यसै हप्ता इन्डोनेसियाको दक्षिणी आचेहमा आमा बघिनी र दुई डमरुहरू मृत भेटिएका छन् । दक्षिणी आचेहको बुबोह गाउँका स्थानियले यही अगस्ट २४मा पासोमा पारिएर मारिएका आमा र डमरुहरूको कुहिँदै गरेको शरीर भेट्टाएका थिए ।
‘आमाको गला र पछाडिको देब्रे खुट्टा पासोमा जकेटिएको थियो’ आचेहका नेचरल रिसर्च कन्जरभेसन प्रमुख अगुस इरियान्तोले बताएका छन् – ‘यो घटनाले हामी एकदमै दुःखी छौँ ।’
मारिने बाघहरू सुमात्रा बाघ हुन् । विश्वमा अब केही सय मात्रै सुमात्रा बाघहरू बाँकी छन् र बाघको यो प्रजाति लोप हुने उच्च जोखिममा छ । रेनफरेस्टको अत्यधिक विनाश र परम्परागत चिनियाँ औषधि व्यावसायका कारण दक्षिण–पूर्वी एसियाको यो रैथाने बाघको अस्तित्व संकटमा धकेलिएको हो ।
दक्षिणी आचेहकै बुबोह नजिकैको अर्को गाउँ कापा सेसाकमा पनि यही जुनको अन्त्यतिर अर्की बघिनीलाई मारिएको थियो । विष राखिएको बाख्रो खादाँ ऊ मारिएकी थिइ । यसैगरी, यही अगस्ट १४ मा पश्चिमी सुमात्राको पासामानमा ७–८ वर्षको भाले बाघ पनि मृत भेटिएको थियो ।
स्मरण रहोस् २०१० मा बाघ पाइने १३ मुलुकहरूले १० वर्षभित्र बाघको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्यमा हस्ताक्षर गरेका थिए । यद्यपि, रुसको साइबेरियन बाघ र दक्षिण एशियाको बंगाल टाइगरको संख्यामा उल्लेख्य बृद्धि भइरहँदा इन्डोनेसियामा सुमात्रा बाघको संख्या भने एकदमै गिर्दो छ ।
पासोमा प्रयोग गरिएका तारहरू । फोटोः चन्द्र, मोङ्गवे
(जुनादी हनाफियाको मोङ्गवेमा प्रकासित रिपोर्टको सहयोगमा ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...