इस्लामाबाद –अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पाकिस्तान जान खोज्नेमा विद्यार्थी, पूर्व सुरक्षाकर्मी, व्यावसायीदेखि व्यापारीसम्म छन् । तालिवानको शासनमा आफूहरूले पढ्न नपाउने भएकोले कतिपय किशोरीहरू रातारात भागेर पाकिस्तान पुगेका छन् । तालिवानले यसअघि नै महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । तर, उत्तर अफगानिस्तानका मानिसहरू भने आफूहरूमाथि जुनसुकै बेला कारबाही हुने डरले देश छोडेको बताएका छन् ।
देश छोडेका अफगानीमध्ये केहीका छिमेकी, साथी र परिबारका सदस्य पाकिस्तानमा रहेको र कोहीको पाकिस्तानमै घर छ । त्यस्तै, देश छोड्नेमा अफगान सरकारका सुरक्षाकर्मी उल्लेख्य छन् । तालिवानले कुनै पनि बदला लिन सक्ने डरले उनीहरू सुरक्षाका लागि पाकिस्तान जान लागेका हुन् ।
अल्पसंख्यक हजरा समुदायका व्यक्ति पनि पाकिस्तानमा जान चाहेको बताएका छन् । ‘तालिवान हामीप्रति कठोर छन् । उनीहरूको शासनकालमा अफगानिस्तानमा हामीले सोचे जस्तो आनन्द पाउदैनौ । त्यही भएर घर छोडेर हिडेका हाैँ,’ हजरा समुदायकी एक महिला भन्छिन, ‘घर छोड्दा हामी निकै त्रसित थियौ ।’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...