एजेन्सी – चीनमा पहिलोपल्ट एच १० एन ३ प्रजातिको फ्लू संक्रमित भेटिएका छन् ।

चीनको पूर्वी प्रान्त जियान्सुको एक अस्पतालमा भर्ना भएका एक ४१ वर्षे बिरामीमा यो नयाँ प्रजातिको बर्ड फ्लू भाइरस देखिएको हो । ‘यिनै ४१ वर्षिय चिनिया यो दुर्लभ एच १० एन ३ बर्ड फ्लूको पहिलो संक्रमित मानव हुन्’ बेइजिङ्गको नेसनल हेल्थ कमिसनले बताएको छ । थुप्रै प्रजातिका बर्ड फ्लूहरू चीनमा देखिएका छन् । तीमध्ये केहीले मात्रै कहिलेकाहीँ मानिसलाई संक्रमित बनाउँछन् । त्यसमा पनि खासगरी पोल्ट्री फार्ममा काम गर्नेहरूलाई संक्रमण हुने गर्छ । यो एच १० एन ३ भाइरस एक मानिसबाट अर्को मानिसमा सजिलै सर्छ या सर्दैन भन्ने अझै टुङ्गो लागेको छैन । यसबाट संक्रमित बिरामी २८ अप्रिलमा जियान्सुको एक अस्पतालमा भर्ना भएका थिए भने २८ मेमा उनलाई एच १० एन ३ प्रजातिको बर्ड फ्लु लागेको पत्ता लागेको हो ।

उक्त बिरामीको कसरी उपचार गरियो भन्ने चाहिँ बिस्तृतमा खुलाइएको छैन । अहिले उनको अवस्था जोखिममुक्त छ र उनी डिस्चार्जको तयारीमा छन् । उनको सम्पर्कमा आउने कसैमा यसको संक्रमण नदेखिएको पनि नेसनल हेल्थ कमिसनले बताएको छ । विश्वमा अन्त पनि कुनै अरु मानवमा यो भाइरस भएको जानकारी नआएको पनि कमिसनले जनाएको छ । एच १० एन ३ प्रजातिको बर्ड फ्लू कमजोर खालको प्याथोजिन भएको तथा ठूलो रूपमा संक्रमण नफैलने पनि बताइएको छ । डब्ल्युएचओ ले समेत एच १० एन ३ भाइरस अहिलेसम्म एक मान्छेबाट अर्कोमा सरेको पाइएको छैन भनेको छ । एजेन्सीबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार