इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ४ अक्टोबर पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
सन् १९५७ अक्टोबर ४ अर्थात आजकै दिन मानिसले पहिलोपटक अन्तरिक्षमा यान पठाइ इतिहास रच्यो । मानव इतिहासको पहिलो भू-उपग्रह तत्कालीन सोभियत संघले पठाएको थियो । संघले पठाएको सो उपग्रहको नाम स्पुतनिक-१ थियो ।
८३.५ किलोग्राम बजन भएको सो उपग्रह पहिलो यस्तो वस्तु थियो, जो पृथ्वीबाट उडेर वायुमण्डल बाहिर गएको थियो ।
तत्कालीन सोभियत संघका वैज्ञानिकहरूले यस उपग्रहको सफल प्रक्षेपणपछि स्पुतनिक धर्तीबाट झण्डै ९०० किलोमिटर माथि पृथ्वीको कक्षमा घुमेको बताएका थिए । पृथ्वीको परिक्रमा के दौरान स्पुतनिकको गति २९,००० किलोमिटर प्रतिघण्टा थियो ।
यसरी हेर्दा पहिला मानव निर्मित उपग्रहले ९६ मिनेटमा पृथ्वीको एक चक्कर पूरा गरिरहेको थियो । धातुको भकुण्डो जस्तो मोडेलमा बनाइएको स्पुतनिकमा चार एन्टिनाहरू थिए । प्रक्षेपणका क्रममा वैज्ञानिकहरू उक्त सफलताको अपेक्षा गरिरहेका थिएनन् । त्यस्तै स्पुतनिकले अन्तरिक्षबाट रेडियो सिग्नल पठाउनेमा त वैज्ञानिकहरू पटक्कै आशावादी थिएनन् । उनीहरूको अनुमान थियो, पृथ्वीको वायुमण्डलबाहिर जानेबित्तिक्कै घर्षणका कारण धातु खुल्न थाल्नेछ र उनीहरूको अभियानमा पूर्णविराम लाग्नेछ । तर, अनुमान विपरीत स्पुतनिक कक्षबाट रेडियो सिग्नल पठाउन सफल रह्यो । यद्यपि पछि वैज्ञानिकहरूको अनुमान मुताबिक स्पुतनिकको धातु खुल्न थाल्यो ।
मानव इतिहासको पहिलो उपग्रहले अन्तरिक्षबाट केवल २२ दिन मात्रै सिग्नल पठाउन सफल रह्यो । ब्याट्री सकिएका कारण उपग्रहले २६ अक्टोबर १९५७ बाट सिग्नल पठाउन छोड्यो । ४ जनवरी १९५८ मा स्पुतनिक पृथ्वीको वायुमण्डलमा खसेर जल्नु भन्दा अगाडि पृथ्वीको कक्षमा १४४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर (४३×१०६ माइल) दुरी यात्रा गरेको थियो ।
अहिलेको युगमा भने भू-उपग्रहहरूको आयु ५ देखि २० वर्षको हुने वैज्ञानिकहरू बताउँछन् । २००८ सम्ममा विश्वको पहिलो भू-उपग्रह पठाउने सोभियत संघ तथा रूसका करिब १४ सय बढी उपग्रहहरू अन्तरिक्षमा छन् । त्यस्तै अमेरिकाका करिब १ हजार, जापानका १०० भन्दा बढी, चीनका करिब ८०, फ्रान्सका ४० तथा भारतका ३० भू-उपग्रहहरू अन्तरिक्षमा छन् ।
योसँगै आज करिब ३ हजार भन्दा बढी मानव निर्मित उपग्रहहरू अन्तरिक्षमा रहेर पृथ्वीको परिक्रमा गरिरहेका छन् । यिनैका मद्दतले मानिसलाई आज मोबाइल कम्युनिकेशन, टिभी प्रसारण, इन्टरनेट, हवाई तथा समुद्री परिवहन र विपद् व्यवस्थापन लगायतका कार्य गर्न सहज भएको छ ।
यसरी स्पुतनिकमार्फत मानिसले त्यो प्रविधि हासिल गर्यो, जसले २१ औँ शताब्दीलाई मानव इतिहासको सबैभन्दा उन्नत युगका रूपमा प्रस्तुत गर्दछ ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...