इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २४ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
२४ सेप्टेम्बर अर्थात् आजकै दिन इस्लामिक क्यालेण्डर शुरूवात भएकाे मानिन्छ । याे दिन इस्लाम धर्मका लागि महत्वपूर्ण दिन समेत हाे । किनकि, मोहम्मदले आजकै दिन 'हिजरत' गरेका थिए । हिजरतको अर्थ संकटको समयमा देश त्याग्नु भन्ने हुन्छ ।
माेहम्मदकाे जन्म ५७० को आसपास मक्कामा भएको थियो । दुनियाँको इतिहासमा मोहम्मदलाई सबैभन्दा प्रभावशाली धार्मिक व्यक्तित्वका रूपमा समेत लिइन्छ ।
जन्मिँदै पिता गुमाएका माेहम्मद ६ वर्षको हुँदा उनकी आमाको समेत देहान्त भयो । त्यसपछि अनाथ मोहम्मदको हेरचाह उनका काका अबू तालिबले गरे । शुरूवाती दिनहरूमा उनीहरू मक्कामा व्यापार गर्दथे ।
यसै दौरान मोहम्मद इमान्दार व्यक्तिका रूपमा परिचित भए । ४३ वर्षको उमेरमा उनले भविष्यवाणी (नबूवत) गर्न थाले । यसपछि उनले इस्लाम धर्मअनुसार एक ईश्वरको पूजा गर्नुपर्ने सन्देश सर्वव्यापी बनाए ।
६१५ सम्ममा मोहम्मदले मक्कामा लगभग १०० जनालाई इस्लाम अनुयायी बनाए । यसै दौरान मक्कामा उनलाई उनका साथीहरूले नै दुर्व्यवहार गर्न थाले । उनको हत्याको समेत षडयन्त्र भयो ।
फलस्वरूप २४ सेप्टेम्बर ६२२ मा उनले मक्का छोडे । यसलाई हिजरत गर्नु भनियाे । उनको यो यात्रा मदिनातर्फ माेडियाे । जहाँ उनको जबरदस्त स्वागत भयो । उनको यही ऐतिहासिक यात्रापछि इस्लामिक पात्रो हिजरी शुरूवात मानियाे ।
मदिनामा मोहम्मदले इस्लाम धर्मको ठूलो प्रचार गरे । मदिनाको बृहत्तर जनसंख्याले इस्लाम धर्म अपनायो । त्यसपछि ६३० को आसपास मोहम्मद ठूलो लावालश्करका साथ जन्मस्थल मक्का फर्किए । इस्लाम धर्ममा मक्का र मदिनालाई सर्वाधिक पवित्रस्थलीका रूपमा लिइन्छ । वर्षेनी संसारभरका मुस्लिम धर्मालम्बीहरू मक्कामदिना पुग्ने गर्दछन् ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...