एजेन्सी - नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकाहरूलाई पनि पढ्न अनुमति दिन तालिवानलाई अनुरोध गरेकी छन् । तालिवानलाई एक पत्र लेख्दै युसफजाईले यस्ताे अनुरोध गरेकी हुन् ।
उनलाई पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो ।
दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरूलाई विद्यालय नजान निर्देशन दिएका छन् । छात्रहरूका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन् । सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवान अधिकारीहरूले बताउँदै आएका छन् ।
‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरूको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरूले प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ । किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ ।
‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...