एजेन्सी – भारतको केरला राज्यका एक पुरुषलाई त्यहाँको अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको छ । कोब्रा प्रयोग गरी आफ्नी श्रीमतीलाई मारेको आरोपमा उनलाई केरला अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो । 

सन् २०२० मा केरला राज्यका २८ वर्षीय सुरज कुमारले श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए । बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन् । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए । विषालु सर्पको टोकाईबाट २५ वर्षीया उथराको सन् २०२० मे महिनामा मृत्यु भएको थियो ।

सो घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा सुरजलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।सुरजले दाइजोको नाममा श्रीमतीमाथि दमन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उथराको मृत्युपछि दाइजोबाट प्राप्त सम्पती आफ्नो नाममा गर्ने लोभले उनले पटकपटक श्रीमतीको हत्या गर्न खोजेको र अन्तिमपटक कोब्रा प्रयोग गरी श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

सोहि आधारमा सोमबार केरलाको कोलाम अदालतले सुरजले पटक पटक श्रीमतीलाई मार्न खोजेको पुष्टि गरेको थियो । बुधबार अदातले उनलाई श्रीमती मारेको आरोपमा दोब्बर जन्मकैदको सजाय सुनाएको स्थानिय सञ्चार माध्यममा खबर छ । 

अदालतले सुरजले पाएको सो सजायलाई सबैभन्दा दुर्लभ अपराधको सजाय भएको बताएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार