एजेन्सी । बंगलादेश प्रहरीले खुङ्खार वन्यजन्तु तस्कर हबिब तलुकदारलाई पक्राउ गरेको छ । टाइगर हबिब उपनामले चिनिने उनले विगत २० वर्षको अवधिमा कम्तीमा ७० लोपोन्मुख बंगाल टाइगर (पाटे बाघ)मारेको जनाइएको छ ।

स्थानीय प्रहरी प्रमुख सैदुर रहमानका अनुसार हबिब कुख्यात बाघ शिकारी हुन् भने उनी सुन्दरवनको घना तटिय (म्याग्रोभ) जंगलमा बस्ने गर्थे । त्यस इलाकामा गस्ती जाँदा पटक–पटक उम्किने गरेका थिए । 

शनिबार दक्षिणी बगरहाट जिल्लास्थित उनकै घरमा पक्राउ गरिएपछि ५० वर्षे हबिबलाई जेल चलान गरिएको छ । उनी विरुद्धको कसुरको सुनुवाही जारी रहेको पनि प्रहरीले बताएको छ । 

सुन्दरवनको घना तटिय म्याग्रोभ जंगल लोपोन्मुख पाटे बाघको एसियामध्येकै एक प्रमुख बासस्थान हो । यही नै इलाका हबिबको मुख्य शिकार क्षेत्र रहँदै आएको थियो । पाटे बाघ अर्थात् ‘बिग क्याट’को हाड, छाला, मासु, नग्रा लगायत सबै अङ्गको चीन लगायतका मुलुकहरूमा चोरी–तस्करी हुँदै आएको छ । 

हबिबले शुरूमा सुन्दरवनमा मह खोजेर गुजारा गर्ने गर्थे तर विस्तारै उनी कुख्यात बाघ शिकारी र तस्कर बनेर निस्किए । ‘हामी यिनलाई त्यति नै सम्मान गर्छौ जति हामी उनीसँग डराउँछौं’ स्थानीय अर्का मह जम्मा पार्ने अब्दुस सलामले भनेका छन् । सलामका अनुसार, हबिब ‘एकदमै खतरनाक मान्छे हुन् जो जंगलबीचमा बाघसँग एक्लै लड्न सक्छन् ।’ 

सुन्दरवनमा पाटे बाघ । फोटाेः एएफपी                                                                                               सुन्दरवनमा पाटे बाघ । फोटाे एएफपी 

हबिब तलुकदारविरुद्ध थुप्रै केसहरु दर्ता गरिएको छ । उनीसँग अरु सुन्दरवनका तस्कर समुहसँग पनि साँठगाँठ हुन सक्ने प्रहरीले बताएको छ । उनलाई जंगल प्रवेशमा रोक लगाइएको भएपनि उनी बारम्बार जंगलमा घुस्ने गरेका थिए । 

वन अधिकृत ज्योनाल अबादिनका अनुसार, उनलाई आधिकारिक रुपमा तीन बाघ र पाँच मृग मारेर तस्करी गरेको मुद्धा चलाइएको छ । तर २०–२५ वर्षे उमेरमा  पहिलो पटक बाघ मारे यता ७० भन्दा बढी बाघ मारेको हबिब आफैँले आफ्नो छिमेकमा बताउँदै आएको छिमेकी अबादिनले खुलाएका छन् । तर यो दाबीको पछाडी कुनै तथ्य भने छैन । 
बंगाल टाइगरको घर सुन्दरवन विश्व सम्पदाको संरक्षण सूचीमा छ । २०१५ को गणनामा त्यहाँ मात्र १०६ तथा २०१९को गणनामा जम्मा ११४ बंगाल टाइगर थिए । २००४ मा भने त्यहाँ कुल ४४० पाटे बाघ थिए । पछिल्लो १५ वर्षमा कुन हद सम्मको बाघको चोरी–शिकारी सुन्दरवनमा भयो भनने यही तथ्याङ्कले देखाउँछ ।

क्षेत्रीय संरक्षण अधिकृत मइनुद्धिन खानले भनेका छन्, ‘तलुकदरको पक्राउले ठूलो राहत मिलेको छ । उनी हाम्रो लागि ठूलो टाउको दुखाइको विषय थिए । उनी वनको जैविक विभिदताकै डरलाग्दो चुनौति थिए ।’ अल जजिराबाट 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार