काठमाडौँ – विश्वमा बर्सेनि करिब डेढ करोड मानिसमा पक्षघात हुने गरेको देखिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताए । 

‘पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने ।

विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको डा।पौडेलको भनाइ छ ।

उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढ बढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा. पौडेलको भनाइ छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार