Author

शुक्रबार पनि इजरायलले प्यालेस्टाइनको गाजा सहरमाथि हवाई आक्रमण जारी राख्यो । जसमा एकै घरका छ जना मारिएका छन् भने बढ्दो आक्रमणसँगै थातथलो छोड्ने प्यालेस्टेनीहरूको संख्या बढिरहेको छ ।

गाजा सहरभित्र प्यालेस्टेनी मिलिसियाले सुरुङ्ग खनेको इजरायलको दाबी छ । र तीनै सुरुङ भत्काउने बहानामा इजरायल हवाई आक्रमण गरिरहेको जनाइएको छ । विज्ञहरुले छिट्टै इजरायली स्थल सेना गाजा सहरभित्र प्रवेश गर्ने आशंका गरेका छन् ।

गाजामा अहिले हमासको शासन छ । हमासको सशस्त्र मिलिसिया र इजरायली सेनाबीच गोलीबारी चर्किएको अवस्था छ । हमासले इजरायलतर्फ करिब १८ सय रकेट प्रहार गरेको अमेरिकी समाचार एजेन्सी एपीको दावी छ । तर, अहिले इजरायली वायु सेनाको आक्रमणका कारण गाजामा अग्ला अर्पाटमेन्टदेखि सर्वसाधारणका घरसम्म ध्वस्त भएका छन् । सीमामा इजरायलले सेनाको संख्या बढाएको छ ।  उसले अहिले रिजर्भमा रहेका करिब नौ हजार जवानलाई पनि सेवामा बोलाइएको छ ।

भिडन्त चर्किएपछि अहिले दुई पक्षबीच युद्धविराम गराउन कतिपय मुलुकले प्रयास पनि थालेका छन् । तर त्यसले कुनै परिणाम भने दिएको छैन । अझ दुई पक्ष सशक्तसँग युद्धमा जाने खतरा भने बढेको छ । 

त्यस्तै इजरायको नियन्त्रणमा रहेको गाजाका कतिपय क्षेत्रमा चौँथौँ दिनदेखि जुज र अरब समुदायबीच झडप जारी छ । विशेषगरी लड सहरमा भइरहेको झडप खतरनाक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११९ प्यालेस्टाइनले ज्यान गुमाएका छन् । जसमा ३१ बालबालिका र १९ महिला छन् । त्यस्तै, ८३० जना घाइते भएको पनि बताइएको छ । गाजामा हमासको मिलिसिया मात्रै होएन विभिन्न जिहादी समूहहरू पनि अहिले इजरायली सेनासँगको भिडिरहेका छन् । तिनले आफ्नो तर्फ २० जनाको हताहत भएको जनाएका छन् । तर, इजरायली सेनाले हमास र जिहादी समूहतर्फ व्यापक हताहती भएको दाबी गरेको छ भने कुल सात इजरायली सेनाले ज्यान गुमाएको बताइएको छ ।

गाजा सहरको बाहिरी इलाकामा बस्ने सयौँ प्यालेस्टेनीले घर छाडी सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरू शरणकालागि संयुक्त राष्ट्रसंघले सञ्चालन गर्ने विद्यालयहरूमा पुगेका छन् । इजरायली सेनाले गाजा सहरसँगको सीमामा कयौँ ट्याङक तैनाथ गरेको छ । ती ट्याङकले फायर पनि गरिरहेका छन् । 

त्यस्तै इजिप्टले इजरायल र हमासबीचको भिडन्त रोक्न र युद्धविराम गराउन मध्यस्थता गरिरहेको छ । तर त्यसले इजरायललाई कत्तिपनि प्रभाव पारेको छैन । इजिप्टबाहेक खाडीको कतार र संयुक्त राष्ट्रसंघ पनि युद्धविराम गराउन लागी परेका छन् । तर, इजरायलले आक्रमणलाई निरन्तरता दिइरहेकै छ ।

पूर्वी जेरुसलेममा जुज र मुस्लिम दुवैका लागि महत्वपूर्ण मानिने धार्मिक स्थल छ । जसलाई जुजले ‘टेम्पल माउण्ट’ भन्छन् भने मुस्लिमका लागि त्यो स्थल ‘हरमा एस शरिफ’का नामबाट लोकप्रिय छ । 

जब त्यस स्थान वरपर इजरायली प्रहरी तैनाथ गरियो, दुवैपक्षबीच घम्साघम्सी सुरु भयो । प्यालेस्टेनीले इजरायली प्रहरी हटाउनु पर्ने माग राखे । दुवै धर्मले मान्ने धार्मिक स्थलदेखि नजिकैको शेख जराहमा पनि इजरायलले प्रहरी तैनाथ गरेको थियो । हमासले दुवै क्षेत्रबाट तत्काल इजरायली प्रहरी हट्नु पर्ने माग राखेको थियो ।

टेम्पलमाउण्ट/हरम एस शरिफ वरिपरीबाट इजरायली प्रहरी नहटेपछि त्यहाँ झडप सुरु भयो । त्यस्तो झडप गत मध्य अप्रिलबाटै सुरु भएको थियो । शेख जराहमा मुख्य गरी प्यालेस्टेनी अरबको बसोबास भएको परम्परागत क्षेत्र हो । 

एजेन्सीको सहयोगमा 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...

सम्बन्धित समाचार