एजेन्सी - जोनाथन । उनको पूरा नाम जोनाथन ली रिचेस हो । उनी अमेरिकाका हुन् । इतिहासमा उनकाे उल्लेखनीयता सबैभन्दा बढी मुद्दा हाल्ने र झमेला गर्ने मान्छेका रूपमा छ ।
उनको यस हर्कतलाई अजीबोगरीब भन्न सकिन्छ । उनकाे रेकर्ड मुद्दा दायरीकाे सबैभन्दा पहिलो अध्याय आफ्नी साख्खै आमाविरुद्ध मुद्दा हालेर हुन्छ । उनले आफ्नी आमालाई आफ्नो लालनपालन ठीक ढंगले नगरेको आरोप लगाएका थिए । मुद्दा परेपछि भएको अदालती कारबाहीमा उनले मुद्दा जिते । अदालतले उनलाई मुअब्जा स्वरूप आमाकाेतर्फबाट २० हजार डलर दिनुपर्ने फैसलासमेत सुनाएकाे थियाे ।
उनले आफ्ना साथी, शिक्षक, छिमेकी, नातेदार, आफ्नी भावी श्रीमती, प्रहरी, न्यायाधीश, चर्चित कम्पनीहरू र यहाँसम्मकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि समेत मुद्दा हालेका थिए । यी मुद्दाहरू अमेरिकाका विभिन्न अदालतहरूमा दायर भएका थिए । उनले आफ्नो जीवनमा संसारकै सबैभन्दा धेरे अर्थात् २६ सय मुद्दा हालेका छन् ।
उनी कीर्तिमानी वादीका रूपमा समेत गनिन्छन् । उनको यही कीर्तिमान सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्तिका रूपमा गिनिज बुक अफ बर्ल्ड रेकर्डमा समेत दर्ता भएको छ । तर, उनले आफ्नो अनुमति बिना नै नितान्त व्यक्तिगत मामिलामा दखलअन्दाजी गरेको तथा लेखेको भन्दै गिनिज बुक विरुद्ध समेत मुद्दा हालेका थिए । जोनाथनले हालसम्मका मुद्दाहरूबाट करिब ८ लाख डलर मुअब्जा पाएका छन् ।
उनको अर्को किस्सा पनि बडो रोचक छ । उनलाई संवादका लागि भन्दै एउटा टेलिभिजन कार्यक्रममा बोलाइएको थियो । उनले आफ्नो पीडा सेयर गर्ने ध्येयले भने, ‘म यति प्रसिद्ध छु, तर पनि म एक्लो छु । मलाई कसैले माया गर्दैन ।’ उनको कुरा भुइँमा खस्न नपाउँदै कार्यक्रम सञ्चालकहरू हाँस्न थाले । उनी तत्काल कार्यक्रम छोडेर हिँडे र टेलिभिजनविरुद्ध नै आफ्नो सार्वजनिक बेइज्जती गरेको भन्दै मुद्दा दायर गरे । अदालतले पनि उनको सार्वजनिक बेइज्जती भएको ठहर गर्दै टेलिभिजन च्यानलविरुद्ध ५० हजार डलरको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो ।
सन् २०१६ को अप्रिल फुलमा रिचेसले दायर गरेका मुद्दाहरूको एउटा संग्रह प्रकाशित भएको थियो । त्यस्तै नोभेम्बर २०१८ मा रिचेसको स्वप्रकाशनमा ‘नथिङ इज राइट इन स्टोनः ए जोनाथन ली रिचेस क्याम्पेनियन' भन्ने उनको आत्मकथा पनि छापिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...