एजेन्सी - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या २०१ दिनपछिकै सबैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरूको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रूपमा लिइएको अधिकारीहरूको भनाइ छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका हुन । केरला बाहेक अन्य क्षेत्रको सङ्क्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरूको भनाई छ ।
यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।
कुल सङ्क्रमितमध्ये दुई लाख ९२ हजार २०६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सबैभन्दा कम भएको अधिकारीहरूले जनाएका छन् । सक्रिय सङ्क्रमितहरूको अहिलेको सङ्ख्या कुल सङ्क्रमितहरूमध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरूको भनाइ छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुईजना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन । दैनिक नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुँदै गएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गएको हो ।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...