एजेन्सी- शरणार्थीका लागि राष्ट्रसंघका उच्च अायुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् । वर्षौदेखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा अार्थिक संकट चुलिएको छ । 'उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ,' ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै अाएको छ ।
अफगानिस्तानको कूल चार करोड जनसंख्यामध्ये अाधा करोड जनसंख्या यो हिउँदमा भोकमरीको चपेटामा पर्ने राष्ट्रसंघले जनाउदै अाएको छ ।
राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलर हुने राष्ट्रसंले प्रक्षेपण गरेको छ । अहिलेकै अवस्था रहेमा वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले अनुमान गरेको छ ।
१५ अगस्टमा तालिबानले सत्तापलट गरेपछि विभिन्न दातृ समुदायले यसअघि दिँदै अाएको सहयोग रोक्का गरेका छन् ।
तालिवानले सत्ता सम्हालेपछि अफगान सर्वसाधरण नागरिक पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तानलगायतका देशमा शरण लिइरहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...