एजेन्सी – अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरूलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन् ।
तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारेका हुन् । तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरूलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरूले पनि स्वीकार गरेका थिए ।
महिलाहरूले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए । तालिवान नेताहरूले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरू लचक भएको देखिएको छ ।
तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरूको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरूले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरूले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनीकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ ।
त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान आएका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रूपमा उनी पाकिस्तान आएका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...