इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २२ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमध्ये एकमाथि दृष्टिगोचर गरौँः
इराक-इरानबीच शुरू भयाे युद्ध
२२ सेप्टेम्बर अर्थात् आजकै दिन इराक र इरानबीचको विनाशकारी युद्ध शुरू भयो । यो युद्धको पृष्ठभूमिमा दुई देशबीचका अनेकौँ अनवरत विवादहरू जिम्मेवार थिए ।
२२ सेप्टेम्बर १९८० को त्यो दिन इराकले इरानमाथि हमला गर्दा इराकमा सद्दाम हुसैन राष्ट्रपति थिए । सद्दामले इरानमा भइरहेको क्रान्तिको भयका कारण युद्ध शुरू गरेको विश्लेषण गरिन्छ । उनी तत्कालीन इरानी सिया नेता आयतुल्ला खुमैनीसँग डराउने गरेकोसमेत कतिपयको बुझाइ छ । तत्कालीन समयमा खुमैनीले सद्दामलाई सिया मुसलमानहरूमाथि अत्याचार गरेको आरोप लगाएका थिए । अन्य कारणहरू जेजस्ता भए पनि यो एक क्षेत्रीय अधिपत्यका लागि शुरू भएको युद्ध थियो ।
खैर, यो युद्धबाट क्रान्तिमा होमिएको इरानलाई इराकले सजिलै कब्जा गर्न थाल्यो । यद्यपि करिब दुई वर्षपछि इरानी सेनाले इराकबाट आफ्नो भूमि फिर्ता ल्यायाे । त्यस्तै इरानी सेनाले इराकका केही क्षेत्रमा समेत आफ्नो अधिपत्य कायम गर्न सफल भयाे ।
यस्तोमा सद्दामले युद्धविरामको अपिल गरे । तर, इरानले उनको अपिल खारेज गरिदियो । युद्ध लम्बिँदै गयो । दुई देशबीचको इगोको यो लडाइँले मानवतालाई नजरअन्दाज गरिरह्यो ।
८ वर्षसम्म चलेको यो युद्धले इराक र इरानका शीर्ष नेताहरूलाई कुनै फाइदा पुर्याएन । न खुमैनीले सद्दामलाई सत्ताच्यूत गर्न सके न त खुमैनीको बर्चस्व नै इरानबाट कम भयो । बिना कुनै नतिजाको यो युद्धले ५ लाख भन्दा बढीको ज्यान लियो ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...