइरस अर्को स्तरमा विकास हुन्छ कि हुँदैन भन्ने अध्ययनको लागि पनि यसको उत्पत्तिको विषयमा थप जानकारीको आवश्यकता भने परेको डब्लूएचओ जनाएको छ ।

'डब्लूएचओले कसरी चीनलाई थप जानकारी दिलाउन दवाब देला ?' भन्ने पत्रकारको प्रश्नमा डब्लूएचओका आपतकालीन कार्यक्रममा निर्देशक माइक रायन जवाफ दिन्छन्, "यो सम्बन्धमा कसैलाई पनि दवाब दिने अधिकार डब्लूएचओसँग छैन ।" 

"हामी हाम्रो मातहतमा रहेका सबै मुलुकहरूसँग पूर्णरूपमा सहयोग र सहकार्यको अपेक्षा गर्छौं", माइकले भनेका छन्।

भाइरस जनावर विशेषतः चमेराबाट मान्छेमा सर्यो या चीनको वुहानस्थित प्रयोगशालाबाट बाहिरियो भन्नेमा अहिले विवाद सिर्जना भएको छ । पछिल्लो समय जब वैज्ञानिकहरूले भाइरस उत्पत्तिको विषयमा थप अनुसन्धान गर्नुपर्ने माग तीव्रताका साथ उठाएका छन्, भाइरस प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने बहस पनि सार्वजनिक वृतमा चुलिएको छ। 

कोरोना भाइरस संक्रमण बाहिरिएको सुरुवाती चरणमा प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने तर्कको वैज्ञानिकहरूले कडा खण्डन गरेका थिए । चीनले पनि पटक–पटक भाइरस र प्रयोगशालाबीच कुनै सम्बन्ध नभएको जनाउँदै आएको थियो । 

यो वर्ष शुरूमै भाइरस उत्पत्ति बारे अध्ययन गर्न डब्लुएचओका वैज्ञानिकहरूको टिम चीनको वुहान पुगेको थियो । जब तिनीहरूले सबै तथ्य र तथ्याङ्कहरूमा आफ्नो पहुँच पुग्न नसकेको बताए, चीनको पारदर्शितामाथि प्रश्न उठ्न थालेको हो । 

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थहरू भाइरस प्रयोगशालाबाट बाहिरिएको हो भन्ने सिद्धान्तका समर्थकहरू हुन् । त्यतिबेलामा युएस सेक्रेटरी माइक पम्पेओले पनि भाइरस प्रयोगशालाबाट बाहिरिएको बारेमा पर्याप्त प्रमाणहरू रहेको बताएका थिए । तर, प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने ठोस प्रमाण भने थिएन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार